प्रकाशित : २२ कार्तिक २०७६, शुक्रबार १७:३५

विराटनगर, २२ कात्तिक । प्रदेश नं. १ का दुई सय वटा सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाईने भएको छ । चालु आर्थिक वर्ष २०७६/०७७ भित्रमा प्रदेशभरीका २ सय विद्यालय प्रविधिमैत्री हुने भएका हुन ।

पहिलो चरणमा ६४ स्थानीय तहका एक सय सामुदायिक विद्यालयमा नमूना परियोजनाका रुपमा प्रदेश सरकारले अभियानको शुरुवात गरेको छ । गत भदौ २२ गते प्रविधिमैत्री विद्यालय बनाउने अभियानको शुभारम्भ गरिएको थियो । पहिलो चरणमा छनौट भएका ६४ स्थानीय तहका प्रमुख/उपप्रमुख, एक सय विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई आज विराटनगरमा अभिमुखीकरण दिईएको छ ।

विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियानका रुपमा प्रदेश सरकारले नेपालमै पहिलो पटक कार्यक्रम शुरु गरेको मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । प्रदेश सरकारले प्राविधिक धारको शिक्षामा विशेष जोड दिएका कारण डिजिटल साक्षरता शुरु गरेको उहाँले बताउनुभयो । प्रदेश सरकारले अभियान शुरु गरेपछि नेपाल सरकारको पनि ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले कार्यक्रमको सफल प्रयोग पछि देशैभरि अभियान पुग्ने उहाँको दावी छ ।

अमेरिकामा पठन पाठन हुने पाठ्यक्रमलाई प्रदेश १ सरकारले जोड्न चाहेको मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेशभरि अभियान पुग्ने भएकाले कुनैपनि दुविधा नराखी प्रभावकारी रुपमा कार्यन्वनय गर्न सरोकारवाला पक्षलाई आग्रह गर्नुभयो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले डिजिटल प्रदेशको आधारभुमी विद्यालय भएकाले विद्यालयवाट अभियान शुरु गरिएको बताउनुभयो ।

प्रदेशका ७ हजार विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान अनुसार पहिलो चरणमा १ सय विद्यालय छनौट गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ अन्य १ सय विद्यालयमा आगामी मंसिर १ गतेदेखि अभियान शुरु हुनेछ ।’ दोश्रो चरणको अभियान संखुवासभाको मादीबाट शुरु हुने मन्त्री घिमिरेले बताउनुभयो ।

अभियानमा संलग्न २ सय सामुदायिक विद्यालयले नजिकका ५ वटा फिडर विद्यालयलाई सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । फिडर विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा स्थानीय तहले व्यवस्थापन गर्ने मन्त्री घिमिरेको भनाई छ । सामुदायिक विद्यालयलाई उत्कृष्ठ सिकाई केन्द्रका रुपमा स्थापीत गर्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको मन्त्रालयका सचिव वीर बहादुर राईले बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा.महावीर पुन, सूचना प्रविधि विज्ञ सुदीप कार्की, डा. दोभान राई, डा. ऋषि शाहले सूचना प्रविधि संवन्धि प्रशिक्षण दिनुभएको थियो ।

प्रविधि मैत्री विद्यालय बनाउने अभियानमा प्रदेश सरकारसँग इक्वालिटी फाउण्डेसनले सहकार्य गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३