प्रकाशित : २८ श्रावण २०७६, मंगलवार १८:४७


विराटनगर, २८ साउन । विराटनगरका व्यापारी जितु भनिने जितेन्द्र रायको हत्या गर्ने योजना बनाएर आएका भारतीय ‘सार्पसुटर’ १९ वर्षीय कुनाल कुमार सिंहसहित तीन जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजालसले सिंहसहित विराटनगर – ८ का ३१ वर्षीय मन्नुकुमार गुप्ता, सर्लाही गोडैता नगरपालिकाका ५० वर्षीय हरिनारायण झालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न ऐनको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई कारागार पठाउन दफा ७९ बमोजिम आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनु भयो । अदालतको आदेशपछि तीनै जना जिल्ला कारागार मोरङ चलान भएका हुन् ।
मोरङ प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले गत शुक्रबार मोरङ अदालतमा ‘संगठित रूपमा हातहतियार खरखजनासहित आपराधिक षडयन्त्र उद्योग’ मा पक्राउ परेका तीन र फरार रहेका दुई जना गरेर पाँच जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । फरार रहेका मोरङको कटहरी गाउँपालिका– ५ का ४३ वर्षीय मन्नुकुमार साह रौनियार र महोतरी जलेश्वर नगरपालिका–४ का २५ वर्षीय टिंकुकुमार झालाई अदालतले पक्राउ पुर्जी जारी गर्दै उपस्थितका लागि ३५ दिनको म्याद दिएको छ ।
सूचना अधिकारी पौडेलका अनुसार प्रतिवादी बनाइएका दुवै जनाको नाममा रहेको मोबाइलको सिमकार्ड ‘सार्पसुटर’ ले प्रयोग गर्ने गरेको खुलेको छ । विराटनगरका खाद्यान्न व्यापारी रायको हत्या गर्न भारतबाट सार्पसुटर मुख्य अभियुक्त मन्नु कुमारले झिकाइएको मोरङ प्रहरीले गरेको अनुसन्धानबाट खुलेको थियो । यस घटनामा अझै दुई जना भारतीय फरार छन् ।
सिंहसँगै आएका भारतीय अर्का सापसुटर राजुकुमार रौनियार र राजेश झा फरार छन् । उनीहरू भारतीय भएकोले प्रहरीले पक्राउ गरेपछि मात्र प्रतिवादी बनाउने बताइएको छ ।
पक्राउ परेका मुख्य अभियुक्त गुप्ताले पाँच लाख भारतीय रुपैयाँको सुपाडी दिएर विराटनगरमा खाद्यान्नको कारोवार गर्ने व्यापारी रायको हत्या गर्न सार्पसुटर ल्याएको अनुसन्धानबाट खुलेको सरकारी वकिल कार्यालयले तयार पारेको अभियोपत्रमा उल्लेखछ ।
प्रहरीले सिंहलाई गत जेठ २७ गते २ वटा पेस्तोल र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित विराटनगरस्थित एक होटलबाट पक्राउ गरेको थियो । पुरानो लेनदेन र रिसईबीका कारण गुप्ताले व्यापारी रायको हत्या गर्न खोजेको खुल्न आएको थियो ।