प्रकाशित : १९ कार्तिक २०७६, मंगलवार १७:२७


विराटनगर, १९ कात्तिक । विराटनगर ४ स्थित विराट नेवा पुचः मा आवद्ध भएका नेवारी युवाहरु युवाहरू कला साँस्कृतिको संरक्षणमा समूह बनाएरै लागि परेका छन् ।
नेवार सामुदायका युवाहरू अहिले कला संस्कृतिको संरक्षण गर्दै अगाडि बढेका हुन् । यहाँ आवद्ध धेरै युवाहरूलाई धिमे बाजा, लाखे नाच्नदेखि बासुरी र गीतको तालमा लठीलाई मिलाएर नाच्न (डन्टी नृत्य) आउँछ । उनीहरू १५ देखि २० जनाको समूह बनाएर आफ्नो कला संस्कृति देखाउन जात्रा एवं संस्कृति झल्काउने कार्यक्रममा पुग्छन् ।
नेवारी संस्कृति देखाउने एउटा कलाकारको टोली नै बनाइएको स्थानीय ईश्वरी श्रेष्ठको भनाइ छ । २७ वर्षीय अमुलदीप तम्राकारले चार वर्षदेखि लाखे नृत्य गर्दै र धिमे बाजा बजाउँदै आएको बताउनु भयो । ‘बसैभन्दा बढी चाडपर्वको बेलामा आफ्नो कला संस्कृति देखाउने गरेका छौं,’ उहाँले भन्नु भयो, ‘विराट नेवा पुचः मा हाम्रो युवाको समूह छ ।
यहाँ हामी जस्तै अन्य युवाहरूले आफ्नो कला संस्कृति देखाउँदै आएका छौं ।’ एक सय भन्दा बढी आवद्ध भएको उक्त संस्थामा दुई दर्जन बढी युवा कलाकारहरू रहेको विराट नेवा पुचः का संस्कृति कार्यक्रम संयोजक पदम श्रेष्ठले बताउनु भयो ।
‘युवालाई प्रशिक्षण दिनेदेखि आफ्नो जातिय कला संस्कृतिमा नृत्य गर्ने देखि धिमे बाजा बजाउने कलाकार उत्पादन गर्दै आएका छौं,’ श्रेष्ठले भन्नु भयो । नेवार समुदायका भाषा, संस्कृति संरक्षण गर्दा त्यसले पर्यटक प्रवद्धनमा समेत सहयोग गर्ने विराट नेवा पुचः का अध्यक्ष जयकुमार श्रेष्ठले बताउनु भयो ।
‘कुनै स्थान तथा क्षेत्रको पहिचान भनेको त्यस ठाउँको संस्कृति, त्यहाँ बसोवास गर्ने समुदायको परम्परा, संस्कार भएकाले यी हाम्रा अमूल्य निधी हुन’, उहाँले भन्नु भयो, ‘भावी सन्ततिका लागि परम्परागत भाषा, संस्कृतिको महत्व बुझाउनु पर्दछ ।’