प्रकाशित : २० श्रावण २०७६, सोमबार १९:१९


विराटनगर, २० साउन । मोरङमा सञ्चालनमा रहेका एम्बुलेन्समाथि प्रहरीले विशेष ढंगबाट निगरानी बढाउन थालेको छ । विशेष परिस्थितिमा चलाउनु पर्ने एम्बुलेन्समा चालकको लापरबाही बढेको पाइएपछि कडाई गर्न थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताउनु भयो ।
उहाँका अनुसार प्राय एम्बुलेन्सका चालकले मादक पदार्थ सेवन (मापसे) गर्ने गरेको गुनासो बढी आएको छ । मापसे गरेका चालकले एम्बुलेन्स चलाउने गरेको गुनासो आएसँगै प्रहरीले गत शनिबारराति गरेको आकस्मिक चेकजाँचका क्रममा विराटनगरमा दुईवटा एम्बुलेन्सका चालकले मापसे गरेको पाइएको थियो ।
नोबेल शिक्षण अस्पतालमा बिरामी पुर्याएर फर्किएका को २ च ३१२१ नम्बरको एम्बुलेन्सका चालक मोरङको सुनवर्सी नगरपालिका–६ का ३५ वर्षीय पूर्ण तामाङ र को १ च ४०७१ नम्बरको एम्बुलेन्सका चालक विराटनगर महानगरपालिका–५ का २७ वर्षीय मुकेश चौहानले मापसे गरेको भेटिएको हो ।
प्रहरीले दुवै चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । दुवै जना विरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी खिउजुले बताउनु भयो ।
बिरामीलाई अस्पतालमा पुर्याएर समयमै उपचार पाउने व्यवस्था मिलाउन मद्धत गर्नु पर्ने एम्बुलेन्स जस्तो संवेदनशील साधन मापसे गरेर चालकले कुदाउने गरेको पाइएपछि कडाई गर्न थालिएको उहाँको भनाइ छ ।
खिउजुले कुनै पनि चालकले मापसे गरेर एम्बुलेन्स चलाएको पाइएमा तत्काल नियन्त्रणमा लिएर मुद्दा चलाइने जानकारी दिनु भयो । मोरङमा एक सय ३८ वटा एम्बुलेन्स दर्ता भएर सञ्चालनमा रहेको रेकर्ड जिल्ला स्वास्थ्य कार्यालय मोरङसँग छ ।
स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले चालकले मापसे गरेर एम्बुलेन्स चलाउनु ठूलो गल्ती र लापरबाही भएको बताउनु भयो ।