प्रकाशित : १४ श्रावण २०७६, मंगलवार १७:४९


विराटनगर, १४ साउन । मोरङको बेलबारी नगरपालिकाले आधुनिक खेतिमा कृषकलाई आकर्षण गर्नका लागि कृषि यन्त्रीकरणका सामग्री वितरण गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरेर सामग्री वितरण गरिएको हो । जोत्नका लागि पावर तथा मिनि टिलिर, मकै छोडाउने औजार (मेज थ्रेसर) सिँचाइका लागि मोटर तथा पाइप वितरण गरेको नगरपालिकाले जनाएको छ ।
४ वटा पावर टिलर , ५ वटा मिनि टिलर, ११ वटा मकै छोडाउने मेज थ्रेसर र १६ वटा खेतबारी सिँचाई गर्ने मोटर तथा पाइप वितरण गरिएको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताउनु भयो । उक्त सामग्रीहरु नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली, प्रवक्ता सुवेदी लगायतले हस्तान्तरण गर्नु भयो । परम्परागत खेतिलाई आधुनिकिरण गर्ने लक्ष्यका साथ औजार वितरण गरिएको उपमेयर पराजुलीले बताउनु भयो । वर्षौदेखि परम्परागत खेति गर्दै आएका किसानहरु आधुनिक मेसिन पाउँदा खुसि भएका छन् ।
१८ लाख ७२ हजार ५ सय ९६ रुपैयाँ बराबरको सामग्री कृषकलाई हस्तान्तरण गरिएको प्रवक्ता सुवेदीले बताउनु भयो ।