प्रकाशित : १९ कार्तिक २०७६, मंगलवार १७:४०


विराटनगर, १९ कात्तिक । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले न्युनतम मापदण्ड नपुगेका अस्पतालहरुमा ताला लाग्ने बताउनु भएको छ ।
न्युनतम मापदण्ड नपुगेका अस्पतालहरु सञ्चालन गर्न आवस्यक नरहेको उहाँले बताउनुभयो । विराटनगरमा आज देखि शुरु भएको स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरिय बार्षिक समीक्षा गोष्ठीमा मन्त्री घिमिरेले सो कुरा बताउनु भएको छ ।
तीन दिन सम्म चल्ने समीक्षा गोष्ठीमा सम्पूर्ण अस्पतालहरुको अवस्थाबारे जानकारी दिन पनि उहाँले आग्रह गर्नुभयो । न्युनतम मापदण्ड पुरा नगरि अव अस्पतालहरु सञ्चालन गर्न नपाईने उहाँले बताउनुभयो ।
मन्त्री घिमिरेले प्रदेशभरिमा आयुर्बेद उपचार केन्द्र चार दर्जन बढी भएपनि उपचार गर्न लायक निकै कम भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ १० वटा केन्द्रहरु पनि उपचारका लागि लायक छैनन ।’ उपचार गर्न लायक नभए कर्मचारी पाल्नका लागि मात्रै आयुर्वेद केन्द्र सरकारले सञ्चालन नगर्ने उहाँको भनाई छ ।
मन्त्रालयले आयोजना गर्ने गोष्ठीहरु भात र भत्तामा मात्रै केन्द्रित भएकै भन्दै उहाँले भन्नुभयो,‘ अव यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’ स्वास्थ्य संस्थाहरुको तथ्याङ्क ‘अपडेट’ हुन नसक्दा कार्यक्रमहरु तयार गर्न पनि समस्या भएको मन्त्री घिमिरेले बताउनुभयो ।
वीमा कार्यक्रम प्रभावकारी हुन नसकेकाले अभियानका रुपमा लैजान आवस्यक रहेकोमा जोड दिनुभयो । घर–घरमा गएर वीमा कार्यक्रमबारे बताउन आवस्यक रहेको मन्त्री घिमिरेले बताउनुभयो ।
वीमा गरेकाहरुले पनि अस्पतालले दिने सेवा गुणस्तरिय नभएको भन्दै नविकरण नगरेको पाईएकाले अस्पतालहरुले दिने सेवाको गुणस्तर बढाउनु पर्ने बताउनुभयो ।