प्रकाशित : ६ श्रावण २०७६, सोमबार १७:३७

विराटनगर, ६ साउन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीको पछिल्लो गतिविधी र काम कारबाहीप्रति प्रदेश सरकार पूर्ण रुपमा असन्तुष्ट रहेको बताउनु भएको छ ।

प्रदेशको वन मन्त्रालय अन्तर्गतका डिभिजन वन कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका सडक, सिँचाई, खानेपानी र यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुसँग मुख्यमन्त्री असन्तुष्ट देखिनु भएको हो । आफ्नै निर्देशनमा यी कार्यालयका प्रमुखहरुलाई विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएरै आज राईले विशेष निर्देशन दिनु भयो । यसलाई कर्मचारीप्रति मुख्यमन्त्री राई आक्रामक रुपमा प्रस्तुत भएर कठोर बन्न थालेको रुपमा लिइएको छ ।

कर्मचारी कमिसन माग्ने, भ्रष्टाचार गर्ने, घुस खाने र जनताको काममा ढिलासुस्ती गर्ने जस्ता गतिविधी र विवादमा मुछिने गरेको भन्दै उहाँले आपत्ति जनाउनु भयो । यी सबै गतिविधी समृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको अभियान विरोधी रहेको उहाँको तर्क छ । असार ३० गते सिँचाई डिभिजन विकास कार्यालय भोजपुरका प्रमुख एवं सिनियर डिभिजन ईन्जिनियर मोहनबाबु यादव एक लाख ८० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेको उल्लेख गर्दै मुख्यमन्त्री राईले अरु घटना हुनु नदिन सबै जनालाई एकै ठाउँमा राखेर आकस्मिक रुपमा कुरा गर्नु पर्ने अवस्था बनेको उल्लेख गर्नु भयो ।

कर्मचारीले गर्ने गरेका अनियमितता र भ्रष्टाचार लगायतका विषयमा आफूले थुप्रै सूचना प्राप्त गरको बताउँदै उहाँले भन्नु भयो, ‘प्रदेश सरकार बिना सूचना चुप लागेर बसेको छैन, विशेष सूचनाका आधारमा सबै कुरालाई नजिकबाट नियालिरहेको छ ।’ कमिसन र घुसका नाममा विभिन्न सेटिङ मिलाउने काम भएको भन्दै राईले तत्काल यस्ता काम बन्द गर्न र नभए कारबाहीको भागिदार बन्न कार्यालय प्रमुखलाई निर्देशन दिनु भयो ।

घुस र कमिसन लिने तथा भ्रष्टाचार गर्ने काम जसको आडमा भएको भए पनि कारबाही हुने उहाँले बताउनु भयो । राईले घुस, भ्रष्टाचार र कमिसनका नाममा लज्जास्पद तथा घृणित कार्य गरेर प्रदेशकै बद्नाम गर्ने गरिएको भन्दै कर्मचारीप्रति आपत्ति जनाउनु भयो ।

कोही कसैले यस्तो आड दिने गरेमा तत्काल सूचना उपलब्ध गराउन आह्वान गर्दै राईले कार्यालय प्रमुखलाई आफ्नो मोबाइल नम्बर र इमेल आईडी समेत दिनु भएको छ । केही विवादस्पद विषय प्रदेश सरकारको ‘नोटिस’ मा रहेको भन्दै उनले यसमा सूक्ष्म अनुसन्धान गर्ने काम भइरहेको जनाउनु भयो । राईले समाज र जनताको अपेक्षा अनुरुप नैतिकताको जगमा उभिएर काम गर्दै असल नागरिक र राष्ट्र सेवक बन्न कर्मचारीलाई निर्देशन दिनु भयो ।

उहाँले आफू भ्रष्टाचार विरोधी रहेकाले आफ्ना बारेमा कुनै भ्रममा नपर्न पनि निर्देशन दिनु भयो । प्रदेशका मुख्य सचिव सुरेश अधिकारीले प्रदेश सरकार बनेपछि पहिलो पटक आकस्मिक रुपमा कार्यालय प्रमुखलाई बोलाएर बैठक गरिएको जानकारी दिनु भयो ।

उहाँले कर्मचारी घुस र भ्रष्टाचारमा मुछिने क्रम बढेको भन्दै त्यसले सिंगो कर्मचारी प्रशासन र सरकारको छविलाई कमजोर बनाउँदै लगेको बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३