प्रकाशित : १७ भाद्र २०७६, मंगलवार १८:४६


विराटनगर, १७ भदौ । विराटनगर महानगरपालिका – ७ बुद्धमिलन चौकस्थित ‘ऊ जे.के. पानी उद्योग’ ले सेप्टी टयाङ्गकी (हज) नजिक प्रशोधित पानी उत्पादन गरिने बोरिङ मेसिन राखेको फेला परेपछि तत्काल उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ ।
हज छेउमा प्रशोधित पानी उत्पादन गर्ने बोरिङ मेसिन रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आज दिउँसो अनुगमनको क्रममा फेला पारेपछि तत्कालको लागि उद्योगले उत्पादन गर्ने ‘एच टु’ पानी उत्पादन र बिक्री वितरणमा रोक लगाएको हो ।
पानी उत्पादन गर्ने बोरिङ मेसिन र हज नजिक भएकोले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कोलिफार्म जिवार्णु हुनसक्ने आशंका गर्दै तत्कालका लागि सो उद्योगबाट उत्पादन हुने पानीको बिक्री वितरणमा रोक लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले जानकारी दिनु भयो । खाद्य निरीक्षक शंकर न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनको क्रममा हज नजिक बोरिङ मेसिन राखिएको फेला परेको हो ।
त्यसपछि २ थान प्रशोधित पानीसहितको जार ल्याब परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगिएको छ । यसको नतिजा ल्याब परीक्षणपछि आउने न्यौपानेले बताउनु भयो । उहाँका अनुसार पानीको ल्याब परीक्षण रिर्पोट नआएसम्म उद्योगलाई पानी उत्पादन र बिक्रीमा पूर्ण रुपमा रोक लगाइएको छ ।
उक्त उद्योग जितेन्द्रकुमार यादव, ओमप्रकाश राउत र कौशालन्द्रकुमार कर्णले सञ्चालन गरेका हुन् ।