प्रकाशित : ४ मंसिर २०७६, बुधबार १५:०९


विराटनगर, ४ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी मोरङका सेक्रेटरी नवराज नेपालसहित तीन जना सत्तारूढ नेकपामा प्रवेश गरेका छन् ।
विराटनगरस्थित नेकपा मोरङको पार्टी कार्यालयमा आज एक कार्यक्रमकाबीच उनीहरुले ‘विप्लव’ समूह छाड्दै नेकपा प्रवेश गरेका हुन् । नेकपा प्रवेश गर्ने अन्यमा विराटनगर नगर सदस्य माधव पन्त र सन्दीप सापकोटा हुनु हुन्छ ।
उहाँहरूलाई नेकपा प्रदेश १ का सह–इन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य विनोद ढकाल, महेश रेग्मी, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगर अध्यक्ष सागर थापालगायले फुलको गुच्छा र अविरमाला लगाएर पार्टी प्रवेश गराउनु भयो ।
समाजवादको यात्रा नेकपाले मात्र पूरा गर्ने भएकोले यस पार्टीमा प्रवेश गरेको नेपालले बताउनु भयो । नेपाली जनताले क्रान्ति नचाहेको उल्लेख गर्दै उहाँले समाज रुपान्तरणको यात्रामा अब अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेकपा प्रदेश १ का सह–इन्चार्ज सावित्रीकुमार काफ्लले नवप्रवेशीहरूलाई पार्टीले उचित स्थान र भूमिका दिएर अगाडि बढ्ने बताउनु भयो ।