Breaking News

विराटनगर विमानस्थलको काम असोजबाटै

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार १८:३७

विराटनगर, २२ भदौ । विराटनगर विमानस्थल विस्तार एवं स्तरोन्नतिको काम असोज महिनाबाटै सुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पाँच दिन भित्रमा डीपीआरको काम सक्ने बताउनु भयो ।

पाँच दिन भित्रमा सकेर १५ दिन भित्रमा विराटनगरमै डीपीआर सार्वजनिक गर्दै असोज महिनाबाटै काम सुरु गर्ने प्रतिवद्धता उहाँले आज जनाउनु भएको छ ।

विमानस्थल स्तरोन्नतिका लागि दबाब दिन मोरङ क्षेत्र नम्बर ५ का संघीय सांसद शिवकुमार मण्डलको नेत्रृत्वमा काठमाडौं पुगेको पर्यटन व्यवसायीसहितको टोलीलाई मन्त्री भट्टराईले विराटनगर विमानस्थल स्तरोन्नतिको काममा ढिलाई नहुने जानकारी दिनु भयो । मन्त्रीसँगको छलफलमा सहभागी पर्यटन व्यवसायी एवं विमानस्थल निर्माण संघर्ष समितिका संयोजक पुण्य भट्टराईका अनुसार विमानस्थलको डीपीआर निर्माणको काम लगभग ९५ प्रतिशत सकिएको जानकारी मन्त्रीले गराएका छन् ।

उहाँले विमानस्थल स्तरोन्नतिको काम अघि बढ्न नसकेपछि दबाब दिन एउटा टोली काठमाडौं नै पुगेर विभागिय मन्त्रीलाई भेटेर छलफल गरेको बताउनु भयो ।

आज भएको छलफलमा सांसद मण्डलसहित पर्यटन व्यवसायी एवं विमास्थल निर्माण संघर्ष समितिका भट्टराई, पर्यटन व्यावसायी फणिन्द्र अधिकारी, नेकपा स्थानीय नेता भोगेन्द्र यादव, पारुल क्षेत्री लगायत सहभागी थिए । त्यस क्रममा मन्त्री भट्टराईले स्थानीय, प्रदेश र संघीय गरेर तीनै तहका सरकारको समन्वय एवं लगानीमा विमानस्थलको काम अघि बढाइने बताउनु भएको ।

विमानस्थल स्तरोन्नति गरेर अन्र्राष्ट्रिय स्तरको बनाउन तत्काललाई दुई सय ५० विघा जग्गा अधिग्रहण गर्नु पर्ने पर्यटन मन्त्रालयले तयार पारिरहेको नयाँ डीपीआरमा उल्लेख छ । तर यस अघिको योजना अनुसार क्षेत्रीय विमानस्थल निर्माणका लागि थप एक सय ५० विघा जग्गा मात्रै आवश्यक पर्छ । अन्तर्राष्ट्रिय विमानस्थल बनाउन धावनमार्गको लम्बाई तीन हजार मिटर बनाउन थप दुई सय ५० विघा जग्गा आवश्यक पर्ने हो ।

तत्काललाई क्षेत्रीय स्तरको बनाएर दुई हजार चार सय मिटरको धावनमार्ग निर्माण गर्न थप एक सय ५० विघा मात्रै जग्गा अधिग्रहण भए पुग्ने विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले बताउनु भयो ।

विराटनगर महानगरपालिका–४ मा रहेको एक सय १५ विघामा फैलिएको विमास्थलको लम्बाई अहिले एक हजार पाँच सय मिटर मात्रै छ । नौ सय मिटर थप गरेर क्षेत्रीय स्तरको विमानस्थल बनाउने तयारी रहेको सिटौलाको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३