प्रकाशित : १० श्रावण २०७६, शुक्रबार १७:३६

विराटनगर, १० साउन । दुर्घटनापछि तनावग्रस्त बनेको विराटनगर महानगरपालिका–१५ रानी क्षेत्रको अवस्था सामान्य बनेको छ । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–१५ का २२ वर्षीय अमर सिंहको हिजो साँझ घटनास्थलमै मृत्यु भएको विरोधमा स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेपछि अवस्था असामान्य बनेको थियो ।

कर्कटपाता बनाउने कच्चा पदार्थ बोकेको एन एल ०१ डी ३६९० नम्बरको लरीलाई ओभरटेक गर्ने क्रममा बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

घटनाको विरोधमा सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दाले भारत तथा तेस्रो मुलुकबाट आयात भएका मालसामान लोड गरेर आएका २२ वटा मालबहाक सवारी साधन तोडफोड समेत गरेका थिए । तोडफोडबाट भारतबाट औद्योगिक कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थ (इन्धन) लोड गरेर आएका गाडी र ट्यांकरहरुमा क्षति पुगेको थियो ।

तोडफोड गरिएका मध्ये आठवटा नेपाली नम्बर प्लेटका पेट्रोलियम ट्यांकर र १४ वटा भारतीय नम्बर प्लेटका सवारी साधन छन् । घटनाले उग्ररुप लिएपछि मृतक पक्षसँग स्थानीय प्रशासनका तर्फबाट आज मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी लगायतले शुक्रबार वार्ता गर्नु भएको थियो ।

वार्तामा दुर्घटनापछि फरार रहेका लरी चालकको खोजी व्यापक बनाउने, कारबाही गर्ने, कानुन अनुसार मृतकका परिवारलाई क्षतिपूर्ति दिने तथा मृतकका पक्षबाट सुरु भएको आन्दोलन फिर्ता गर्ने सहमति भएको छ ।

सहमतिसँगै मृतकका परिवारले कोसी अस्पतालमा पोस्टमार्टम गरेपछि शव बुझेर आज दाहसंस्कार गरेका छन् । मोरङ प्रहरी प्रमुख एसपी अधिकारीले सहमतिपछि आन्दोलनपछि विराटनगर भन्सार कार्यालय आसपासमा भएको सबै खाले अवरोध हटेको र स्थानीय बासिन्दाले आन्दोलन फिर्ता लिएको जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३