प्रकाशित : १९ श्रावण २०७६, आईतवार १८:५९

विराटनगर, १९ साउन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका एक नेता आज सत्तारुढ नेकपामा प्रवेश गर्नु भएको छ । विप्लव’ समूहको जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं सगरमाथा व्युरो संयोजक एकराज घिमिरे ‘विप्लव’ समूह परित्याग गर्दै विराटनगरमा आयोजित एक कार्यक्रममार्फत नेकपा प्रवेश गर्नु भएको हो ।

उहाँलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेकपाका प्रदेश १ अध्यक्ष देवराज घिमिरेले खादा र अविर लगाएर स्वागत गर्नु भयो ।

घिमिरेले मुख्यमन्त्री राईकै पहलमा आफू नेकपा प्रवेश एवं ‘विप्लव’ समूह परित्याग गर्न सहमत भएको र साहित्यिक एवं सांस्कृति आन्दोलनमार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्ने बतानु भयो ।

पछिल्लो समय ‘विप्लव’ प्रति सबैको वितृष्णा बढेर गएको घिमिरेको भनाइ छ । भोजपुर घटनामा ‘विप्लव’ समूह र प्रहरी दुवैतर्फ क्षति भएपछि भने झन जनतामा वितृष्णा बढेर गएको उहाँले बताउनु भयो । नेपाली जनताको सपना बन्दुक बोकेर पूरा गर्न नसकिने भन्दै घिमिरेले ‘विप्लव’ समूहको पछिल्लो गतिविधी जनविरोधी रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले नेपाली राजनीतिको राजमार्गमा हिंड्ने बेलामा ‘विप्लव’ समूह गल्ली र गोरेटोमा अलमलिएको बताउनु भयो । मुलुकलाई समृद्ध बनाउन सबै पक्ष एकजुट भएर काहीं पनि अलमल नगरिकन लागेको अवस्थामा ‘विप्लव’ समूहले पनि शान्तिपूर्ण बाटो रोज्नु उत्तम हुने उहाँको भनाइ छ ।

हत्या, हिंसा, गोला र बमबारुद त्यागेर शान्तिपूर्ण अवतरण गर्न बाध्य हुनै पर्ने बताउँदै राईले मुलुकको समृद्धिको लक्ष्य तय भइसकेका कारण अहिलेदेखि नै त्यसमा सहयोग गर्न ‘विप्लव’ समूहलाई आग्रह पनि गर्नु भयो ।

‘वार्तामा आउने र शान्तिपूर्ण अवतरण गर्ने वातावरण बनेको छैन भने हामी बनाउने छौं,’ उहाँले भन्नु भयो, ‘सबै मिलेर राष्ट्र निर्माणको महाअभियानमा जुट्नुु पर्छ ।’

नेकपा मोरङका इन्चार्ज घनेन्द्र बस्नेतले ‘विप्लव’ समूहसँग नेकपामा समाहित हुनुको विकल्प नभएको बताउनु भयो । नेकपाका प्रदेश १ अध्यक्ष देवराज घिमिरेले ‘विप्लव’ समूहलाई शान्तिपूर्ण वार्तामा आएर समृद्ध मुलुक निर्माणको अभियानमा जुट्न आह्वान गर्नु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३