Breaking News

सुनसान बन्दै सार्वजनिक पुस्तकालय

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार १२:४८

विराटनगर २७ असोज । पुस्तकालय भरि पुस्तक सजाईएका छन् । विभिन्न विधाका पुस्तकहरु र्याकमा सजाएर राखिएको छ । कर्मचारी पुस्तकमा धमिरा नलागोस भनेर दैनिक सफा पनि गर्छन । बजारमा आएका हरेक नयाँ पुस्तकहरु खरिद गरिएको छ । तर, पुस्तकालयले पाठक पाउन छाडेको छ । पुस्तकालयमा आज भोली एक/दुई जना मात्र पुग्छन् । पाठक आउने क्रम घटेपछि पुस्तककालय खुल्ने समय पनि घटाईएको छ । सार्वजनिक पुस्तकालयकै अवस्थामा कलेजका पुस्तकालयहरु पनि पुगेका छन् ।

२०२४ सालमा विराटनगर पोखरियामा स्थापना भएको विष्णुमायाँ पुस्तकालयमा पुराना भन्दा नयाँ पुस्तक बढी छन् । पुराना पुस्तकहरु कमै राखिएको छ । पुस्तकायलले करिव ९० प्रतिशत पुस्तक संकलन गरेको छ । १० प्रतिशत खरिद गरेर राखेको छ । तर, पुस्तकालयमा दैनिक वा दिन विराएर एक जना पाठक भेटिन्छन् । ‘५/६ बर्ष अघि सम्म पुस्तकालयमा भरि भराउ पाठक हुन्थे अहिले त्यस्तो अवस्था छैन, अध्यक्ष केशव गौतमले भन्नुभयोे । पुस्तकालयमा विराटनगरमा आउने सवै दैनिक तथा साप्ताहिक पत्रिका पनि राखिएको छ । पत्रिका पढ्न नियमित आउने गरेपनि पुस्तक पढ्नका लागि कमै मात्रै व्यक्तिहरु आउने गरेको उहाँले बताउनुभयो ।

पुस्तकालय भित्र कम्प्युटर पनि राखिएको छ । कम्प्युटर चलाउनका लागि परिक्षाका समयमा केही विद्यार्थी आउने गरेपनि अहिले सुनसान छ । अहिलेको पुस्तामा विद्यालय÷कलेजको कोर्ष बाहेक अन्य पुस्तकहरु पढ्ने संस्कृति हराएर गएको अध्यक्ष गौतमले बताए । पुस्तक पढ्नका लागि पाठकहरु आउने क्रम घटेपछि पुस्तकालयमा सवै दर्शनका पुस्तकहरु पढाउने कार्य शुरु गर्न लागिएको उहाँले बताउनुभयो ।

२०२६ सालमा विराटनगर वरगाछीमा स्थापना भएको गुराँस पुस्तकायको अवस्था पनि उस्तै छ । पुस्तकायमा विभिन्न विधाका पुस्तकहरु र्याकभरि सजाएर राखिएको छ । तर, पुस्तक पढ्ने पाठक छैन । बजारमा नयाँ पुस्तकहर आउनासाथ खरिद गर्ने गरिएको कोषाध्यक्ष राहितकुमार रायले बताउनुभयो । करिव ५० जनाले कार्ड बनाएका छन् ।

१ हजार घरौटी राखेर उनीहरुले कार्ड बनाएका हुन । उनीहरुले नयाँ पुस्तक आए घरमै लगेर पढ्ने गरेका छन् । कार्ड बनाएका बाहेक कमै मात्र व्यक्तिहरु पुस्तकालय आउने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयोे,‘कुनै समय रिडिङ रुम भरिभराउ हुन्थ्यो ।’ गुराँस पुस्तकालयले रिडिङ रुम भरिभराउ हुन थालेपछि नयाँ कोठाको व्यवस्था गर्ने तयारी समेत गरेको थियो । पुस्तकालयको तयारीसँगै पाठक घट्न थालेपछि योजना स्थगित गरिएको कोषाध्यक्ष रायको भनाई छ ।

सामाजिक सञ्जालको विकासक्रमसँगै पुस्तक पढ्ने बानी हराउँदै गएको उहाँले बताउनुभयो । पढ्नुपर्छ भन्ने धारणा नहुँदा बौद्धिक जमातपनि घट्दै गएको रायको बुझाई छ । ५/६ बर्ष अघिसम्म दिनभरि खुल्ने पुस्तकालय अहिले ४ घण्टा मात्र खुल्ने गरेको छ । विहान २ र दिउँसो २ घण्टा खोल्ने गरिएको रायले बताए । बजारमा नयाँ पुस्तक आयो भने एक/दुई जना आउने गरेको उहाँको भनाई छ ।

विराटनगरका आदर्श र देवकोटा पुस्तकालय पनि नियमित खुल्ने गरे पनि पाठक भने कहिले काँही मात्र आउने गरेका छन् । पहिलेको तुलनामा पाठक आउनै छाडेका छन् ।

उत्तरी मोरंगमा समुदाय स्तरबाट निर्माण गरिएको लेखनाथ पुस्तकालय छ । पुस्तकालयमा राजनीति, धर्म संस्कृति साहित्य लगायत विभिन्न विधाका पुस्तकहरु सजाएर राखिएको छ । पाठक भने १०/१५ जना हुन्छन् । पुस्तकालयमा राखिएको रेकर्ड अनुसार दैनिक कक्षा ८÷९ का विद्यार्थी धेरै आउने गरेका छन् । अन्य पाठक कमै मात्रमा आउने गरेका छन् ।

पुस्तकालयमा करिव ४ हजार पुस्तक छन् । अधिकांश पुस्तक सजाएर राखिएको छ । पाठक घटेपछि पुस्तकालयले फ्रि वाईफाईको व्यवस्था पनि गरेको छ । फ्रि वाईफाईका कारण थोरै मात्रामा पाठकहरु बढेको अध्यक्ष गोविन्द वस्नेतले बताउनुभयो । आधुनिक प्रविधिका कारण डाईभर्ट भएको भर्चुअल संसार तर्फ मानिसहरु जाने थालेको उहाँको भनाई छ । सूचना प्रविधिको विकास क्रम सँगै पुस्तकालय आएर पढ्ने जमात घटेको वस्नेतले बताउनुभयो ।

कलेजको पुस्तकालय पनि उस्तै
विराटनगरको महेन्द्र मोरङ क्याम्पसको पुस्तकालय पनि सार्वजनिक भन्दा फरक छैन । पहिले ८ जना कर्मचारीलाई पुस्तक दिन भ्याईनभ्याई हुन्थ्यो । अहिले ४ जना कर्मचारी छन् । सवै जना फुर्सदिला भएका छन् । पुस्तकालयमा उनीहरु पुस्तक दिने भन्दा पनि गफ गरेर दिन विताउने गरेका छन् ।

विद्यार्थीको चाप कम भएपछि क्याम्पसले एक शैक्षिक शत्र भरि कोर्षको एक/एक सेट पुस्तक विद्यार्थीलाई दिने गरेको छ । परिक्षा सकिएपछि विद्यार्थीले बुझाएर अर्को बर्षको पुस्तक लाने गरेको पुस्तकालय इन्चार्ज आनन्दप्रसाद चौधरीले बताउनुभयो । विद्यार्थी घटेसँगै अहिले सवै विद्यार्थीलाई पुस्तक पुग्ने गरेको उनको भनाई छ । उनका अनुसार पुस्तकालय आएर विद्यार्थीले कोर्ष बाहिरको पुस्तक लग्ने गरेका छैनन । पहिले विभिन्न लेखकका पुस्तक पढ्ने गरेपनि अचेका विद्यार्थी एउटै पुस्तकको भर पर्ने गरेको उहाँको भनाई छ ।

पुस्तकालयमा विभिन्न विदेशी लेखकको पुस्तक भएपनि विद्यार्थी पढ्दैनन् उहाँले भन्नुभयोे । क्याम्पसले रिडिङ सेन्टर बनाएपनि विज्ञान संकायका एक/दुई जना विद्यार्थी बाहेक अरु आउने गर्दैनन् चौधरीले भन्नुभयोे । चौधरीका अनुसार प्राध्यापकहरु पनि पुस्तकालयबाट पुस्तक लगेर पढ्न छाडे ।

पुस्तकालयमा ८१ हजार ४ सय ३५ वटा पुस्तक छन् । धेरै पुस्तक धमिराले खाईपनि सकेको छ । ‘महेन्द्र मोरङ पुस्तकालयमा धनि छ , पुस्तकको विद्यार्थीले उपयोग गर्न सकेनन ।’ इन्चार्ज चौधरीले भन्नुभयोे ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३