प्रकाशित : १ भाद्र २०७६, आईतवार १७:२७

विराटनगर, १ भदौ । वैदेशिक रोजगारीका लागि दुवई पठाइदिने भन्दै लाखौं रुपैयाँ उठाएर सुनसरीको हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह फरार बनेको घटना सार्वजनिक भएको छ ।

आकर्षक कमाईको लोभ देखाएर सात युवामाथि प्रति व्यक्ति एक लाख ७० हजार रुपैयाँ असुल्ने काम भएको हो । सात जनामाथि ११ लाख ९० हजार उठाएर साह सम्पर्कविहीन बनेका हुन् । उनीबाट हरिनगरा–४ का गन्नु मण्डल सरवरिया, अनिलकुमार मण्डल, इन्द्रदेवकुमार मण्डल, महेशकुमार मेहता, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डल ठगिएका हुन् । पीडित युवाहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरका उजुरी दिएका छन् । कार्यालयका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलका अनुसार साहका नाममा पक्राउ पुर्जी जारी गरेर खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

सबै प्रमाणले ठगी गरेको पुष्टि भएपछि साहलाई पक्राउ गरेर कानुन अनुसार कारबाही अघि बढाइने उहाँको भनाइ छ । वैदेशिक रोजगारीका लागि दुवई पठाउने भनेर गत वैशाख ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुर्याएपछि आफूहरु फिर्ता आउनु परेको युवाहरुले दिएको उजुरीमा खुलाइएको छ ।

कामदारका रुपमा लैजाने भने पनि पर्यटक भिषामा पठाउन लागेको भन्दै विमानस्थलले फिर्ता गरिदिएको पीडित मध्येका महेशकुमार मेहताले बताउनु भयो । त्यही दिनदेखि साह सम्पर्कविहीन बनेको पीडित मध्येका सञ्जय मण्डलले बताउनु भयो । उहाँका अनुसार काम गर्नका लागि दुवईको बलतिया कम्पनीमा पुर्याउने र नेपालको ५४ हजार रुपैयाँ मासिक तलब हुन्छ भनेर साहले सबैसँग गत चैतबाट पैसा उठाएका हुन् ।

मण्डलले सबैको राहदानी लिएर साह सम्पर्कविहीन बनेको बताउनु भयो । श्रम अधिकृत सञ्जेलले दुवई पठाइदिन्छु भन्दै ठगी गरेका युवाको नाममा नेपालमा कुनै पनि मेनपावर दर्ता नभएको र साहलाई वैदेशिक रोजगार ऐन अन्तर्गत कारबाही हुने बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३