प्रकाशित : २३ भाद्र २०७६, सोमबार १७:३५

विराटनगर २३ भदौ । विराटनगरको घिनाघाटदेखि सुन्दरहरैंचाको विराटचोकसम्मको २२.७ किलोमिटर विराटचोक–घिनाघाट सडक अब चार लेनको हुने भएको छ ।

प्रदेश १ सरकारले आफ्नो पहिलो गौरवको आयोजनाका रुपमा यस सडकलाई चार लेनको बनाउन काम थालेको हो । मुख्यमन्त्री शेरधन राईले सोमबार ग्रामथान गाउँपालिकाको नेताचोकमा एक कार्यक्रमका बीच सडकको शिलान्यास गरे । सडकको अनुमानित लागत एक अर्ब ४० करोड छ ।

तीन प्याकेजमा यसको निर्माण सम्पन्न गर्ने तयारी छ । दुई प्याकेजको ठेक्का सम्झौता गत असार २९ गते नै भएको थियो । चार लेन सडक निर्माणको जिम्मा श्रेष्ठ निर्माण कम्पनी र एपेक्स रमण निर्माण सेवाले पाएका छन् । निर्माण कम्पनीले २०७८ असार मसान्त भित्रमा निर्माण पूरा गरेर प्रदेश सरकारलाई योजना हस्तान्तरण गर्नु पर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले निर्माण सामग्री गिट्टी र बालुवा उत्खनन्मा रोक लगाइएका कारण असोज १ गतेबाट कामले गति लिने छ ।
एक अर्ब ६० करोडको टेण्डर आब्हान गरिएकोमा एक अर्ब ४० करोडको ठेक्का स्वीकृत भएपछि सडकको शिलान्यास भएको हो । प्रमुख श्रेष्ठका अनुसार सडकको केन्द्रबाट दुवैतिर ३५/३५ फिट बढाएर विस्तारको काम हुने छ ।

सडक शिलान्यास गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले गौरवका आयोजनाको काम सुरु गरेको बताउनुभयो । ‘यो सडक प्रदेशकै नमुना बन्ने छ,’ उहाँले भन्नुभयोे, ‘प्रदेश सरकारले नयाँ सोंचका साथ फोर लेन सडक बनाउनु पर्छ भनेर शिलान्यास गरेको हो ।’ संकृण र साँघुरो सोंच त्यागेर विकास निर्माणको काममा अघि बढ्नु पर्ने बेला आएको राईको भनाइ छ । ‘साँघुरो सोचाईको घेराबाट हामी माथि उठ्न जरुरी छ,’ उनले भने, ‘प्रदेश सरकार नयाँ संरचना विस्तार र विकास निर्माणको काममा अगाडि बढेको छ ।’

यो सडक चार लेनको हुँदा मोरङका दुई स्थानीय तहलाई मात्रै नभइकन झापा, इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दासम्मलाई सुविधा पुग्ने राईको भनाइ छ । प्रदेशको नमुना सडकको रुपमा यो आयोजना रहेको जानकारी दिँदै उनले त्यसको लागि गुणस्तर र निर्धारित समयका सवालमा कुनै पनि सम्झौता गर्न नसकिने स्पष्ट पार्नुभयोे ।

मुख्यमन्त्री राईले सडक निर्माणमा कुनै प्रकारको लापरबाही भएमा त्यसको परिणाम हेक्का राख्न ठेकेदार कम्पनीलाई चेतावनी समेत दिनुभयो । ‘सडक फराकिलो बनाउने क्रममा गुणस्तरमा कुनै सम्झौता हुने छैन,’ उहाँले भन्नुभयोे, ‘गुणस्तर र तोकिएको समयमा काम सम्पन्न गर्न विचार गर्नु पर्नेमा सम्बन्धीत पक्षले ध्यान दिनु पर्छ ।’

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३