प्रकाशित : ८ श्रावण २०७६, बुधबार १९:२६

विराटनगर, ८ साउन । विराटनगरमा डिजेल लोड भएको एउटा ट्यांकरमा आज लागुऔषध फेला परेको छ । भारतको बरौनी डिपोबाट २० हजार लिटर डिजेल लोड गरेर आएको ना ४ ख ६६५० नम्बरको ट्यांकरमा लागुऔषध भेटिएको हो ।

प्रहरीले विराटनगर महानगरपालिका–४ पिपल चोकबाट सह–चालक भारतको अररिया बथनाहा अमुनाका १९ वर्षीय मोहम्मद राजु र ट्यांकरलाई नियन्त्रणमा लिएको छ । चालक भारतको अररिया बथनाहास्थित सोनापुरका अन्दाजी ३२ वर्षीय मोहम्मद सफिक फरार छन् । कोसी राजमार्गमा नो पार्किङ लेखिएको ठाउँमा पार्किङ गरेर राखिएको ट्यांकरलाई मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेल नेत्रृत्वको टोलीले नियन्त्रणमा लिने क्रममा त्यस भित्र लागुऔषध रहेको पत्ता लागेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले ट्यांकरबाट चार बोतल कोडिन नामक लागुऔषध फेला परेको बताउनु भयो । उहाँले लागुऔषधको तीनवटा खाली बोतल पनि भेटिएको जानकारी दिनु भयो । ट्यांकरमा चालक बस्ने नजिकै रहेको बक्सा भित्र प्लाष्टिकमा प्याक गरेर राखेको अवस्थामा लागुऔषध फेला परेको हो ।

एसपी अधिकारीले नियन्त्रणमा लिइएको ट्यांकर र पक्राउ परेका सह–चालकका बारेमा अनुसन्धान भइरहेको र फरार रहेका चालकको खोजी तीव्र पारिएको बताउनु भयो । उहाँका अनुसार ट्यांकरका चालक र सह–चालक दुवै जना लागुऔषध सेवनकर्ता भएको खुलेको छ । लागुऔषध जोगवनीबाट ल्याएको भए पनि सेवन वा बिक्री कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालिएको जनाएको छ ।

पक्राउ परेको ट्यांकर विराटनगरका अब्दुल मन्नानको हो । ट्यांकरमा लागुऔषध फेला परेको स्थान र आयल निगमको प्रदेश १ कार्यालयको विराटनगरस्थित डिपोको दूरी लगभग डेढ किलोमिटर मात्रै छ । बरौनी डिपोबाट जोगवनी नाका हुँदै नेपाल भित्रने पेट्रोलियम ट्यांकरमा पहिलो पटक लागुऔषध फेला परेको प्रहरीले बताएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३