Breaking News

विराटनगर १२ असोज । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोकमा स्वाद होटल एण्ड रेस्टुरेन्ट छ । त्यही होटल अगाडि ५० मिटरको दूरीमा २४ घण्टा नै प्रहरीको उपस्थिति रहने प्रहरी विट पनि छ ।

डेढ वर्ष अघि एक करोड रुपैयाँको लगानीमा पूर्व–पश्चिम राजमार्गको व्यापारिक सहरमा खुलेको उक्त होटलमा ग्राहाकको उपस्थिति पनि राम्रै थियो । तर त्यही रेस्टुरेन्टले एक महिना यता ग्राहाकको खडेरीको सामना गर्नु परिरहेको छ । भदौ ५ गते राति ९ बजे प्रहरीले त्यहाँ पुगेर देखाएको अव्यवहारिक शैली र त्यसपछि पटक–पटक दिइरहेको दुःख ग्राहाक नआउने मुख्य कारण बनेको होटल सञ्चालकको गुनासो छ । होटल सञ्चालक रेवत अधिकारी प्रहरीको डरले ग्राहाक आउन छाडेपछि यो व्यवसायलाई निरन्तरता दिन गाह्रो भइरहेको बतानुहुन्छ । उहाँले भन्नुभयोे, ‘प्रहरीले होटल भित्र छिरेर अनआवश्यक दुःख दिइरहन्छ । डरले ग्राहाक भड्किए । आउनै छाडे ।’

इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर (प्रहरी निरीक्षक) गुणराज बुढाथोकीको नेत्रृत्वमा पुगेको टोलीले राति अवेरसम्म होटल खुल्ला राखेको भन्दै त्यहाँ भएका १० जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा होटलमा आएका ग्राहाकदेखि त्यहाँका कामदार र सञ्चालकसम्म थिए । इन्सपेक्टर बुढाथोकीले विभिन्न गाली गलौज र दुव्यवहार गर्दै होटलबाट सबै जनालाई नियन्त्रणमा लिएर रातभर विभिन्न घटनामा संलग्नलाई राखेकै हिरासत कक्ष भित्र थुनेर राखेको अधिकारीको गुनासो छ ।

पक्राउ गरिएकाहरुलाई दुव्यवहार गर्दै कुनै कारबाही भने नगरिकन प्रहरीले भोलिपल्ट बिहान छाडिदियो । ‘बिना कारण पक्राउ गरियो र कारबाही गर्ने कुनै आधार नभेटिएपछि त्यत्तिकै छाडियो,’ अधिकारीले भन्नुभयोे, ‘इन्सपेक्टर बुढाथोकीले आगामी दिनमा ९ बजेपछि होटल भित्र वा वरपर भेटिएमा पक्राउ गरेर मुद्धा चलाउने धम्की दिए ।’ त्यसको दुई सातापछि फेरि होटलमा पुगेर राति बत्ती बालेर खाना खाएको र फ्रिज खुल्ला राखेको भन्दै इन्सपेक्टर बुढाथोकी आफैले दुव्यवहार गरे ।

‘हामी होटलमा ग्राहाकलाई विदा गरेर गेट लगाएपछि राति ९ः३० बजे भित्र बसेर खाना खाँदै थियौं । त्यतिबेला आएको प्रहरीले दुव्यवहार र गालीगलौज गर्दै पक्राउ गरेर लैजाने धम्की दियो,’ उहाँले भन्नुभयोे, ‘हामीलाई खाना खान पनि दिइएन । तत्काल ननिस्किए लागुऔषधमा फसाइदिने धम्की पनि दिइयो ।’ प्रहरीकै डरले सबै कुरा छाडेर होटल बन्द गर्दै आफूहरु घरतिर जानु परेको उहाँले बताउनुभयो ।

त्यस्तै श्रेष्ठ होटलका सञ्चालक बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका टफिन श्रेष्ठ पनि प्रहरीले गलत नियत राखेर अनाश्वयक दुःख दिइरहेको बतानुहुन्छ । भदौ दोस्रो साता होटल हेर्ने जिम्मा दिइका बहिनीज्वाई यामप्रसाद राईलाई बिना कारण राति ९ बजे पक्राउ गरेर प्रहरीले थुनेको र बिहान छाडिदिएको उहाँले बताउनुभयो । गर्मीको समयमा होटल बन्द गरेपछि बाहिर हावा खाँदै सबैसँग गफगाफ गरेर बसिरहेको अवस्थामा इन्सपेक्टर बुढाथोकी नेत्रृत्वको प्रहरीले बिना कारण पक्राउ गर्दै लगेर दुव्यवहार गरेको श्रेष्ठको भनाइ छ ।

‘राति ९ बजेपछि होटल बन्द नगरे प्रहरीले सञ्चालक, कामदार र ग्राहाकलाई नै पक्राउ गरेर लैजाने गरेको छ । साँझ परेपछि होटल खुल्ला नराख्न उर्दी जारी गरेको छ,’ उनले भने, ‘आफ्नै राज्य जस्तो गरेर प्रहरीले दादागिरी गरिरहेको छ । सर्वसाधारण नागरिकको कुनै सम्मान नै छैन ।’ राति ९ बजेपछि बाहिर कोही पनि नबस्न र सबैतिर बत्ती मारेर अँध्यारो पार्न प्रहरीले उर्दी जारी गरेको उनको भनाइ छ । ‘चाडपर्व नजिकिएको छ,’ श्रेष्ठले भन्नुभयोे, ‘सबै तिर बत्ती मारेर अँध्यारो बनाउँदा राति चोरीका घटना हुन्छन् भन्ने कुरालाई प्रहरीले हेक्का नराखेको पाइयो ।’

भनेको नमाने लागुऔषध र विभिन्न मुद्दा लगाएर फसाइदिने धम्की इन्सपेक्टर बुढाथोकी आफैले बारम्बार दिएको उहाँको गुनासो छ । ‘प्रहरीसँग पूरै डराएर बस्नु पर्छ,’ श्रेष्ठले भने, ‘राति आकस्मिक काम पर्दा बाहिर निस्कन पनि पाइँदैन ।’ राति बाहिर बस्ने सबैलाई पक्राउ गरेर लैजाने धम्की दिइएका कारण प्रहरीबाट सबै आतंकित र असुरक्षित हुनु परेको उहाँले बताउनुभयो ।

होटलमा भएका यी दुई घटना प्रहरीले गर्ने अराजकताका प्रतिनिधि उदाहरण मात्रै हुन् । पछिल्लो समय बेलबारी प्रहरीको कार्यशैलीका कारण सर्वसाधारण नागरिक, व्यवसायी, जनप्रतिनिधि सबै आजित छन् । प्रहरीले देखाउने गलत व्यवहार र शैलीलाई अप्रत्यक्ष रुपमा गरिएको ‘बार्गेनिङ’का रुपमा लिइएको छ । बर्दीको आडमा अनआवश्यक दुःख दिने काम हुन थालेपछि बेलबारीमा प्रहरीको नेत्रृत्व गरेर रहेका इन्सपेक्टर बुढाथोकीको आलोचना हुन थालेको छ । सबैलाई मुद्धा चलाउने भन्दै धम्क्याउने, थर्काउने र अप्रत्यक्ष रुपमा ‘बार्गेनिङ’ गर्ने काम हुन थालेपछि प्रहरी काम कारबाहीको चौतर्फी विरोध भइरहेको छ ।

‘करोडौं खर्चिएर व्यवसायमा लगानी गरिएको हुन्छ,’ होटल व्यवसायी सुमन बानियाले भने ‘प्रहरीको अव्यवहारिक शैली र दादागिरीका कारण डुब्ने जोखिम बढेर गएको छ । त्यसको चैं जिम्मा कसले लिन्छ ?’ आन्तरिक राजश्व कार्यालयले राति १० बजेसम्म मदिरा बिक्रीका लागि अनुमति दिएको र प्रहरीले भने आफ्नै नियम लगाएर राति ९ बजेपछि रोक लगाउँदै होटलमा भेटिएका सबैलाई पक्राउ गरेर लैजाने गरेको उनको भनाइ छ । शान्ति सुरक्षा दिनु पर्ने प्रहरीले देखाएको व्यवहार नागरिक मैत्री नभएको बताउँदै बानियाले प्रहरीबाटै असुरक्षित भएर बस्नु परिरहेको गुनासो गर्नुभयोे ।

‘हामीले राज्यलाई कर तिरेका छौं,’ होटल व्यवसायी शौरभ दाहालले भने, ‘सुरक्षा पाउनु पर्ने ठाउँमा प्रहरीबाट असुरक्षित हुनु परिरहेको छ ।’ काम गरेको ठाउँमा आएर प्रहरीले पक्राउ गरेर लैजान थालेपछि होटलका लागि कामदार नै पाउन छाडिएको उनले बताए । उनले भने, ‘कुनै ठाउँमा गलत काम भएको छ वा होहल्ला र झैझगडा भएको छ भने नियन्त्रण गर्नु ठीकै हो । तर नियत नै गलत राखेर होटलमै सबै अपराध हुन्छ भन्ने ढंगबाट व्यवहार गरिन्छ ।’ दाहालले इन्सपेक्टर बुढाथोकीले थुनेर लागुऔषध र अभद्र व्यवहारको मुद्दा चलाउने धम्की बारम्बार दिइरहने गरेका कारण सबै आतंतिक हुनु परेको बताउनुभयो ।

व्यवसाय गर्नु नै अपराध गरे जस्तो व्यवहार प्रहरीले गर्ने गरेको उहाँको गुनासो छ । उहाँले प्रहरीकै कारण जोखिम बढेर व्यवसायिक लगानी डुब्ने अवस्थामा पुगेको बताए । दाहालले नियमअनुसार चल्दा पनि प्रहरीले तुच्छ व्यवहार गर्र्ने गरेको र व्यवसायमा लगानी गर्नेलाई हतोत्साही बनाइरहेको बताउनुभयो । ‘हामी नियम भन्दा बाहिर जाँदैनौं । नियमभन्दा बाहिर गए कारबाही गर्दा हुन्छ,’ उहाँले भन्नुभयोे, ‘तर प्रहरीको व्यवहार नागरिक मैत्री छैन ।

नियम भन्दा पनि बर्दी लगाएपछि जेसुकै गर्दा हुन्छ भन्ने सोंच प्रहरीमा हाबी भएको देखियो ।’
‘व्यवसाय सञ्चालन गर्दा के समस्या छ र कसरी शान्ति सुरक्षाको व्यवस्था गर्न सकिन्छ भनेर प्रहरीले आवश्यक राय सल्लाह लिँदै सहयोग गर्ने र नियम पालना गर्न आग्रह गर्ने गरेका थिए,’ दाहालले भने, ‘तर पछिल्लो समय एक्कासि आएर पक्राउ गरेर लैजाने गरिन्छ ।’
‘सर्वसाधारण तथा व्यवसायीलाई हतोत्साही बनाउन प्रहरीले गलत व्यवहार देखाइरहेको छ,’ एक व्यवसायीले भने, ‘यसका बारेमा छानबिन गरेर कारबाही नभए व्यवसायी पलायन हुनु पर्ने अवस्था आउँछ ।’ अहिले प्रहरीकै कारण व्यवसायिक लगानी जोखिममा पर्ने डर बढेर गएको उहाँको भनाइ छ ।

नागरिक अगुवा प्रताप थापाले रातको समयमा मात्रै अपराध हुन्छ भन्ने सोंच बोकेर समसाँझै होटल र पसल बन्द गराउनु गलत भएको बताउनुभयो । ‘होटल र पसलहरु कतिबेलासम्म चल्न दिने र बन्द गर्ने भन्ने प्रहरीको चासोको विषय होइन,’ उहाँले भन्नुभयोे, ‘प्रहरीले सुरक्षा दिने हो र कहीं कतै कानुन विपरितको कार्य भएमा नियन्त्रणमा लिने तथा कारबाही गर्ने हो ।’

प्रहरीको पछिल्लो शैली व्यवहारिक नभएको गुनासो बढेको बताउँदै थापाले उसका काम कारबाहीले राति ९ बजेपछि सुरक्षा दिन सक्दैनौं भन्ने प्रष्ट हुने बताए । ‘अपराध राति हुन्छ भन्ने प्रहरीको बुझाइनै गलत हो,’ उहाँले भन्नुभयोे, ‘यस्तो बुझाई र काम गराईले प्रहरी तथा नागरिकबीचको सम्बन्ध विग्रदै गएको छ ।’

थापाले अनआवश्यक रुपमा सर्वसाधारणलाई दुःख दिने नियत राखेर प्रहरी अघि बढेकै कारण पछिल्लो समय अपराधिक घटना बढेको र शान्ति सुरक्षाको अवस्था कमजोर बनेर गएको बताउनुभयो । उहाँले प्रहरीले आफूलाई बर्दीवाला गुण्डाका रुपमा उभ्याएर गतिविधी गरिरहेको गुनासो बढेर गएको उल्लेख गर्नुभयोे ।

‘प्रहरीको काम सुरक्षा प्रदान गर्दै शान्ति सुरक्षाको अवस्था मजवुत बनाएर समाजमा अपराध हुन नदिने हो,’ थापाले भन्नुभयोे, ‘प्रहरीको अत्याचार र दादागिरीले सर्वसाधारणदेखि व्यापारीसम्म असुरक्षित हुनु परेको छ ।’

कोसी हरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाईं प्रहरीले सर्वसाधारणदेखि व्यवसायीसम्मलाई अत्यन्तै दुःख दिइरहेको बताउँछन् । ‘नागरिकसँग सम्बन्ध सुधार गर्न प्रहरीको माथिल्लो निकाय नागरिक मैत्री र समुदायसँग प्रहरी जस्ता महत्वपूर्ण कार्यक्रम ल्याउँछ,’ उनले भने, ‘तल्लो स्तरमा भने दादागिरी शैलीमा प्रहरी प्रस्तुत हुन्छ र बिना गल्ती पक्राउ गर्दै लगेर थुन्छ ।’ यस्ता प्रहरी अधिकारी बेलबारीका लागि फिट नहुने बताउँदै उहाँले व्यवसायीको हितमा काम गर्न नसकेको चरम गुनासोसँगै प्रहरी अत्याचार पनि बढेर गएको बताए । मुस्कानसहितको सेवा दिनु पर्ने प्रहरी अधिकारीले गलत प्रस्तुति र कार्यशैली अँगालेर बर्दीको दम्भ र घमण्ड देखाउने गरेको उहाँले बताउनुभयो ।

इन्सपेक्टर बुढाथोकी भने शान्ति सुरक्षा मजवुत बनाउन खोज्दा असहयोग गर्नेहरुमाथि कडाई गरेको दाबी गर्नुहुन्छ । ‘होटल कतिबेलासम्म खुल्ला राख्ने र बन्द गर्ने भनेर हामीले व्यवसायीसँग सहमति गरेका छौं,’ उहाँले भन्नुभयोे, ‘समयमा होटल बन्द नगर्ने र शंकास्पद गतिविधी गर्नेलाई पक्राउ गर्ने गरिएको छ ।’ विभिन्न अपराधिक घटना हुने गरेका कारण बेलैमा होटल तथा मदिरा पसलहरु बन्द गर्ने गरिएको बुढाथोकीको जिकिर छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजु प्रहरीले दमन शैलीमा काम गर्न नमिल्ने बताउँछन् । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवाली उचित सुरक्षा दिइएको छ भन्ने देखाउन बेलुका चाँडै बजार, पसल र होटल बन्द गराउन प्रहरीले नमिल्ने बताउनुहुन्छ । ‘व्यापार, व्यवसायमा थप हौशला मिल्ने र नागरिकलाई सहयोग पुग्ने गरी प्रहरीले सबैसँग समन्वय गरेर काम गर्नु पर्छ,’ उनले भने, ‘प्रहरीको काम सुरक्षा दिने र शान्ति सुरक्षाको अवस्था मजवुत बनाउने हो ।’

ज्ञवालीले शान्ति सुरक्षाको मर्म र भावना विपरित होटल व्यवसायी तथा आम सर्वसाधारणलाई अनआवश्यक दुःख दिने तथा गलत ढंगले गलत सोंच राखेर अघि बढ्ने प्रहरी अधिकारीमाथि तत्काल छानबिन गरेर कारबाही अघि बढाउने बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३