Breaking News

मुख्यमन्त्री कप अनियमितता प्रकरण : आयोजक समितिलाई पत्र काटियो

प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार १८:५२

विराटनगर, २६ साउन । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा आर्थिक अनियमितता भएको विषयमा सार्वजनिक लेखा समिति प्रदेश १ ले आयोजक समितिलाई पत्र काटेको छ ।

लेखा समितिले औपचारिक रुपमा आयोजक पक्षलाई बोलाएर छानबिन सुरु गरेको एकसाता वितिसक्दा समेत आवश्यक काजगपत्र नबुझाएको भन्दै समितिले आज पत्र पठाएको छ । यसअघि गत साउन १७ गते समितिमा भएको छानबिनका क्रममा आयोजक समितिले खर्चको विवरण, अन्य भौचर माग गरे बमोजित सातदिन वितिसक्दा समेत नबुझाएपछि समितिले तीन दिन भित्रमा विल भर्पाइ बुझाउन निर्देशन दिएर पत्र काटेको समितिका सभापति शिवनारायण सिंह गन्गाईले जानकारी दिनु भयो ।

‘विल भर्पाइ बुझाउन तीन दिनको समय दिएर पत्र काटेको र बुझाउन आलटाल गरेमा नियमसम्बद्ध प्रक्रियागत रुपमा अघि बढ्छौं,’ सभापति गन्गाईले भन्नु भयो । यसअघि प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै आवश्यक छानबिनका लागि पत्र काटेर सार्वजनिक लेखा समितिले प्रतियोगिता आयोजक समितिका संयोजक किरण राईलाई वयानका लागि बोलाएको थियो ।

समितिका सभापति गन्गाईले भने, ‘साउन १७ गते नै छानबिनका लागि विल भौचर बुझाउन भन्दा आयोजक पक्षले हप्ता दसदिनको समय लाग्छ भनेको थियो । तर अहिलेसम्म बुझाएको पाइएन ।’

समितिले माग गरेबमोजिम विल भौचर बुझाएपछि फुटबलका विज्ञसँग सरसल्लाह लिँदै आफूहरु अघि बढ्ने समितिका सभापति गन्गाईको भनाइ छ । खेलका समय अंकका आधारमा जित हात पारेको टोली तेह्रथुमलाई किन बाहिरिन बाध्य पारियो, आर्थिक अनियमितताको विषयमा बुझ्नका लागि प्रदेश १ मा रहेका फुटबलविज्ञसँग थप छलफल गर्ने समितिको भनाइ छ ।

त्यसैगरि, छानबिन समितिका सदस्य एवं नेकपाका प्रदेश सभासदस्य कुलप्रसाद साम्बा लिम्बूले छानबिन समितिले यसविषयमा गम्भीर भएर काम गरिरहेको बताउनु भयो । समितिमा बुझाएका सबै कागजपत्र हेर्न भ्याइनसकेको बताएका लिम्बूले यस विषयमा आर्थिक र प्राविधीक दुइपाटो भएर काम गर्नुपर्ने उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो, ‘यस विषयमा अब आर्थिक पक्ष लेखा समितिले र प्राविधिक पक्ष सामाजिक विकास समितिले हेर्नेछ ।’

यसअघिको छानबिनका क्रममा प्रतियोगिता आयोजक समितिले लेजर, प्राविधीक रिपोर्ट, खर्च भौचर लगायत गरि कुल १७ वटा कागजपत्र छानबिन समितीलाई बुझाएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३