Breaking News

तराईका जिल्लामा भाईरल ज्वरोका विरामी बढ्दै

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार १७:५८

विराटनगर, २४ साउन । लगातारको बर्षा पछि शुरु भएको गर्मीसँगै तराईका जिल्लामा भाईरल ज्वरोको प्रकोप सुरु भएको छ । जिल्ला अस्पताल देखि स्थानीय स्वास्थ्य चौकी, तथा निजी क्लिनिकमा समेत भाईरल ज्वरोका विरामीहरुको चाप एकाएक बढेर गएको छ ।

भईरल ज्वरोका विरामीहरुकै कारण जिल्ला अस्पतालका इमरजेन्सी वार्डहरु खचाखच भरिएका छन् । केही दिन देखि भाइरल ज्वरोबाट पीडित भएर उपचारका लागि आउने विरामीको चाप ह्वात्तै बढेको विराटनगर स्थित कोशी अस्पतालको इमेरजेन्सी वार्डका सिनियर अहेब भोला तिमसिना बताउनु हुन्छ । उहाँका अनुसार अस्पतालको इमरजेन्सी वार्डमा आउने कुल विरामी मध्ये झण्डै ७० प्रतिशत भईरल ज्वरोकै विरामीहरु रहेका छन् ।

बालबालिका र बृद्धबृद्धमा यसको सङक्रमण बढी देखिएको छ । “धेरै त सामन्य उपचार पछि घर फर्किन्छन । गम्भीर अवस्थाको विरामीलाई मात्र भर्ना गरेर उपचार गर्छौ । केही दिन देखि दैनिक एक सय भन्दा बढी नै केसहरु भाईरल ज्वरोका आईरहेका छन्”– सिनियर अहेब तिमसिनाले भन्नुभयो । उहाँका अनुसार सामन्य अवस्थामा भाईरल ज्वरोका विरामीहरु दैनिक २०/२५ जना हुने गर्दछन् । १५ बेडको इमरजेन्सी वार्डमा ठाउँ नपुगेर सबै बेडमा दुई जनाको दरले विरामी राखेर उपचार गराउने काम भईरहको छ ।

अस्पतालको इमरजेन्सी वार्ड बाहेक ओपीडीमा आउने भाईरल विरामीको सख्या पनि उत्तिकै रहेको छ । दिउँसो आउने विरामीहरु प्रयाजसो ओपीडीमा चेकजाँच गराएर घर फर्कने गरेको कोशी अस्पतालका बरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. लक्ष्मीनारायण यादव बताउनुहुन्छ । उहाँका अनुसार भाईरल इनफेक्सन भई निमोनिया भएर अस्पताल आउने सख्या पनि बढेदै गएको छ ।

विराटनगर स्थित नोबेल मेडिकल टिचिङ हस्पिटलमा पनि भाईरल ज्वरोका विरामीको चाप बढेको छ । उक्त हस्पिटलको इमरजेन्सी वार्ड प्रमुम डा. अमित अग्रहरीका अनुसार दैनिक २५ जना भन्दा बढी भईरल ज्वरोका विरामीहरु अस्पताल आईरहका छन् । ओपीडीमा चेकजाँग गराएर घर फर्कनेहरुको सख्या त्यो भन्दा दोब्बर हुन सक्ने उहाँले बताउनुभयो । भईरल ज्वरो बाहेक उक्त अस्पतालमा डेङगुको विरामीहरु पनि दैनिक पाँच/सात जनाको सख्यामा आईरहेका छन् ।

यी दुई ठूला अस्पताल बाहेक अन्य निजी अस्पताल र ग्रमिण क्षेत्रका स्वास्थ्य चौकीहरुमा पनि भाईरल ज्वरोका विरामीको चाप बढेको छ । ग्रामिण क्षेत्र स्वास्थ्य चौकीहरुमा भईरल ज्वरोका केसहरु अत्यधिक बढेको जनस्वास्थ्य कार्याल मोरङका प्रमुख ज्ञान बहादुर बस्नेतले बताउनुभयो । त्यस्तै सुनसरीको स्वास्थ्य संस्थामा पनि भाइरल ज्वरोको बिरामीको सख्या बढेको छ । लगातार वर्षा र बाढी रोकिएर एक सता यता अत्यधिक गर्मी बढेकाले बिरामीको संख्या पनि बढेको इनरुवा अस्पतालले जनाएको छ ।

केही दिनयता जिल्ला अस्पताल इनरुवामा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको अस्तपालका इर्मेजेन्सी शाखा ईन्चार्ज गुणानन्द झाले जानकारी दिनुभयो । अहिले जिल्ला अस्पताल इनरुवामा दैनिक ८० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

अन्य समयमा २० देखि ३० जनासम्म बिरामी आउने अस्पतालमा विगत एक सातादेखि अस्पताल आउने बिरामीको संख्यामा तेब्बरले वृद्धि भएको छ । अस्पताल आउने बिरामीमध्ये अधिकाँश भाइरल ज्वरोका बिरामी रहेका छन् । स्वास्थ्य कार्यालय अनुसार भाइरल ज्वरोको प्रकोप बढी मात्रामा महिला र बालबालिकामा देखिएको छ । बालबालिकासँगै एकै घरबाट चार पाँच जना बिरामी उपचारका लागि अस्पताल आउने गरेको जिल्ला अस्पतालले जनाएको छ । वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको छ ।

दूषित पानी , चर्को घाम , अत्याधिक गर्मी र प्रदूषित हावाहुरीका कारण भाइरल ज्वरोको प्रकोप बढेको हुनसक्ने अस्पतालका झाले जानकारी दिनुभयो । यसबाट बच्न दूषित खानेपानी प्रयोग नगर्न र कुनै कारणवस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन झाको सुझाव छ ।

२५ श्ययाको क्षमता रहेको अस्पतालमा अहिले वैकल्पिक श्ययाको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ । गाउँ÷गाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन निर्देशन दिइको छ । जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमासमेत भाइरल ज्वरोका बिरामीको संख्या बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

बर्षापछि बढेको गर्मीसँँगैै भाईरल ज्वरोको प्रकोप सुरु भएपछि उदयपुरका सरकारी तथा निजी अस्पतालहरुमा विरामीहरुको चाप बढेर गएको छ । जिल्ला अस्पताल उदयपुरमा एक सातादेखि विरामीको चाप अत्यधिक बढेको निमित्त मेडिकल सुपरिटेन्डेन चन्दन गुप्ताले बताउनुभयो । भाईरल ज्वरोको उपचारको लागि दैनिक एक सयको हाराहारीमा विरामीहरु अस्पताल आउँने गरेको र ठूलो संख्यामा एकैपटक बिरामीहरु आउदा अस्पतालका शैयाहरु विरामीले पुरै भरिएको र करार सेवाका मात्र चिकित्सकहरुले उपचार गर्नुपर्दा सारै कठिन भएको निमित्त मेडिकल सुपरिटेन्डेन गुप्ताले बताउनुभयो ।

उहाँका अनुसार केही दिन अघिको वर्षात पछि जिल्लामा भाईरल ज्वरोको विरामी देखा पर्न थालेको हो भन्दै गत वर्ष यति धेरै विरामी देखिएको थिएन् । तर अहिले अस्पताल आउँने विरामी मध्ये ८० प्रतिशत जति भाईरल ज्वरोको विरामी रहेका र त्यसमध्ये पनि विशेषगरी महिला,केटाकटी र बुढाबुढीहरु बढिमात्रामा सो ज्वरोबाट प्रभाबित रहेकाछन। भाईरल ज्वरोसँगै टाईफाईड र झाडापखालाका बिरामीहरुकको समेत चाप बढ्दै गएको छ ।

सरकारी अस्पताल बाहेक निजी अस्पताल र स्वास्थ्य केन्द्रहरुमा समेत भाईरल ज्वरोका बिरामीहरु त्यतिकै संख्यामा उपचार गर्न आउने गरेकाछन् । स्वेता मेडिकल गाईघाटका स्वास्थ्यकर्मि खुशीलाल ठाकुरले भन्नुभयो–“ दैनिक ४० देखिट ६० जनासम्म भाईरल ज्वरो र टाईफाईडका बिरामीहरु आप्mनो किल्निकमा उपचार गर्न आउने गरेकाछन ।” सदरमुकाम बाहेकका प्राथमिक स्वास्थ्य केन्द्र र उपस्वास्थ्य चौकीहरुमा समेत भाईरल ज्वरोका बिरामीहरुको चाप बढेको छ । “यस पटक भाईरल ज्वरोका बिरामीको संख्या धेरै नैै बढेर गएको छ” – ठाकुरले भन्नुभयो ।

भाईरलकै प्रकोपका कारण जिल्ला कारागार उदयपुरमा पनि आइतबारदेखि ठूलो संख्यामा कैदीबन्दी विरामी परेकाछन् । एक सय ७३ कैदीबन्दी रहेको कारागारमा एक सय २० जना विरामी परेकाको कारागार प्रमुख कुमार खड्काले बताउनुभयो । कारागार प्रमुखका खड्काका अनुसार कैदीबन्दीहरुमा भाइरल ज्वलो र पखाला देखिएको हो । एकैसाथ धेरै कैदीबन्दीमायसप्रकारको विमार देखिएपछि प्रमुख जिल्ला अधिकारी सहितको पहलमा जिल्ला अस्पताल उदयपुरबाट चिकित्सकको टोली झिकाई स्वस्थ्य जाँच तथा उपचार गरिएको थियो ।

गर्मी बढेपछि केही दिन यता झापाका अस्पतालहरुमा पनि भाइरलका विरामीहरुको चाप बढेको छ । झापाको दमकस्थित सरकारी अस्पताल दमक अस्पतालमा दैनिक २५ देखि ३० जनासम्म भाइरलका बिरामीहरु उपचारका लागि आउने गरेको र यसमा आधाजसो बालबालिका रहेको अस्पतालका सूचना अधिकारी नगेन्द्र भट्टराइले बताउनु भएको छ ।
ज्वरो, रुघाखोकी, निमोनिया, टाइफाइड लगायतका बिरामीहरु बढीमात्रामा उपचारका लागि आउने गरेको भट्टराइको भनाइ रहेको छ । गर्मीसँगै यस प्रकारका बिरामीहरुको संख्या बढ्ने गरेको उहाँले जनाउनु भयो । स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु यो अस्पताल भएकाले पनि विरामीको चाप पछिल्लो समय बढेको बताइन्छ ।

यसैगरी मेची अञ्चल अस्पताल भद्रपुरमा पनि दैनिक ७० देखि ८० जनासम्म भाइरलका बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पीताम्बर ठाकु्रले बताउनु भयो । दुइहप्ता अघि यो भन्दा बढि बिरामी आउने गरेपनि अहिले पहिलाभन्दा केहि कम भाइरलका बिरामीको चाप रहेको उहाँको भनाई छ । यसमा आधा जसो बालबालिकाहरु रहने गरेको पनि उहाँले जनाउनु भयो ।
दमकको आम्दा अस्पताल, लाइफलाइन अस्पताल, एडभान्स अस्पतालमा पनि भाइरलका बिरामीहरुको चाप रहेको छ । लाइफलाइन अस्पतालका प्रशासन सिम्रिक गिरीका अनुसार गर्र्मीका कारण विरामीहरुको चाप बढेको छ ।

विशेष गरेर लगातार सिजन परिवर्तन हुने बेलामा भाईरलको समस्या बढी हुने चिकित्सकहरु बताउँछन् । बर्षा हुने, तु्रुन्तै गर्मी हुने र हावा चल्ने जस्ता मौसमका कारणले सिजनल भाईरल बढी हुने विराटनगर स्थित कोशी अञ्चल अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा लक्ष्मीनारायण यादब बताउनु हुन्छ । “यस्तो अबस्थामा रुघाखोकी लाग्ने र ज्वरो आउने जस्ता स्वास्थ्य समस्याहरु देखापर्छन । यही बेला स्वाइनफ्ल्यू , वर्डफ्ल्यू र डेङ्गु सङक्रमण पनि आउने गर्दछ ।

यस्तो अबस्थामा देखा पर्ने डेङ्गु बाहेक सबै रोगको सङक्रमण श्वासप्रस्वासको माध्यमबाट एक अर्कामा सर्ने हुनाले त्यसबाट बच्न मास्क लगाएर हिड्नु पर्छ” – बरिष्ठ फिजिसियन यादबले भन्नुभयो । यस्तो बेलामा डयरीयाको समस्या पनि देखा पर्ने उहाँले बताउनुभयो । र्मौसममा हुने छिट छिटो परिवर्तनले इनफेन्जाको लागि अनुकुल बातावरण तयार भएको हुनाले यस्तो मौसममा खानपीनको कुरामा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३