प्रकाशित : १० श्रावण २०७६, शुक्रबार १७:३४

विराटनगर, १० साउन । मोरङको केराबारीबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको मेची–कोसी ब्युरो सदस्य एवं धनकुटा–मोरङ सेक्रेटरी ४५ वर्षीय दीपक राई विरुद्ध संगठित अपराध एवं हातहतियार खरखजना मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

मोरङ प्रहरीले केराबारी गाउँपालिका–३ घर भएका राईलाई हिजै धरान प्रहरीको जिम्मा लगाएको थियो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले यस अघि नै दर्ता भएको संगठित अपराध एवं हातहतियार खरखजना मुद्दामा म्याद थप गरेर राईमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिनु भयो ।

पाँच महिना अघि नै अत्याधुनिक हतियारसहित धरानको पानबारीमा फेला परेका राई त्यतिबेला भने भाग्न सफल भएका थिए । नेकपाका कोसी ब्युरो सदस्य देवकुमार लिम्बू अत्याधुनिक हतियार र मे ५ प ७५ नम्बरको मोटरसाइकलसहित २०७५ साल फागुन १५ गते पक्राउ परेका थिए । सवारी चेकजाँचमा खटिएका ट्राफिक प्रहरी जवान राजकुमार गौतम र प्रहरी जवान सोनाम लामाले सिट्ठीको भरमा लखेट्दै लगेर लिम्बूलाई पक्राउ गरे पनि राई भने फरार भएका थिए ।

त्यतिबेला नेपाली सेनाले द्धन्द्धकालमा अमेरिकाबाट खरिद गरेर ल्याएको र नेपालमा सेनाले मात्रै प्रयोग गर्ने अत्याधुनिक हतियार एलएमजी एक थान र एम १६ एकथान बरामद भएको थियो । त्यसपछि राईलाई प्रहरीले खोजी गरिरहेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बम विष्फोट, चन्दा आतंक, हतियार ओसारपसार तथा संकलन लगायतका धेरै घटनामा राईको संलग्नता रहेका कारण प्रहरीले विशेष ढंगबाट अनुसन्धान गर्ने बताउनु भयो ।

यसैबीच ‘विप्लव’ नेत्रृत्वको नेकपाले दीपक राईलाई पक्राउ गरिएको घटनाको विरोध जनाएको छ । उनी सांगठनिक कामको सिलसिलामा रहेका बेला पक्राउ परेको नेकपाको मेची–कोसी ब्युरो इन्चार्ज अनुद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न तथा जनतालाई तर्साउन आफ्ना नेता कार्यकर्ता पक्राउ गर्ने काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता घटनाबाट विचलित भन्दा पनि थप स्पातिलो बनेर निस्कने नेकपाको दाबी छ । विज्ञप्तिमार्फत पक्राउ परेका सबै नेता कार्यकर्ताको यथाशिघ्र रिहाईको माग पनि गरिएको छ । अन्यथा योजनावद्ध प्रतिरोध गरिने र यसले निम्त्याउने समस्या र परिणामप्रति सरकार नै जिम्मेवार हुनु पर्ने विज्ञप्तिमा भनिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३