प्रकाशित : ६ श्रावण २०७६, सोमबार १८:५२

विराटनगर ६ साउन । प्रदेश १ मा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर तीन सय ७३ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा एक हजार एक सय सवारी दुर्घटनामा नौ सय ३४ जना घाइते भएका छन् । मृत्यु हुने संख्या आर्थिक वर्ष २०७४÷०७५ को भन्दा ५१ ले कम हो ।

सडक दुर्घटनामा २०७४/०७५ मा १२ सय दुर्घटनामा चार सय २४ जनाको मृत्यु भएको थियो । केही वर्ष यताको ट्राफिक प्रहरीको तथ्याँकले सडक दुर्घटनामा मानविय क्षति कम हुँदै गएको देखाएको छ । सबै भन्दा बढी दुर्घटनामा पर्ने र मानविय क्षति बढी हुने सवारी साधनमा मोटरसाइकल छन् । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भीम दाहालले दुर्घटना र त्यसबाट हुने मानविय क्षतिको दरमा १२ दशमलव ५ प्रतिशतले कम हुँदै गएको जानकारी दिए ।

विभिन्न खाले जनचेतनामुलक कार्यक्रम र ट्राफिक सक्रियता तथा कारबाहीले दुर्घटना र मानविय क्षति न्यूनीकरण हुँदै गएको उनको भनाइ छ । प्रदेशमा दैनिक ६० वटा जति विभिन्न खाले ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमहरु हुने गरेको दाहालले बताए । उनका अनुसार विद्यार्थी लक्षित स्कुल कार्यक्रम, सडकमै र कक्षा नै लिएर चालकलाई दिइने प्रशिक्षण, स्थानीय तथा प्रदेश सरकार र विभिन्न संघ संस्थासँगको समन्वय तथा ट्राफिक प्रहरी आफैले ट्राफिक नियम पालनाका सवालमा गर्ने जनचेतनामुलक कार्यक्रम गर्ने गरिएको छ ।

ट्राफिक प्रहरीले २०७५/०७६ मा नियम उल्लंघन वापत गरेको कारबाहीबाट १६ करोड ७५ लाख ९८ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ । प्रदेशका १४ वटा जिल्लामा एक वर्षमा मापसे (मादक पदार्थ सेवन) गरेर सवारी साधन चलाउने नौ हजार आठ सय ८४ चालक कारबाहीमा परका छन् । मापसे कारबाहीबाट ९८ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । क्षमता भन्दा बढी यात्रु बोक्ने २१ हजार नौ सय ५२ वटा सवारी साधनलाई कारबाही गर्दा एक करोड ४५ लाख २० हजार पाँच सय रुपैयाँ असुली भएको छ ।

सिट बेल्ट नलगाउने नौ हजार तीन सय ४१ सवारी चालकलाई कारबाही गर्दा ४६ लाख ९६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । गलत साइट प्रयोग गर्ने १५ हजार एक सय ३५ सवारी साधन कारबाहीमा पर्दा ८५ हजार ६४ लाख पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ ।

लापरबाहीपूर्ण तरिकाले कुदाउने ५५ हजार सात सय ७५ सवारी साधनबाट तीन करोड २१ लाख ६१ हजार तथा तीव्र गतिमा कुदाइएका तीन हजार आठ सय ५५ सवारी साधनलाई कारबाही गर्दा १९ लाख २७ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३