प्रकाशित : २० कार्तिक २०७६, बुधबार १६:५५

विराटनगर, २० कात्तिक । विराटनगरको नोबेल शिक्षण अस्पतालमा खोजेका बेला चिकित्सक नभेटिएर समयमा उपचार पाउन नसक्दा एक नवजात शिशुको मृत्यु भएको छ ।

सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका दीपक राईकी श्रीमती ३७ वर्षीय माण्डवी राईले गत मंगलबार बिहान सामान्य अवस्थामै दोस्रो सन्तानका रुपमा छोरो जन्माउनु भएको थियो ।

चिकित्सककाअनुसार जन्मिएका बेला तीन किलो तौल भएका शिशुको स्वास्थ्य अवस्था राम्रो थियो । सामान्य अवस्थामै जन्मिएका शिशु र सुत्केरी आमाको स्वास्थ्य अवस्था राम्रो रहेको भन्दै अस्पतालले डिस्चार्ज दिने तयारी गरेको थियो । तर हिजो बिहान साढे ५ बजे शिशुको मृत्यु भयो । जन्मिएको २४ घण्टासम्म चिकित्सकले एक पटक पनि नहेरेको र स्वास्थ्य अवस्था नबुझेका कारण बच्चाको मृत्यु भएको दीपकले बताउनु भयो ।

विराटनगरको कान्तिपुर कलेजका सञ्चालक समेत रहनु भएका उहाँले अस्ती रातिदेखि भर्खर जन्मिएको छोरो कुनै पीडा भए जस्तो गरेर रुने गरे पनि स्वास्थ्यकर्मीले चासो नदिएको गुनासो गर्नु भयो ।

चिकित्सक खोजी गर्ने क्रममा एनआईसीयूमा पुर्याएपछि डा. सुजित यादव र मधु साहलाई भेटिएको र त्यतिबेला शिशुको मृत्यु भइसकेको उहाँको गुनासो छ । तर यो घटनालाई पैसाको लेनेदनमा मिलाइएको छ । शिशु पक्षकाले अस्पतालसँग दुई लाख ५० हजार रुपैयाँ लिएका छन् । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै मृत शिशु नलैजाने भनेर ‘बार्गेनिङ’ हुन थालेपछि अस्पताल पैसा दिन बाध्य भएको हो ।

अस्पतालले पैसा दिने भएपछि शिशुको दाहसंस्कार गरिएको काका राम राईले बताउनु भयो । अस्पतालका बरिष्ठ बाल रोग विशेषज्ञ डा. अरुण गिरीले दूध सर्किएर वा हाइपोथर्मिया (शरीरको तापक्रम कम भएर हुने चिसोपना) का कारण शिशुको मृत्यु भएको हुन सक्ने बताउनु भयो ।

अस्पतालले पनि शिशुका आफन्तले खोजेका बेला पुग्न नसक्नु र शिशुको मृत्यु हुनुमा चिकित्सकको कमजोरी रहेको स्वीकार गरेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले समयमा डाक्टर नभेटेका कारण शिशुको मृत्यु हुनु दुःखद् भएको बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३