Breaking News

धमाधम पक्राउ पर्दै हुण्डी कारोवारी

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार १५:१४

विराटनगर ३० असोज । हुण्डीमार्फत रकमको अवैध कारोवार गर्नेहरु मोरङबाट धमाधम पक्राउ पर्न थालेका छन् । कारोवारी पक्राउ परेको घटनाले पछिल्लो समय हुण्डीको कारोवार फस्टाएको पुष्टि हुन्छ ।

सशस्त्र प्रहरीको टोलीले बुधबार मोरङको धनपालथान गाउँपालिका–३ स्थित मायागञ्जबाट हुण्डी कारोवारी ३५ वर्षीय विश्वनाथ राजवंशीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१० घर भएका उनी धनपालथानकै कर्सिया बजारमा सजिलो मनी ट्रान्सफर सञ्चालन गरेर बसेका थिए ।

मे ८ प ६१७५ नम्बरको मोटरसाइकलमा रहेका उनलाई भारतबाट नेपाल छिर्न साथ सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट सोराभागको टोलीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी निरीक्षक विराज कटुवालको नेत्रृत्वमा रहेको टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा राजवंशीले पछाडि बोकेको झोलामा नेपाली ४ लाख २० हजार रुपैयाँ रकम फेला परेको थियो । उनले लगाएको हेल्मेटमा पनि छ लाख रुपैयाँ फेला परेको थियो ।

हेल्मेटमा लुकाएर राखेको छ लाख र पछाडि भिरेको झोलामा रहेको चार लाख गरेर १० लाख २० हजार नेपाली रुपैयाँसहित उनलाई पक्राउ गरिएको सशस्त्रका प्रनि कटुवालले बताए । साथबाट फेला परेको रकम र मोटरसाइकलसहित सशस्त्र प्रहरीले राजवंशीलाई कारबाहीका लागि बुधबार साँझ नै विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । साथमा फेला परेको रकमको कुनै स्रोत नखुलेपछि राजवंशीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । राजवंशीले व्यापारीहरुले रकम लिन आफूलाई पठाएपछि भारत पुगेर लिएर आएको र उक्त रकम व्यापारीहरुको भएको बताएका छन् । तर हुण्डीबाट अवैध रुपमा प्राप्त भएको रकम हो भन्ने पुष्टि भएपछि उनलाई पक्राउ गरिएको र मनी ट्रान्सफर सञ्चालक राजवंशी आफै बारम्बार हुण्डीको रकम बोकेर नेपाल–भारत गर्ने गरेको पनि खुलेको सशस्त्र स्रोतले बतायो ।
राजवंशीबाट ठूला–ठूला व्यापारी र प्रतिष्ठित घरनाकाहरु हुण्डी कारोवारमा संलग्न रहेको सूचना चुहिएको स्रोतको भनाइ छ । पक्राउ परेका राजवंशीले दिएको सूचनाका आधारमा हुण्डीको अवैध कारोवार गर्ने अन्यलाई पक्राउ गर्न नेपाल प्रहरीसँग समन्वय गरिने कटुवालले बताउनुभयो ।

मोरङ प्रहरीले हुण्डीबाट प्राप्त भएको रकमसहित विराटनगर–४ कन्चनबारीबाट सुनसरीको बर्जु गाउँपालिका – ३ का २४ वर्षीय उमाकान्त रायलाई सोमबार पक्राउ गरेको थियो । नेपाली १० लाख रुपैयाँसहित पक्राउ परेका उनी विराटनगरस्थित गणपति मनी ट्रान्सफरका कामदार रहेको खुलेको । उनलाई आवश्यक कारवाहीका लागि प्रहरीले इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

पक्राउ परेका राय हुण्डी कारोवारमार्फत प्राप्त हुने अवैध रकम सीमा वारपार गराउने भरिया भएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताउनुभयो । हुण्डीमार्फत आएको रकम गन्तव्यसम्म पुर्याएवापत तीन सय रुपैयाँ पाउने गरेको उनले प्रहरीलाई बताएका छन् । ‘बरामद भएको अवैध रकम हुण्डी कारोवारमा प्रयोग हुने गरेको स्वयं पक्राउ परेका रायले स्वीकार गरेका छन्,’ डिएसपी खिँउजुले भन्नुभयोे, ‘स्रोत खुलाउन नसेको अवैध रुपैयाँ कहाँ लैजान खाजिएको हो भन्ने नखुलेका कारण अनुसन्धानको दायरा फराकिलो पारिएको छ ।’

स्रोत नखुलेको अवैध रकमसहित दुई व्यक्ति पक्राउ परेको घटनाले मोरङमा अवैध हुण्डी कारोबार फस्टाएको पुष्टि गरेको छ । विगतमा सहकारीको आडमा यस्तो कारोवार हुने गरेको थियो । तर अहिले मनी ट्रान्सफरको आडमा यो कारोवार फस्टाएको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो । विराटनगर महानगरपालिकासहित मोरङमा हुण्डी कारोवारमा ठूलो गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ ।

मोरङ प्रहरीले यस अघि विराटनगरमा सहकारीको आड लिएर हुने अवैध हुण्डीका कारोवारीलाई ६९ लाख ५७ हजार ६ सय रुपैयाँसहित पक्राउ गरेको थियो । हुण्डीमार्फत एक लाख रुपैयाँ पठाउँदा तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हुण्डीमार्फत कारोवार गर्दा एकै पटकमा धेरै आम्दानी हुने भएकाले पनि अवैध कारोवार गर्ने गिरोह सक्रिय हुने गरेको प्रहरीको विश्लेषण छ । मनी ट्रान्सफरबाट अहिले ५० हजारभन्दा बढी पठाउन नपाउने र बैंकबाट १० लाख भन्दा बढी पैसा पठाउँदा स्रोत देखाउनु पर्ने भएकोले अवैध धन्दा गर्नेहरूले हुण्डीमार्फत कारोवार गर्ने गरेको जानकारहरु बताउँछन् । हुण्डीबाट कारोबार गर्दा स्रोत देखाउन नपर्ने र राजस्व समेत छल्न सकिने प्रहरीले जनाएको छ ।

‘हुण्डीमार्फत करोडौंको कारोवार भइरहेको छ भन्ने सूचना प्रहरीमा छ । यसलाई नियन्त्रण गर्न प्रहरीले गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ,’ एसपी अधिकारीले भन्नुभयोे, ‘यस्तो अवैध कारोवारमा ठूला घरना र नाम चलेका व्यापारीको समेत संलग्नता छ भन्ने कुरा आएको छ । हुण्डीको कारोवार गर्नेको नेटवर्क अन्तराष्ट्रिय स्तरसम्म फैलिएको छ ।’ उहाँले अवैध हुण्डी कारोवार बारे कनेक्सन खोतल्दै यसमा संलग्नको सञ्जाल भत्काउन प्रहरी लागि परेको जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३