प्रकाशित : ३० असार २०७६, सोमबार १८:४०


विराटनगर, ३० असार । विराटनगर महानगरपालिका–७ मा रहेको आदर्श विद्यालय मुलुक कै उत्कृष्ट माध्यमिक विद्यालय घोषणा भएको छ । स्वर्गिय कृष्णप्रसाद कोइरालाले १९८६ सालमा स्थापना गर्नुभएको स्कुल स्थानीय क्षेत्रमा मात्र नभएर नेपाल कै उत्कृष्ट माध्यमिक विद्यालयमा परेको हो ।
सर्वोत्कृष्ट विद्यालयलाई विशेष सम्मान गरिएको छ । राष्ट्रिय नाचघर काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच विद्यालयलाई विशेष कदर पत्रसहित सम्मान गरिएको हो ।
गुणस्तरयुक्त र अनुशासित जनशक्ति उत्पादन गर्न अहम भूमिका खेलेको भन्दै कदर स्वरुप विद्यालयलाई नागरिक एकता समाजले उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरिएको जनाएको छ ।
पूर्व उपराष्ट्रपति परमानन्द झाले आदर्श माध्यमिक विद्यालयका प्राचार्य तुलसीप्रसाद दुलाललाई कदरपत्रसहित सम्मान गर्नु भयो । विद्यालयका प्राचार्य दुलालले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समिति लगायत सबैको साझा प्रयासबाट आदर्शले सामुदायिक विद्यालयतर्फ राष्ट्रियस्तरमै प्रतिष्ठा कमाउन सफल भएको बताउनु भयो ।
आदर्श स्कुलमा हाल बाल कक्षादेखि १२ सम्म २ हजार २ सय ६६ जना विद्यार्थी अध्ययनरत छन् । ८९ जना शिक्षक कर्मचारी रहेको दुलालले जानकारी दिनु भयो । विद्यालयमा २०७३ सालदेखि अँग्रेजी माध्ययबाट पढाई हँुदै आएको विद्यालय एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ ।