प्रकाशित : ५ कार्तिक २०७६, मंगलवार १२:२४

विराटनगर, ५ कात्तिक । मापदण्ड विपरित खोला दोहनमा प्रयोग गरिएको एउटा स्काभेटर र ८ वटा टिपरलाई मोरङ प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका–४ इक्राही र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सीमाना भएर बग्ने केसलिया खोलामा अवैध रुपमा उत्खनन्मा प्रयोग गरिएका स्काभेटर र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध उत्खनन्का कारण इक्राही र बुकडोरी जोड्ने खोलामाथिको पुल जोखिममा परेको गुनासो आएपछि मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठको नेत्रृत्वमा टोली उत्खनन् स्थलमा पुगेको थियो । डीएसपी श्रेष्ठले खोला किनारमा ठूला–ठूला खाल्डा बनाएर उत्खनन् गरिरहेको अवस्थामा स्काभेटर र टिपर नियन्त्रणमा लिइएको बताउनु भयो । उहाँकाअनुसार स्काभेटरले माटो उत्खनन् गरेर लोड गरेपछि टिपरको प्रयोग गर्दै ओसार्ने गरिएको पाइयो ।

प्रहरीले बा १ क ४९६२ नम्बरको स्काभेटर र को १ ख ५७०९, ना १ क ६२७१, ना १ क ६२६७, ना १ क ६२७०, को १ क २३७२, ना १ क ६२६९, ना १ क ६२६८ र ना १ क ६२६६ नम्बरको टिपर नियन्त्रणमा लिएको हो ।

टिपर र स्काभेटरका चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । टिपर अवैध रुपमा उत्खनन गरिएको माटो लोड गरिएको अवस्थामा केसेलिया खोला किनार र बाटोबाट पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताउनु भयो ।

प्रहरीले नियन्त्रणमा लिइएका सवारी साधन इटहरीस्थित ‘कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिको’ रहेको खुलेको छ । अवैध रुपमा माटो तस्करी गर्नेहरुले खोला किनारमा करिव १० देखि १३ मिटरसम्म ठूला खाल्डा खन्दै उत्खनन् गरेर माटो बिक्री गर्ने गरेको पाइएको श्रेष्ठको भनाइ छ ।

जसका कारण खोलाको पुल नै जोखिममा परिरहेको गुनासो स्थानीयले गरेको उहाँले बताउनु भयो । पुलबाट पाँच सय मिटर वरपर उत्खनन् गर्न नपाइने मापदण्ड छ । तर पुलबाट तीन सय मिटर आसपासमा उत्खनन् गरिएको र उत्खनन्मा ठूलो औजारको प्रयोग गरिएको श्रेष्ठले बताउनु भयो । उहाँले सबै सवारी साधन सुनसरीबाट नियन्त्रणमा लिइएका कारण कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहवीको जिम्मा लगाइएको बताउनु भयो ।

अवैध रुपमा उत्खनन् गरिएको माटो प्रति टिपर छ हजार रुपैयाँमा किनबेच हुने गरेको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३