प्रकाशित : ८ कार्तिक २०७६, शुक्रबार १८:२६

विराटनगर १५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले बिचार र अनुशासनको विधिबाट पार्टीलाई सुदृढ बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।

नेकपा मोरङले दसैं, तिहार, छठ लगायत सबै राष्ट्रिय चाडपर्वहरुको सन्दर्भमा शुभकामना आदनप्रदान गर्न आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले पार्टीलाई एकताबद्ध र अनुशासित बनाउँदै शक्ति आर्जन गर्नुपर्नेमा जोड दिनुभएको हो । तीन महिनामा सम्पन्न गर्ने भनेको पार्टी एकताको काम १७ महिनासम्म पुरा गर्न नसक्दा पार्टीमा बिचार र अनुशासन गडबडाउने सम्भावना हुने उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले विधि र विधान अनुसार पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

कम्युनिष्टहरु बिचार र विधि अनुसार नचले आफैं ढल्ने र सकिने गरेको अनुभवबाट सिकेर पद्धतिमा पार्टी चलाउँदै अपराजयको यात्रा तय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टी एकतालाई अन्तिम टुंगोमा पुर्याउन सकस परिरहेको तर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता बिचार मिलेपछि मात्र भएकोले छुट्टाछुट्टै बिचार समातेर अघि बढ्न खोजे एकतालाई सुदृढ गर्न गाह्रो हुने बताउनुभयो । उहाँले दुई पार्टीबीच एकता गर्दा जटिलताहरु आउनु स्वभाविक रहेको पनि बताउनुभयो । ‘दुई ठुला पार्टीबीच एकता भएको छ त्यस क्रममा जटिलताहरु आउनु स्वभाविक छ,’ प्रचण्डले भन्नुभयो ‘जटिलता आयो भनेर एकता नगर्ने र बिचैमा छोड्ने कुरा हुँदैन व्यहोर्नु पर्छ ।’ उहाँले एकता गरिनै सकेपछि उत्पन्न समस्या समाधान गर्नुपर्ने भन्दै पछाडि हट्न नहुने बताउनुभयो ।

शुभकामना आदनप्रदान तथा प्रशिक्षणमा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा उहाँले स्वर्गीय नेता मदन भण्डारी र प्रचण्डको ओरिजिन एउटै भएको दावी पनि गर्नुभयो । उहाँले मदन भण्डारी र प्रचण्डबीच राजनीतिकरुपमा रहेका संयोग र समानताका किस्सा सुनाउँदै भन्नुभयो ‘मदन भण्डारीको अनुपस्थितिमा प्रचण्ड नै मदन भण्डारी हो ।’ उहाँले दुवै जना पुष्पलाल समूहबाट अन्य समहमा आवद्ध भएर छोटो समयमा नै आन्दोलनको नेतृत्वकोरुपमा स्थापित भएको र स–साना कम्युनिष्ट पार्टीहरुलाई समेट्दै दुवै नेताहरु एउटै समयमा छुट्टाछुट्टै पार्टीको महासचिव भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्ने अभियानमा मदन भण्डारी र प्रचण्डले विगतमा गरेको मिहेनतलाई अध्ययन गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

पार्टीले आर्जन गरेको शक्तिले अहंकार र घमण्ड उत्पन्न हुनसक्ने तर्फ सबै नेता कार्यकर्ताहरु सचेत रहनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग चार घण्टा बस्न पाउनसाथ पार्टी एकताको बाँकी सबै काम सकिने उहाँले बताउनुभयो ।

एकताको सबै काम सकिएपछि विकास र पार्टीलाई नयाँ उचाईमा पुर्याउने गरी देशव्यापि अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्ले नेपालको राजनीतिमा कम्युनिष्टको नेतृत्व कसैको दयाले नभई जनताको लामो त्याग र बलिदानीबाट स्थापित भएकोले जनताको चाहना विपरित पार्टी सञ्चालन नहुने बताउनुभयो ।

उहाँले पछिल्लो समय सरकारले दिर्घकालिन प्रभाव राख्ने पूर्वाधार विकासको काम गरिरहेको र चीन तथा भारत लगायत विश्वका अन्य देशहरुसँगको सम्वन्धमा सुधार गर्ने काममा सफल हुँदै गएको टिप्पणी गर्नुभएको छ । उहाँले भारत र चीनसँग नयाँ आयाममा सम्वन्ध विकसित भएको दावी पनि गर्नुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३