Breaking News

कवि शशिकिरणको ‘बधाई छ !’ कवितासंग्रह विमोचन

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार १७:२२

विराटनगर, २ कात्तिक । कवि शशिकिरणद्वारा लिखित ‘बधाई छ !’ कवितासंग्रहको आज विमोचन भएको छ । विराटनगरस्थित आहोरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रमकाबीच प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कवितासंग्रहको विमोचन गर्नुभयो ।

विमोचित कवितासंग्रहको टिप्पणी गर्दै अग्रज साहित्यकार बलराम पोखरेलले आन्दोलनमार्फत राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा सुधार आउन नसकेको बताउनुभयो । आन्दोलनको मर्म र भावनाविपरीत नेतृत्व अगाडि बढिरहेको विषयलाई संग्रहका अधिकांश कविताले उठान गरेको पोखरेलको भनाइ थियो ।

कवि सीमा आभासले विमोचित कवितासंग्रहमा २०५० सालयताका राजनीतिक क्रान्ति र जनयुद्ध सकिएपछिको धङधङतीका विषयवस्तुहरू कविताको माध्यमबाट समेटिएको बताउनुभयो । उहाँले जनताले चाहेको शासन व्यवस्था अझै स्थापित नभएको भन्दै संग्रहका कवितामा विद्रोहसहित असन्तुष्टि अभिव्यक्त भएको उल्लेख गर्नुभयो । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले विमोचित कवितासंग्रहभित्र शीर्ष कविता ‘बधाई छ’ वाचन गर्नुभयो ।

कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले प्रकाशनमा ल्याएको १०६ पृष्ठको कविता संग्रहमा विभिन्न ५२ वटा कविताहरू समेटिएका छन् । कार्यक्रममा राष्ट्रियसभाका सांसद एवं प्राज्ञ खेम नेपाली, प्राज्ञ विवश पोखरेल, कवि भरत गुरागाईं, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति एवं प्रदेश सांसद शिवनारायण सिंहलगायतले शशिकिरणको कवितासंग्रह जनयुद्धको दस्तावेजका रूपमा आएको बताउनुभयो ।

संग्रहका अधिकांश कविताले १० वर्षे जनयुद्ध र त्यसपछि नेताहरूमा देखिएको विचलनलगायत विषयलाई सशक्त रूपमा उठाएको छ । तत्कालीन माओवादी पृष्ठभूमिबाट जनयुद्ध र राजनीति क्षेत्रमा लामो समयदेखि योगदान दिंदै आएका शशिकिरण नेकपा मोरङको सचिवसमेत हुनुहुन्छ ।

उहाँ राजनीतिमा गणेश उप्रेती ‘सुशील’को नामबाट स्थापित हुनुहुन्छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३