Breaking News

सरकारको अभियानमा सहयोग गर्छौं : सेना

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १८:३४

विराटनगर, १ असोज । विराटनगरमा आज आयोजित एक कार्यक्रमका सहभागीले नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुधारमा जोड दिएका छन् ।

मोरङको थलाहामा रहेको सूर्यदल गणद्धारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा सहभागीले आफ्ना कमजोरी सुधार गर्दै जनतासँग घुलमिल भएर राष्ट्र निर्माणको महाअभियानमा जुट्न सेनालाई आग्रह गरे । देश बचाउने र बनाउनेमा सेनाको योगदान रहेको स्मरण गराउँदै नागरिक मैत्री बनेर अघि बढ्न सेनालाई उनीहरुको आह्वान छ ।

सबैसँग घुलमिल भएर अघि बढ्दा मात्रै विश्वास जितेर सेना सबै कुरामा सफल हुने र जनताको सम्मान पाउनेमा कार्यक्रमका सहभागीले जोड दिए । महिला अगुवा दुर्गा चापागाईले जनताले सेना हाम्रा लागि हो भन्ने कुराको महशुस गर्ने वातावरण तयार हुनु पर्ने बताउनु भयो ।

सेनालाई राष्ट्र र नागरिकको रक्षकका रुपमा लिने गरिएका कारण जनताले पनि सेनासँग सहकार्य र सामिप्यता चाहेको उहाँको भनाइ छ । विराट व्यापार संघका सदस्य मुकेश बुढाथोकीले विभिन्न प्रकोप र विपद्का बेला आम नागरिकबीचमा पुगेर सेनाले पुर्याएको योगदान प्रशंसा योग्य रहने गरेको बताउनु भयो ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले विपद् व्यवस्थापनमा सहयोग र साथ दिइरहेकाले विभिन्न खालका विशेष कार्यक्रम सञ्चालन गरेर उद्योग र व्यवसाय क्षेत्रमा सहयोग गर्न आग्रह गर्नु भयो । सेना जनतासँग नजिक हुनु पर्ने बताउँदै मानव अधिकारकर्मी सोमराज थापाले अप्ठेरो पर्दा र निराशा छाउँदा उत्साह थप्न सकियो भने जनतासँग सेना नजिक हुने बताउनु भयो । नेपाली सेनाका महासेनानी ईश्वरकुमार श्रेष्ठले सेना जनताकै सहयोगी र सहयात्री रहेको बताउनु भयो ।

कठोर अनुशासनमा रहेर व्यारेक भित्र बस्नु पर्ने सेना र खुल्ला समुदायमा बस्ने नागरिकबीचमा सुमधुर सम्बन्ध बनाउँदै सेना जनता एवं राष्ट्रकै लागि हो भन्ने कुराको सन्देश दिन विविध कार्यक्रम सञ्चालन भइरहेको जानकारी श्रेष्ठले दिनु भयो । सेनाका पूर्वी पृतनापति एवं उपरथी अनन्त कार्कीले ज्यानको बाजी राखेर घर परिवार त्याग्दै नेपाली नागरिकलाई परेको अप्ठेरोमा साथ दिने अठोट गरेकाले त्यही अनुरुप सेना अघि बढ्ने जानकारी दिनु भयो ।

कार्कीले विगतका त्रुटि र गल्ती सच्याउँदै अघि बढ्न सेना तयार रहेको बताउनु भयो । कार्कीले प्रदेश १ सरकारले ल्याएको ‘म अघि बढ्छु’ कार्यक्रम तथा समृद्ध नेपाल, सुखी नेपाली नारासहित सरकारले सञ्चालन गरेका हरेक अभियान र विकास निर्माणका काममा सेनाको साथ रहने बताउनु भयो ।

कार्यक्रममा प्रदेश २ को बारा र पर्सामा हावाहुरीको क्षतिपछि सेनाले निर्माण गरेर हस्तान्तरण गरेका घर एवं संरचनाका बारेमा तयार पारिएको वृत्तचित्त र सेनाका बारेमा निर्माण गरिएको लघु चलचित्र देखाइएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३