प्रकाशित : १४ श्रावण २०७६, मंगलवार १७:४६

विराटनगर, १४ साउन । दरबलसहित जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका बाबुले जवरजस्ती तानेर लैजान खोज्दा आज ६ वर्षीय बालिका घाइते भएकी छन् ।

पत्नीसँगको दाम्पत्य जीवनमा दरार उत्पन्न भएपछि विराटनगर महानगरपालिका–६ ब्रह्मपुराका किसन कामतले आफ्नी ६ वर्षीय छोरीलाई परिवारका सदस्य र गाउँलेको प्रयोग गर्दै प्रहरी कार्यालयको गेटबाटै लैजाने प्रयास गरेका हुन् । सधैं कुटपिट गर्ने र यातना दिने भन्दै पत्नी सुशीला मण्डल कामत उनीसँग बस्न नमानेपछि यो विषयमा आज जिल्ला प्रहरी कार्यालयमा छलफल थियो । किसनले कुटपिट गरेका निलडाम र चोट समेत सुशीलाका हात तथा शरीरका विभिन्न भागमा छन् ।

छलफलमा दुवै जना अलग्गै बस्ने र अदालतबाट कानुनी प्रक्रिया पूरा गर्ने सहमति भएको थियो । विराटनगर–६ रामपुर माइती भएकी सुशीला र किसनबीच ८ वर्ष अघि प्रेम विवाह भएको थियो । छलफल सकेर छोरीलाई हातमा समाउँदै सुशीला गेटमा आइपुगेपछि भने घटनाले अर्कै मोड लियो । किसनको पक्षमा प्रहरी कार्यालयमा पुगेको एउटा ठूलो भीडले पत्नी नबसेपछि छोरी किसनले राख्न पाउनु पर्ने भन्दै ६ वर्षीय नाबालिका छोरीलाई तान्न थाल्यो । यो घटना जिल्ला प्रहरीको सीसी क्यामेरा फुटेजमा पनि कैद छ ।

सुशीला र किसन पक्षबीच तानातान हुँदा नाबालिक घाइते भएकी छन् । उनको देव्रे हातको नाडी खुस्किएको प्रहरीले जनाएको छ । गेटमा परिचालित प्रहरीले घटना छुट्याएपछि लगत्तै शरण माग्दै सुशीला भने छोरी च्यापेर डाँको छाडेर रुँदै प्रहरी कार्यालय भित्रै पस्नु भयो । आत्तिएर र डराएर कोहीसँग पनि बोल्न नसक्ने अवस्थामा नाबालिका पुगेकी छन् ।

घटना लगत्तै प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना रहेको भन्दै किसन र उनको साथमा आएकाहरु त्यहाँबाट फरार भएका थिए । सुशीलाले नाबालिका छोरीलाई जवरजस्ती तानेर हात खुस्काइदिएको भन्दै पति किसन, आमा रेखा, हजुरआमा धनेश्वरीसहित घटनामा संलग्न विरुद्ध आजै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनु भएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले नाबालक हुनजेल आमासँग बस्न पाउने भएका कारण बाल अधिकार हनन् गर्ने गरी तानेर नाबालिकालाई घाइते बनाएको विषयमा अनुसन्धान सुरु गरिएको बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३