प्रकाशित : २७ आश्विन २०७६, सोमबार १२:३५

विराटनगर २७ असोज । झापाको दमक–८ सेतुमारीकी शोभा घिमिरेले डेढ महिना सम्म आफ्नो ३० महिना छोरा लिएर दमक–विराटनगर गर्नुभयो । दैनिक सार्वजनिक वसमा आउ–जाउ गर्न समस्या भएपछि अहिले विराटनगरमै कोठा लिएर बस्न बाध्य हुनुभयो । उहाँको बाध्यता भनेको छोराको शिक्षासँगै विहेवियर थेरापी पनि हो । उहाँको छोरा डेनिशलाई अटिजम भएको छ ।

अटिजम भएका बालबालिकाका लागि प्रदेश नं. १ मा सुविधा सम्पन्न विद्यालय छैन । विद्यालय नभएपछि छोराका लागि उनी दमक–विराटनगर करिव ६० किलोमिटर पर रहेको विराटनगर ३ को अनमोल स्पेशल एजुकेसन सेन्टरमा धाउनु परेको हो । एकतर्फी रुपमा सार्वजनिक यातायातमा झण्डै २ घण्टा लगाएर लिएर आउने र साँझ फर्कने गरिरहेकी घिमिरेले अहिले भने विराटनगरमा कोठा लिएर बस्नु भएकोे छ । दैनिक छोरालाई लिएर विराटनगर आउनुपर्ने भएपछि उहाँले जागिर पनि छाड्नु पर्यो ।

आम्दा अस्पताल दमकमा नर्सीङमा पेशामा रहेकी घिमिरेले जागिर छाडेर विराटनगरमा बस्न थालेपछि खर्चपनि बढेर गएको बताउनुभयो । विद्यालयमा ल्याएपछि केही सुधार हुँदै गएको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ सरकारले ठाउँ ठाउँमा अटिजम केयर सेन्टर सञ्चालन गर्दिए हुनेथ्यो ।’

दमककी सरिता ओझा भनै दैनिक दमक–विराटनगर गरिरहनु भएको छ । छोरा एरिक बरालसँगै उहाँ पनि विराटनगर आउने गर्नु भएको छ । पहिले सार्वजनिक यातायातमा आउने गरेपनि अहिले आफ्नै गाडी भएकाले दमकबाटै आउ जाउ गरिरहेको उहाँले बताउनुभयो । उहाँका छोरा एरिक बराल ८ बर्षका भए । उनी २ बर्षको भएपछि परिवारमा अटिजम भएको थाहा भएको थियो । पहिले दमककै मन्टेश्वरीमा भर्ना गरिएपनि सुधार नभएपछि स्पेशल केयरका लागि विराटनगर ल्याउन थालेको उहाँले बताउनुभयो ।

विराटनगरमा मात्रै अटिजम भएका बालबालिकाका लागि शिक्षासँगै थेरापी गराईने हुँदा झापाको दमक, काकडभिट्टा, विर्तामोड लगायतका स्थानबाट विराटनगरमा कोठा लिएर छोरा– छोरीसँगै अभिभावक बस्न बाध्य भएका छन् ।

विराटनगर ३ दुधफारममा गत माघ महिना देखि अटिजम भएका बालबालिकाका लागि स्पेशल एजुकेसन सेन्टर सञ्चालनमा आएको हो । सेन्टरमा अहिले २३ जना बालबालिका छन् । विराटनगर सँगै मोरंगका अन्य स्थानबाट पनि बालबालिका आउने गरेको सञ्चालक संगीता न्यौपानेले बताउनुभयो । सेन्टरमा मनोपरामर्शदाता अर्चना रिमालले पनि दैनिक रुपमा बालबालिका हेर्ने गर्नु भएको छ । उहाँले भन्नुभयो,‘ बालबालिकाहरुमा पहिलेको भन्दा धेरै सुधार भएर गएको छ ।’

अटिजम भएका बालबालिकाका लागि छुट्टै सेन्टर नभएपछि विराटनगर ४ प्रगति मार्गमा अभिभावकहरुको पहलमा छुट्टै सेन्टर शुरु गरिएको छ । अटिजम केयर सोसाईटी नामक संस्था स्थापना गरेर शिक्षासँगै नियमित थेरापी दिने गरिएको छ । काठमाण्डौंमा मासिक १५ हजार सम्म भनेपछि विराटनगरमै अभिभावक मिलेर शुरु गरिएको सञ्चालक निधिरत्न बाँस्तोलाले बताउनुभयो ।

१२ जना बालबालिका सो सेन्टरमा आउने गरेका छन् । अटिजम भएका बालबालिकाका लागि छुट्टै केन्द्र नभएपछि अभिभावकहरुले खर्च जुटाएर गत माघ देखि शुरु गरिएको हो । नियमित थेरापी गर्दा केही सुधार भएपछि अभिभावकमा पनि आशा पलाएको उनले बताए । शत प्रतिशत सुधार नभएपनि बच्चामा केही सुधारका लक्षण देखिएको विराटनगर ४ की मीरा चुँडालले बताउनुभयो । छोरामा अटिजमको लक्षण देखिएपछि उनी नर्सीङ पेशा छाडेर छोराको स्याहारमा लाग्नु भएको छ । विराट मेडिकल कलेजमा कार्यरत उहाँ केही वर्षयता जागिर छाडेर छोरालाई नियमित थेरापीमा लाग्नु भएको छ । उहाँले भन्नुभयो,‘ आफ्नो खुशीलाई त्यागेर छोराको थेरापीमा लागे ।’ शत प्रतिशत सुधार गर्न नसकेपनि ६० प्रतिशत सम्म सुधार गर्न सकिनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

प्रदेश नं. १ को विराटनगरमा र धरानमा अटिजम सेन्टर भएपनि अन्य स्थानमा छुट्टै सेन्टर नहुँदा समस्या भएका अभिभावकहरुले बताएका छन् । विराटनगरमा भर्खर अटिजम सेन्टर शुरुवात भएपनि झापामा छैन । भापाको कन्काई नगरपालिका ३ सुरुङ्गामा शारिरीक, मानसिक तथा अटिजम भएका बालबालिकालाई एकै स्थानमा राख्ने गरिएको छ । पुकार अपांग अशक्त समाजमा सवैखाले अपांगता भएका ब्यक्ति एकै ठाउँमा बसेर पढ्ने गरेका छन् ।

पुकार अपांग अशक्त समाजकी निर्मला ओझाले शारिरीक मानसिक अपाङ्गता भएका बालबालिकाको तुलनामा अटिजम भएका बालबालिकाको रेखदेखमा पनि समस्या भएको बताउनुभयो । अन्य अपाङ्गता भएकाको तुलनामा अटिजम भएका बालबालिकाको संरक्षणमा धेरै समस्या हुने गरेको ओझाले बतउनुभयो ।

कतिपय अभिभावकलाई अटिजम भएको हो÷होइन भन्ने नै थाहा नभएको पाईएको छ । गरिवीका कारण यसको राम्रोसँग परिक्षण गर्न पनि नसकेको उनीहरुले बताएका छन् । छोराले अनौठो व्यवहार देखाउने गरेको थाहा पाएपनि झापा सुरङ्गाकी निर्मला दर्जी शारिरीक, मानसिक अपाङ्गता भएका बालबालिकासँगै आफ्नो ९ बर्षीय छोरा विनोदलाई राख्नु भएको छ । उहाँले भन्नुभयो,‘ अन्य स्थानमा लैजान सक्ने अवस्था छैन ।’

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ ले अपाङ्गता भएका व्यक्तिहरुलाई १० वटा समूहमा वर्गीकरण गरेको छ । जसमा को ९ औं नंवरमा अटिजम सम्बन्धी अपाङ्गता उल्लेख छ । तर राज्यबाट अटिजम भएकाले कुनैपनि सेवा सुविधा नपाएको अवस्था रहेको पुकार अपांग अशक्त समाजकी निर्मला ओझाले बताउनुभयो ।

प्रदेश नंं. १ को सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रममा अटिजम भएका बालबालिका अध्ययन गर्ने ५ वटा केन्द्रलाई संस्थागत सहयोग गर्ने गरि कार्यक्रम ल्याईएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

अटिजम कस्तो समस्या हो ?
अटिजम मस्तिष्कको बनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो । बालबालिकाले जन्मिएको १८ महिनादेखि २ वर्षभित्रमा आमा वा अभिभावकसँग कुनै पनि सञ्चार गर्न सकेनन् भने अटिजमको शंका गर्न सकिन्छ । बालबालिकाले उमेरअनुसारको गतिविधि गरेका छैनन् वा असामान्य व्यवहार देखाउँछन् भने अटिजम भएको हुनसक्छ । समयमै पहिचान गर्न सके त्यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सकिन्छ ।

अटिजम स्नायु तथा नसाको विकासमा आउने र्हासले उत्पन्न हुने समस्या हो । यो जन्मजात नसा र तन्तुको विकासका क्रममा आएको असमानताको एउटा रूप हो । अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर भनिन्छ । अटिजम रोग नभएर मस्तिष्कको विशेष अवस्था हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३