प्रकाशित : ६ कार्तिक २०७६, बुधबार १७:१४

विराटनगर, ६ कात्तिक । बोक्सी बनेर टुनामुना गरिदिएका कारण आफूले बुवा गुमाउनु परेको भन्दै एक युवकले मोरङको रंगेली नगरपालिका–९ दर्वेसामा वृद्धको हत्या गरेको खुलेको छ ।

आफ्नो बुवाको मृत्यु बोक्सी लागेर भएको भन्दै आक्रोसमा बन्चरो प्रहार गर्दै १९ वर्षीय भरतलाल राजवंशीले ६४ वर्षीय पहाडचन राजवंशीको हत्या गरेको खुलेको हो । वृद्धको हत्या गरेर फरार बनेका भरतलाई २८ महिनापछि प्रहरीले पक्राउ गरेर अनुसन्धान थाल्दा घटनाको वास्तविकता खुलेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक (इन्सपेक्टर) लेखनाथ दाहाल नेत्रृत्वको टोलीले गाउँमै लुकिछिपी बसेको अवस्थामा गयराति उनलाई पक्राउ गरेको हो ।

घटनापछि भारततिर भागेका उनी गाउँमा फर्किएर लुकिछिपी बसेको सूचना प्रहरीलाई थियो । भरतले २०७४ साल असार ११ गते बाटो ढुकेर बन्चरो प्रहार गर्दै पहाडचनको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । बन्चरो प्रहारबाट टाउको, छात्ती र शरीरका विभिन्न भागमा चोट लागेका वृद्धको घटनास्थलमै मृत्यु भएको थियो ।

अधिकारीकाअनुसार गाउँमा धामी, झाँक्रीको काम गर्ने पहाडचनको पारिवारिक आर्थिक अवस्था कमजोर थियो । छोरो लक्ष्मीप्रसाद र बुहारी चिन्ताकुमारीसहित परिवारका सदस्यसँग बस्दै आएका उनलाई भरतका बुवा हरिप्रसाद राजवंशी लगायतका स्थानीय बासिन्दाले बोक्सोको आरोप लगाएर २०६९ साल असोज १३ गते मलमुत्र खुवाउँदै विभिन्न खाले यातना दिएर गाउँ निकाला गरेका थिए ।

‘पहाडचन धामी, झाँक्री नभईकन बोक्सो रहेको र उसले हेर्ने वित्तिकै मान्छेको मृत्यु भइहाल्छ भन्ने अन्धविश्वास वरपरका गाउँलेमा रहेछ,’ एसपी अधिकारीले भन्नु भयो, ‘त्यही भएर गाउँले एकजुट हुँदै मलमुत्र खुवाएर गाउँबाट निकाला गरेको पाइयो ।’ पछि स्थानीय प्रशासन र संघ संस्थाको सहयोगमा उनलाई पुनस्थापना गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा त्यतिबेला प्रहरीले पक्राउ गरेर भरतका बुवा हरिप्रसादसहित नौ जना विरुद्ध बोक्सी आरोपको कसूरमा मुद्दा चलाएको थियो ।

अभियुक्तहरु जिल्ला अदालतले मागेको प्रति व्यक्ति दुई हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । त्यसको पाँच वर्षपछि २०७४ साल जेठमा बोक्सीको कसूरमा मुद्दा चलाइएका मध्ये भरतका बुवा हरिप्रसादको मृत्यु भयो । अचानक बिरामी परेर उपचारका लागि ल्याइएका उनको अस्पतालमै मृत्यु भएको थियो ।

एसपी अधिकारीकाअनुसार परिवारले भने हरिप्रसादको मृत्यु पहाडचन बोक्सो रहेको र उसले टुनामुना गरिदिएकै कारण भएको आरोप लगाइरहेको थियो । ‘बोक्सीका कारण मान्छेको मृत्यु भएको भनेर यति गम्भीर आरोप लगाइरहँदा पनि डर र त्रासका कारण पहाडचनका परिवार चुप लागेरै बसेका रहेछन्,’ उहाँले भन्नु भयो, ‘यता त्यही अन्धविश्वासमा परेर रिसिईवी साँध्दै मौका पर्खिएर बसेका भरतले भने आफ्नो बुवालाई टुनामुना गरेर मारेको भन्दै बन्चरो प्रहार गरी पहाडचनको हत्या गरिदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्यो ।’ घटनाको लामो समयपछि पक्राउ परेका भरतले पनि बोक्सीको टुनामुना गरिदिएका कारण आफ्नो बुवाको मृत्यु भएकाले आवेसमा आएर पहाडचनको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

हत्या भएका बेला भरत १७ वर्षका मात्रै थिए । हत्यापछि झाडीमा बन्चरो फ्यालेर आफू फरार भएको प्रहरीलाई उनले बताएका छन् । प्रहरीले फ्यालेको ठाउँमा बन्चरो खोजी गरे पनि घटना भएको लामो समय भइसकेका कारण फेला पार्न भने सकेन ।

भरत विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन आज जिल्ला अदालत मोरङबाट सात दिनको म्याद थप गर्दै प्रहरीले बाँकी अनुसन्धान अघि बढाइएको जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३