प्रकाशित : २९ असार २०७६, आईतवार १८:४२

विराटनगर, २९ असार । बाढी र डुबानमा परेर मृत्यु हुनेको परिवारलाई प्रदेश १ सरकारले तत्काल दुई लाख रुपैयाँ दिने भएको छ । प्रदेश सरकारले नियमित विपद कोषमार्फत तत्काललाई राहतस्वरुप रकम दिने निर्णय आजको मन्त्रिपरिषद् बैठकमा भएको हो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले बाढी र डुबानमा घाइते भएकाहरुको निःशुल्क उपचार सरकारले गर्ने जानकारी दिनु भयो । प्रदेश १ मा बाढी र डुबानका कारण जनधनको धेरै क्षति भएपछि प्रदेश मन्त्रिपरिषद्को बैठक आज बोलाइएको थियो ।

अमेरिका भ्रमणमा रहनु भएका मुख्यमन्त्री शेरधन राई विराटनगर आएलगत्तै आकस्मिक बैठक बोलाइएको हो । विपदमा क्षतिको अवस्था र राहतका विषयमा आगामी मन्त्रिपरिषद् बैठकले थप निर्णय लिने मन्त्री कार्कीले बताउनु भयो । उहाँले बाढी र डुबानका कारण अवरुद्ध बाटो खुलाउन र पीडितहरुको उद्धारमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिनु भयो ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई बाढी र डुबानमा परेका मानिसको खोज तथा उद्धारमा परिचालन गरिएको उहाँको भनाइ छ । प्रदेश १ मा बाढी र पहिरोमा परेर हालसम्म २० जनाको मृत्यु भएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोर दाहालका अनुसार सबै भन्दा बढी भोजपुर र ओखलढुंगामा ५/५ जनाको मृत्यु भएको छ । खोटाङमा तीन, उदयपुर र झापामा दुई/दुई, इलाम, पाँचथर र सुनसरीमा एक/एक जनाको मृत्यु भएको एसएसपी दाहालको भनाइ छ । बाढी र पहिरोमा परेर १६ जना घाइते र ९ जना बेपत्ता भएका छन् । बाढी र पहिरोले चार हजार बढी परिवार प्रभावित भएको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३