प्रकाशित : १७ कार्तिक २०७६, आईतवार १८:१२

विराटनगर, १७ कात्तिक । माथिको आदेश र पार्टीको निर्देशनको नाममा कानून विपरीत काम नगर्न नेकपा मोरङले आफ्ना जनप्रतिनिधिलाई कडा निर्देशन दिएको छ ।

कानून विपरीत काम गर्दा बेरुजु बढेको र भ्रष्टाचारमा मुद्दा लाग्नसक्ने भन्दै नेकपाले जनप्रतिनिधिलाई विराटनगरस्थित पार्टी कार्यालयमा बोलाएर आइतबार यस्तो निर्देशन दिएको हो ।

कार्यक्रममा संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लामो समयको जनप्रतिनिधिबिहीनता र जनताको बढ्दो आकांक्षालाई सम्बोधन गर्ने नाममा कानून पालनामा उदासिन बन्नु नहुने बताउनु भयो । पण्डितले त्यसखालको काम गरेर हातमा हत्कडी लाग्नु भन्दा पहिले नै सचेत हुन पनि आग्रह गर्नुभयो । कर्मचारीसँग मिलेर अघि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । नेकपा मोरङका इन्चार्ज घनेन्द्र बस्नेतले कानूनको कुरा जनप्रतिनिधिले जान्नुपर्ने भन्दै कानूनले मिल्ने नमिल्ने र हातमा हत्कडी पर्ने नपर्ने कुरा पनि जनप्रतिनिधिकै हातमा रहेको बताउनु भयो । कतिपय कानूनको कुरा नजान्दा पार्टी कमिटिबाट गलत निर्देशन भयो भन्दैमा निर्णय गर्नु अर्को गल्ती हुने कुरामा ख्याल राख्न उहाँको सुझाव थियो ।

कार्यक्रममा जनप्रतिनिधिहरुले भने समन्वय अभाव भएको, पार्टी एकता ढिलो हुँदा अन्यौलता छाएको र नेकपाको सरकार आएपनि भ्रष्टाचार बढेको गुनासो गरे । मोरङका प्रदेशसभा सांसद उपेन्द्र घिमिरेले सामान्य सामाजिक काम पनि गर्न नसक्दा जनताप्रति पार्टीको छवि राम्रो नभएको भन्दै पार्टीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेकपाका १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले भने आफूले गरेका निर्णयहरुको सहि ढंगले प्रचार पनि नभइरहेको भन्दै आवश्यक समन्वयका लागि पार्टीले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी एकता ढिलाइ हुँदा केही अन्यौलता देखिएको भएपनि अब सशक्त भूमिका खेल्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेकपा प्रदेशका सहइन्चार्ज सावित्री कुमार काफ्ले, अध्यक्ष देवराज घिमिरेले पनि आवश्यक समन्वय गरेर अगाडि बढ्न पार्टीले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

जनप्रतिनिधिको भेलाबाट आफूले गरेका काम १ महिनाभित्र सार्वजनिक गर्न आफ्ना पार्टीबाट निर्वाचित मोरङका जनप्रतिनिधिलाई नेकपाले निर्देशन दिएको छ । नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले एक महिना भित्र आफुले गरेका कामहरु भब्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्न र जिल्ला कमिटिलाई पनि बुझाउन निर्देशन दिएको बताउनु भयो ।

यस्तै मोरङका ६ वटा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सांसद, मन्त्री, र संघीय सांसद तथा मन्त्रीहरुलाई समेत १५ दिन भित्र आफूले गरेका काम र प्रगति सार्वजनिक गर्न निर्देशन दिएको छ ।

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाका सांसद तथा मन्त्रीहरुले बुझाएको प्रगति प्रतिवेदन जिल्ला पार्टीले सार्वजनिक गरिने उहाँको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३