प्रकाशित : २६ कार्तिक २०७६, मंगलवार १७:३५

विराटनगर, २६ कात्तिक । वैदेशिक रोजगारी सम्बन्धी ठगीमा जोडिएका मोरङको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कूलबहादुर लिम्बूका तर्फबाट परेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

इजरायल पठाइदिने भन्दै परिवारका सदस्य, आफन्त, छिमेकी गरेर लेटाङकै १४ जनासँग लाखौं रुपैयाँ ठगी गरेको पाइएपछि उनलाई श्रम कार्यालय विराटनगरले जारी गरेको पुर्जीका आधारमा प्रहरीले गत असार १ गते पक्राउ गरेको थियो ।

३५ दिनमा पीडितको रकम फिर्ता गर्ने भनेपछि साधारण तारेखमा छुटे पनि रकम फिर्ता नगरेपछि प्रहरीले फेरि उनलाई साउन २३ गते पथरीशनिश्चरेबाट पक्राउ गरेको थियो । पक्राउ गरेको बिना कारण हिरासतमा राखेको भन्दै साउन २५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट परेको थियो । सर्वोच्चकै आदेशबाट लिम्बू थुनामुक्त पनि भएका थिए । तर श्रमले ठगी गरेको आवश्यक प्रमाण पेस गरेपछि उक्त रिटलाई अदालतले खारेज गरिदिएको छ ।

रिट खारेज गरिदिएको जानकारीसहितको पत्र आज श्रम कार्यालय विराटनगरलाई प्राप्त भएको छ । सर्वोच्चका अधिकृत श्यामप्रसाद दाहालले हस्ताक्षर गरेको पत्र प्राप्त भइसकेका कारण अब लिम्बूमाथि वैदेशिक रोजगारी ठगीमा कारबाही गर्ने आधार तय भएको कार्यालयका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताउनु भयो ।

सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङसँगको मिलेमतोमा लिम्बूले वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै प्रति व्यक्ति एक लाखदेखि दुई लाख ८० हजारसम्म गरेर १९ लाख ८० हजार रुपैयाँ ठगी गरेको पत्ता लागेका सञ्जेलको भनाइ छ । पीडित १४ जनाले श्रम कार्यालयमा आफूहरु तीन वर्षदेखि ठगिएको भन्दै गत जेठमा उजुरी दिएका थिए ।

कूलबहादुरले लेटाङ–३ का हर्कबहादुर लिम्बू, लेटाङ–५ का खड्गबहादुर सुब्बा, रामबहादुर मगर, गोपाल चेम्जोङ, सजेन्द्र बोहरा, दुर्गा बोहरा, कृष्णबहादुर मगर, प्रदीप लिम्बू, जीतबहादुर राई, लेटाङ–६ का गंगाराम थापा, लेटाङ–८ की सपना राई, लेटाङ–९ का रुद्र लिम्बू, धनबहादुर लिम्बू र सुमन लिम्बूमाथि ठगी गरेको श्रमले जनाएको छ । हर्क बहादुर, खड्गबहादुर र प्रदीप उनका भतिजा एवं रुद्रबहादुर भान्जा हुन् ।

कूलबहादुरले २०७५ साल असार मसान्तसम्ममा सबै जनालाई पर्यटक भीषामा इजरायल पठाइसक्ने र पठाउन नसके तत्काल पैसा फिर्ता दिने भनेर कागज पनि गरेका थिए ।

श्रम अधिकृत सञ्जेलले अब लिम्बूमाथि वैदेशिक रोजगार ठगीमा कारबाही अघि बढ्ने जानकारी दिनु भयो । श्रमले उनको नाममा रहेको ८ कित्ता जग्गा रोक्का गर्दै उनलाई विदेश जान पनि रोक लगाइसकेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३