प्रकाशित : २८ कार्तिक २०७६, बिहीबार १८:२३


विराटनगर २८ कात्तिक । मोरङको लेटाङ नगरपालिका–८ जाँतेबाट वन कार्यालयका कर्मचारी र प्रहरीको संयुक्त टोलीले बुधबारराति तस्करीको काठसहित एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
को २ त २७९५ नम्बरको ट्याक्टरमा माथिबाट ढुंगाले छोपेको अवस्थामा राति साढे १० बजे बहुमूल्य सखुवाको काठ बरामद भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक अशोककुमार जवेगुले बताउनुभयो । उहाँकाअनुसार मिक्लाजुङ क्षेत्रबाट आएको ट्याक्टरलाई जाँते बजारमा रहेको वडा कार्यालय अगाडि रोकिराखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
शव डिभिजन वन कार्यालय जाँतेका प्रमुख सहायक वन अधिकृत रुद्रप्रसाद यादवकाअनुसार ट्याक्टरमा लोड गरिएको र ढुंगाले छोपेको अवस्थामा ८४ थान सखुवाको चिरान काठ फेला परेको छ । काठ ३६ दशमलव ८८ क्यूफिट रहेको उनले बताए । नियन्त्रणमा लिइएका बेला ट्याक्टरमा चालक र सहचालक कोही पनि थिएनन् ।
सहायक वन अधिकृत यादवले ट्याक्टर कसको हो भन्ने बारेमा पनि खुलिनसकेको बताउनुभयो । उहाँले मुचुल्का तयार पारेर आवश्यक कारबाहीका लागि काठसहित ट्याक्टरलाई शव डिभिजन वन कार्यालय मंगलबारेमा बुझाइएको जानकारी दिनुभयो ।
तस्करीको भए पनि काठ कहाँबाट ल्याएको हो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ ।