Breaking News

अञ्जिताले अस्वीकार गरिन बालविवाह

प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार १४:२०

विराटनगर । करिव एक महिना अघि मोरंग कटहरी ५ की अञ्जिता मुडियारी काठमाण्डौं गएकी थिईन । त्यही समयमा घरमा कुरो चल्यो विवाहको । १७ वर्षकी अञ्जिताले आफ्नो विवाह हुँदैछ भन्ने कुरा उतै सुनिन् । उनलाई रिस पनि उठ्यो । आफ्नो विवाह गर्ने उमेर पनि नभएको र एक पटक पनि नसोधेको भन्दै उनलाई रिस उठ्यो । उनले विवाहको कुरा साथीहरुबाट थाहा पाएकी थिईन ।

परिवारबाट उनलाई खवर पनि गरिएको थिएन । आफ्नो विवाह हुँदैछ भन्ने थाहा पाएपछि घर नजाने उनले निर्णय लिईन । फेरि उनलाई लाग्यो काठमाण्डौंमा बसेर पनि हुँदैन । घरमै पुगेर प्रतिवाद गर्ने उनले सोचिन र कटहरी आईन । घर आएर उनले विवाह गर्ने कुरा अस्वीकार गरिन् । जसरी पनि विवाह गरिदिन परिवारले खोजेपनि कुनै हालतमा आफ्नो विवाह नगर्ने उनले अठोट लिईन । विवाहको उमेर पनि नभएको भन्दै उनले विवाह नगर्ने स्पष्ट पारिन । साथीहरुलाई पनि सुनाईन ।

गाउँमा बाल विवाह विरुद्धको अभियानाम रुपान्तरण क्लव पनि छ । रुपान्तरण क्लवकी रुवी मुडियारीलाई पनि सुनाए उनले भनिन् । बालबालिकाहरु पनि अञ्जिताको विवाह गर्नु दिनुहुदैन भनेर लागे । अन्तत : उनको विवाह रोकीयो ।

७ कक्षा सम्म पढेको अञ्जिताको अभिभावक भनेको दाजु भाउजू हुन । उनी सानै छँदा उनका बाबु आमा विते । करिव ६ वर्ष अघि एक दिन अघि पछि गरेर बाबु आमाले संसार छाडेपछि उनले पढाईलाई पनि निरन्तरता दिन सकिनन् । पढ्ने तीव्र इच्छा भएपनि पढाईलाई विट मारिन । अहिले उनलाई पढ्न मन छ । ५ जना छोरा छोरी मध्ये उनी कान्छी छोरी हुन् । एक दाजु र २ वटी दिदीको विवाह भईसकेको छ । उनी र भाई दाजुसँगै बस्छन् ।

अञ्जिताको विवाहको चाँजोपाँजो भाउजूले मिलाएकी हुन् । उनका दाजुपनि मजदुरी गर्ने हुँदा घरमा खासै वस्दैनन् । भाउजूले उनको विवाहका लागि केटा तयार गरेकी हुन । उनको विवाहका लागि भाउजूले उनको उमेर भन्दा दोब्बर बढीको केटा खोजेको अञ्जिताले बताईन् । उनले भनिन्,‘ मेरो बाल विवाह त थियो नै केटाका छोरा छोरी नै म जतिकै रहेछन् ।’ केटाले दोश्रो विवाह गर्न खोज्दै थिए । उनको पहिलो श्रीमतिको निधन भएको थियो ।

रञ्जिताका अनुसार ३ छोरा छोरी रहेछन्, जेठो सन्तान मेरो उमेर वरावरकै रहेछन् । अञ्जितालाई आफु सक्षम नभई विवाह गर्ने मन छैन । उनका कुनैपनि साथीहरुको विवाह भएको छैन । उनी भन्छिन् ,‘ मेरा कुनै पनि साथीको विवाह भएको छैन, मेरो किन हतार ।’ भाउजूले अहिले पनि विवाह गरिदिने बताउने गरेको उनले भनिन् ।

भाउजूले २० वर्ष उमेर पुगेको भनेर जिद्धि गर्ने गरेको उनको भनाई छ । भाउजूले जवरजस्ती विवाह गर्ने भनेपछि एकदिन उनले भनिन,‘ मेरो उमेर पुगेको भए, नागरिकता बनाईदिनु ।’ नागरिकताको कुरा सुनेपछि भाउजू चुपचाप भएको उनको भनाई छ । आँफुमा अहिले धेरै आँट आएको उनले बताईन् । उनले भनिन,‘ सक्षम नहुन्जेल विवाह गर्दिन ।’

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३