Breaking News

शिक्षकहरुलाई सर्पदंशसम्बन्धी तालिम

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १६:४३

इनरुवा, १ साउन । सर्पदंशको प्रकोप बढिरहेको बेला प्रदेश नं. १ स्तरीय शिक्षा तालिम केन्द्र इनरुवाले शिक्षकहरुलाई तालिम प्याकेजमा सर्पदंश सम्बन्धी नयाँ विषयवस्तु समावेश गरी तालिम दिएको छ ।

साविकका विषयवस्तुहरुलाई निरन्तरता दिइरहे तापनि यस पटक माध्यमिक विद्यालय तहका सामाजिक विषयको तालिम प्याकेजमा सर्पदंश सम्बन्धी विषयवस्तु समेटिएको तालिम प्रमुख राजेन्द्र बुढाथोकीले बताउनुभयो ।

सामाजिक विषयले विविध विषयहरुलाई समेट्ने भएकोले अहिले सर्पदंशको मौसम भएकोले यस विधामा तालिम आवश्यक भएको ठहर गरी विशेषज्ञहरु मार्फत् सचेतना तालिम दिइएको प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

सर्पदंश सम्बन्धी विज्ञ प्रशिक्षकहरु स्नातकोत्तर क्याम्पसका सहप्राध्यापक कुलप्रसाद लिम्बू र उपप्राध्यापक रामचन्द्र अधिकारीले तालिम दिनुभएको थियो । उहाँहरुले सर्पको चिनारी,क्रमविकास,स्वभाव र बासस्थान, विषालु सर्पको पहिचान गर्ने तरिका,सर्पदंशबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायहरु र सर्पदंश भइहालेमा के गर्ने भन्ने विषयसूचीअनुसार प्रशिक्षण दिनुभएको थियो । साथै विभिन्न प्रजातिका विषालु तथा अविषालु जीवित सर्पहरु प्रदर्शनी गर्दै सर्पको आनीबानी,खानपानका बारेमा प्रेम विष्टले जानकारी दिनुभयो ।

१० दिने उक्त पेशागत विकास तालिमको नवौँ दिनमा यस्तो विषय प्रस्तुत गरिँदा सहभागीहरुले खुशी तथा उत्साह व्यक्त गर्नुभयो । सहभागीका तर्फबाट बोल्दै छथर तेह्रथुमका शिक्षक कुलबहादुर बस्नेतले भन्नुभयो सामाजिक विषयका शिक्षकले अनेक विधाको ज्ञान लिनुपर्छ आज सर्पसम्बन्धी विल्कुल फरक ज्ञान पाइयो,भ्रमहरु हटाइयो,यसलाई विद्यार्थी र समाजमा प्रसार गरी लैजाने छौँ ।

नवौँ दिनको कक्षा समापन गर्ने क्रममा प्रशिक्षक कुलप्रसाद लिम्बूले शिक्षक र विद्यार्थीलाई सर्पबारे सिकाउन जरुरी भएको जोड दिँदै यस्ता सचेतनामूलक तालिम चलाउने जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो । तालिम प्रमुख बुढाथोकीले तालिम प्याकेजभित्र विज्ञ प्रशिक्षकहरु झिकाएर नयाँ विषयमा तालिम आयोजना गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले आगामि प्याकेजहरुमा समेत यो विषयलाई नछोडिने भन्दै सिंगो तालिम केन्द्रलाई गुणस्तरीय सुधार गरी लैजाने योजना रहेको बताउनुभयो । प्रदेश नं. १ का छ वटा शैक्षिक तालिम केन्द्रलाई हटाई प्रदेश सरकारले शिक्षा तालिम केन्द्र इनरुवालाई प्रदेश स्तरीय तालिम केन्द्रको रुपमा विकास गरेको हुनाले यसलाई अझै परिस्कृत र गुणस्तरीय बनाइनेछ प्रमुख बुढाथोकीले बताउनुभयो ।

उक्त तालिम कार्यक्रमको सञ्चालन शाखा अधिकृत ढुण्डीराज पौडेलले गर्नुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३