प्रकाशित : १६ श्रावण २०७६, बिहीबार १८:५५

विराटनगर, १६ साउन । बाढीबाट हुने मानविय क्षति नियन्त्रणका लागि प्रदेश १ को तराई क्षेत्रका विभिन्न खोला र नदी आसपासमा प्रहरीले उच्च सर्तकता अपनाउन थालेको हो ।

बाढीले बढी मात्रामा मानविय तथा भौतिक क्षति पुर्याउने भएका कारण तराई क्षेत्रका खोला तथा नदी आसपासका विभिन्न प्रहरी युनिटमा पौडी खेल्न जान्ने दक्ष प्रहरी लगेर राखिएको छ ।

प्रदेशका १४ वटै जिल्लाका विभिन्न प्रहरी युनिटमा कार्यरत पौडी खेल्न जान्ने प्रहरीलाई तराईका बढी बाढी आउने खोला र नदी आसपासका युनिटमा लगेर राखिएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले बताउनु भयो ।

पौडी खेल्न जान्ने प्रहरीलाई खोला आसपासमा खटाएर निगरानी गर्न लगाउँदा खोलाले बगाएर ल्याएका कोही मानिसलाई जीवितै उद्धार गर्न सक्ने उहाँले बताउनु भयो । त्यस्ता प्रहरीले कुनै ठाउँमा आएको बाढीले मानिस बगाएर वा डुबाएर बाढीबाट बाहिर निस्कन सक्ने अवस्था नभएर ज्यान जान सक्ने जोखिममा परेकाहरुलाई पौडी खेल्दै गएर जीवितै उद्धारको प्रयास गर्ने उहाँले बताउनु भयो ।

ज्ञवालीका अनुसार पौडी खेल्न जान्ने प्रदेश भरीमा कार्यरत दुई सय ६० जना पौडीबाज प्रहरीको पहिचान गरेर उनीहरुलाई खोला नदी आसपासका युनिटमा खटाइएको छ । पौडी खेल्न जान्नेमा ३० महिला प्रहरी छन् ।

उनीहरुलाई उद्धारका लागि आवश्यक पर्ने सामग्रीसहित तयारी अवस्थामा राखिएको छ । झापामा रहेका मेची, विरिङ, अदुवा, मावा तथा मोरङमा रहेका नुनसरी, बक्राहा, खदम, चिसाङ, गछिया, डाँस, केसलिया, सुनसरीको बुढी खोला तथा सप्तकोसी नदी आसपासका प्रहरी युनिटमा पौडी खेल्न जान्ने प्रहरी राखिएको हो ।

असार २६ यता मात्रै विभिन्न खोलामा आएको बाढी तथा विभिन्न ठाउँमा गएको पहिरोमा परेर ३७ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर १४ जना बेपत्ता छन् भने २४ जना घाइते भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३