Breaking News

प्रविधिमैत्री बन्दै मोरंगका स्थानीय तह

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलवार १८:४१

विराटनगर, १७ साउन । मोरङका स्थानीय तहहरु प्रविधिमैत्री बन्दै गएका छन् । काम कारबाहीलाई सहज बनाउन, विकास निर्माणलाई प्रभावाकरी बनाउन, अनियमितता र ढिलासुस्ती रोक्न, सेवा प्रवाहलाई चुस्त बनाउन, सेवाग्राही मैत्री वातावरण तयार पार्न एवं स्थानीय तहमा भएका काम कारबाहीको अनुगमन तथा निरीक्षण गर्न स्थानीय तहले प्रविधिलाई साथ लिन थालेका हुन् । जनप्रतिनिधिले नेत्रृत्व गरेसँगै विकास निर्माणलाई प्राथमिकता दिएका स्थानीय तहले भ्रष्टाचार एवं विभिन्न खाले अनियमितता रोक्ने महत्वपूर्ण हतियारका रुपमा प्रविधिको प्रयोगलाई जोड दिएका हुन् ।

दर्ता, चलानीदेखि लिएर जिन्सीसम्मका काममा स्थानीय तहले प्रविधिको प्रयोग गर्ने गरेका हुन् । बजेटसमेत स्थानीय तहले सफ्टवेयर मार्फतनै बनाउँछन् । आधुनिकतासँगै प्रविधिको प्रयोगले सेवाग्राही जनतालाई ठूलो राहत पुगेको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले बताउनु भयो । उहाँले विभिन्न खाले योजनाको अनुगमनदेखि लिएर त्यहाँ हुने भ्रष्टाचार रोक्नसमेत प्रविधिले सहयोग पुग्ने जानकारी दिनु भयो ।

मोरङमा एक महानगरपालिकासहित १७ वटा स्थानीय तह छन् । सबै स्थानीय तहले प्रविधिको प्रयोग गर्दै काम कारबाही गर्न थालेका छन् । बेलबारी नगरपालिकाले वैशाख भित्रै विकास निर्माणका सबै काम सम्पन्न गर्ने गरी नगरसभाबाटै पास गराएको छ ।

विकास निर्माण लगायत विभिन्न खाले योजनाको अनुगमनलाई प्रभावकारी बनाउन नयाँ सफ्टवेयर खरिद गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार साहले बताउनु भयो । उहाँका अनुसार मोबाइल एप्सको प्रयोग गरेर सूचना लिन तथा गुनासो सुन्न सकिने खालको सफ्टवेयर खरिद गरिएको हो । उहाँले यही सफ्टवेयरमार्फत वडामा भएका योजनाको सम्झौतादेखि अनुगमन समेत एकै ठाउँबाट गर्न सकिने बताउनु भयो ।

प्रविधिको प्रयोग गरेर स्थानीय तहले सेवा प्रवाहा गर्दा पहिला भन्दा धेरै सुधार भेटिएको सेवाग्राहीको अनुभव छ । सुन्दरहैंचा नगरपालिकाका बासिन्दा सन्तोश घिमिरे प्रविधिको प्रयोगले सेवग्राहीको काम छिटो हुने र अनियमितता तथा भ्रष्टाचार रोकिने बताउनु भयो ।

स्थानीय तहले राजस्व संकलन समेत सफ्टवेयरको प्रयोगबाट गर्न थालेका छन् । ‘नगरपालिकाबाटै वडामा संकलन भएको राजस्वका बारेमा जानकारी लिन सकिन्छ,’ बेलबारी नगरपालिकाकी लेखा अधिकृत धनमाया राईले भन्नु भयो, ‘हामी दैनिक कुन वडामा कति राजस्व संकलन भयो भनेर हेर्ने गर्छौ ।’

उहाँले सफ्टवेयरमार्फत काम गर्दा समयको बचतसँगै विभिन्न खाले अनियमितता समेत हुन नपाउने बताउनु भयो । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले योजना, राजस्व संकलन तथा सम्पति मूल्याँकन, पञ्जीकरण सम्बन्धी काम, घर नक्सा, सामाजिक सुरक्षा लगायतका काम प्रविधिको प्रयोग गरेर गर्ने गरिएको बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३