प्रकाशित : ३० असार २०७६, सोमबार १८:४४

विराटनगर ३० असार । प्रदेश १ सरकारले प्रदेशमा असल नागरिक उत्पादन गर्ने उदेश्यसहित मंगलबारबाट कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई समेटेर ‘म अघि बढ्छु’ कार्यक्रम सुरु गर्ने भएको छ ।

‘आजका किशोर किशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समृद्धिको आधार’ भन्ने नारासहित विराटनगरमा कार्यक्रमको शुभारम्भ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेशका १४ वटै जिल्लामा एकै साथ कार्यक्रम सुरु हुने जानकारी गराएको छ ।

प्रदेशको सामाजिक तथा सांस्कृतिक पक्षहरुलाई सुदृढ गर्दै किशोर अवस्थामा प्रवेश गरेका १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सुरु गरिने मन्त्रालयका सचिव भरतमणि रिजालले बताउनुभयो । उहाँका अनुसार यस कार्यक्रमले विद्यार्थीलाई सक्षम, सवल, जिम्मेवार, चरित्रवान, नैतिकवान, सकारात्मक, सुसंस्कृति तथा उत्तरदायी बनाएर क्षमतामूलक समाज निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले खास गरेर किशोर किशोरीहरुलाई कुलत र दुव्र्यसन मुक्त बनाई सकारात्मक र सृजनशिल बनाउने उद्देश्य कार्यक्रमको रहेको बताउनुभयो । प्रत्येक विद्यालयहरुमा ‘सगरमाथा टिन्स क्लब’ गठन गरी त्यसमार्फत इमान्दार, कर्तव्यनिष्ठ र सृजनशिल नागरिक उत्पादन गर्ने र समाजलाई गतिशिल र उन्नत बनाइने उहाँको भनाइ छ ।

प्रदेश १ मा यस कार्यक्रमबाट दुई हजार विद्यालयका दुई लाख विद्यार्थी लाभान्वित हुने अपेक्षा सरकारको छ । सरकारले यस कार्यक्रमलाई आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममै समावेश गरेर बजेट छुट्याएको थियो । यस कार्यक्रमका लागि पहिलो चरणमा २ करोड ५० लाख रुपैयाँ खर्च गर्ने सरकारको तयारी छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३