Breaking News

भारतबाट भित्राउन थालियो पटका

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलवार १७:०१

विराटनगर, २८ असोज । दशैं सकिए लगत्तै विष्फोटक पदार्थका रुपमा लिइने पटका धमाधम भारतबाट भित्राउन थालिएको छ । आयातमा पूर्ण प्रतिबन्ध लगाएर कडाई गरिए पनि सुरक्षाकर्मीको आँखा छल्दै ‘चोर बाटो’को प्रयोग गरेर पटका जन्य पदार्थ नेपालतर्फ ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

नाम चलेका व्यापारीले समेत भारतबाट लुकाईछिपाई पटका झिकाएर बिक्रीका लागि राख्ने गरेको सुराक प्रहरीलाई मिलेको छ । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १२ बण्डल पटका मोरङको सुनवर्षी नगरपालिका–९ डाइनिया बजारबाट प्रहरीले आइतबार बरामद गरेको छ ।

साइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा ‘कोब्रा’ नामक पटका बरामद गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर लेखनाथ दाहालले बताउनु भयो । त्यस्तै सशस्त्र प्रहरीले पनि भारतबाट ल्याउँदै गर्दा मोरङको जहदा गाउँपालिका– १ भुटाहाबाट आज ५० हजार मूल्य बराबरको पटका बरामद गरेको छ । यी दुई घटनाले पनि धमाधम भारतबाट पटका ल्याउने काम भइरहेको पुष्टि गर्ने सुरक्षाकर्मीले जनाएका छन् । विशेष गरेर तिहार तथा छठमा पटकाको प्रयोग बढी हुन्छ ।

चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेर विशेष टोली परिचालन गर्दै सीमा नाकामा निगरानी बढाइए पनि विष्फोटक पदार्थका रुपमा लिइने पटका अवैध रुपमा भित्राउने गिरोह भने सक्रिय रहेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताउनु भयो । सशस्त्र प्रहरीसँग समन्वय गर्दै सीमावर्ती क्षेत्रमा कडाई गरिए पनि पटका नेपाल भित्राउने गिरोहले सुरक्षाकर्मीको आँखा छल्न साथ मौका छोप्ने गरेको उहाँको भनाइ छ । डीएसपी खिँउजुले फूलझरी, झिरझिरे, गमला बम, खुर्सानी बम, कोब्रा, आलु बम, रकेट बम जस्ता पटका नेपालमा भित्राइने गरिएको बताउनु भयो ।

उहाँले विभिन्न समयमा बरामद गरिएका सबै पटका एकै ठाउँमा भेला पारेर ‘डिस्पोज’ गरिने बताउनु भयो । पटकाले ठूला–ठूला विष्फोट र आतसवाजीको आवाज दिंदा जनजीवन आतंकित बन्ने गरेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो ।

उहाँले पटकाको ओसारपसार र कारोवार हुने ठाउँको पहिचान गरेर प्रहरीले निगरानी बढाउँदै कडाई गरिरहेकोले पटका पड्काउने, पड्काउन उक्साउने, बिक्री गर्ने, किन्ने र ओसार पसार गर्नेलाई कारबाही गरिने जानकारी दिनु भयो । प्रहरीले चाडपर्वका नाममा रामाईलो गर्दा पटकाको आवाज र आतसवाजीले ध्वनी प्रदूषण , आगलागीका घटना तथा धनजनको क्षति हुने तथा आतंक फैलिने र मान्छेको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३