Breaking News

सेमानन्द मृत्यु प्रकरण : अस्पताल जाने बाटै छेकेर प्रदर्शन

प्रकाशित मिति : २८ असार २०७६, शनिबार १८:४५

विराटनगर २८ असार । कुटपिटबाट विराटनगर महानगरपालिका–१४ का ५७ वर्षीय सेमानन्द यादवको मृत्यु भएको विरोधमा आफन्तले शनिबार पनि प्रदर्शन गरेका छन् ।

कोसी अस्पताल प्रवेश गर्ने मुख्य बाटो नै छेकेर गरिएको प्रदर्शनका कारण उपचारका लागि अस्पतालमा बिरामी लैजान समस्या भएको छ । अस्पताल अगाडिको सडकमा समेत सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाएर आन्दोलन थालिएपछि अवस्था तनावपूर्ण बनेको छ । प्रदर्शनकारीले अस्पताल भित्र पस्न र बाहिर निस्कन पनि रोक लगाएर अवरोध गरेका थिए । उनीहरुले कोसी अस्पताल आसपासमा रहेका निजी क्लिनिक, औषधि पसल र ल्याबहरु समेत बन्द गराए ।

शवको शुक्रबार नै कोसी अस्पतालमा पोस्टमार्टम गरिएको थियो । जनप्रतिनिधि समेतको संलग्नतामा कुटपिट गरिएको लामो समय भए पनि घटनामा संलग्नलाई गरेर कानुनी कारबाही अघि नबढाइएको र शवको पोस्टमार्टम रिपोर्ट आफूहरुलाई हेर्न नदिएको भन्दै परिवारका सदस्य, आफन्त र स्थानीय बासिन्दाले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले शव पनि बुझ्न अस्वीकार गरेका छन् । उनीहरुले शुक्रबार पनि त्यही ठाउँमा प्रदर्शन गरेका थिए ।

घटना अनुसार सेमानन्दले आफने छोरा २२ वर्षीय राजेशको बिहे गर्न भनेर एउटी केटी पक्का गरेका थिए । तर राजेशले केटी अस्वीकार गरे । बिहे नगर्ने भए किन पहिले बिहेको आवश्वासन दिनु भन्दै वडा अध्यक्षसहित केटी पक्षका आफन्तले गत जेठ ३२ गते कुटपिट गरेपछि सेमानन्दको अवस्था गम्भीर बनेको थियो ।

उपचारकै क्रममा उनको बिहीबारराति कोसी अस्पतालमा मृत्यु भएको थियो । अर्का छोरा मुकेशले पोस्टमार्टम रिपोर्ट हेर्न पाउनु पर्ने माग आफूहरुको रहेको बताए ।

उनका अनुसार रिपोर्टमा चलखेल गरेर दोषीलाई जोगाउने प्रपञ्च रचिने भएका कारण तत्काल रिपोर्ट आफूहरुलाई दिन माग गरिएको हो । केटी पक्ष विराटनगर–१४ का वडा अध्यक्ष बलदेव यादवको आफन्त रहेको पाइएको छ । उनकै घरमा लगेर सेमानन्दमाथि कुटपिट गरिएको सालो धिरेन्द्र यादवले बताए । उनले घटना भएको लामो समयसम्म पनि दोषीलाई पक्राउ गर्न प्रहरीले चासो नदिएको गुनासो गरे । ‘पीडितलाई न्याय चाहियो र पीडकलाई कारबाही हुनु पर्यो,’ धिरेन्द्रले भने, ‘माग पूरा नभएसम्म हाम्रो आन्दोलन जारी रहने छ ।’

पीडित परिवारले घटनामा संलग्न रहेको भन्दै विराटनगर–१४ का वडा अध्यक्ष बलदेव यादव, उनका छोरा रविन यादव, विराटनगर–१८ का वडा अध्यक्ष सञ्जय साह, विराटनगर–१८ का भोला यादव, किरानी भनिने दिनेश यादव, विराटनगर–१४ का सम्भु भनिने विजय यादव र दिपेश यादव विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन माग गर्दै किटानी जाहेरी दिएको छ । सबै जना फरार रहेका कारण पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ ।
वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बेदप्रसाद गौतमले अनुसन्धानको मिसिलमा राख्नु पर्ने पोस्टमार्टम रिपोर्ट हेर्न दिन नसकिने बताए । आन्दोलन उग्र बनेपछि अस्पताल आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो । मोरङका अर्का डीएसपी राजकुमार खिउजुले घटनामा संलग्नको खोजी तीव्र पारिए पनि पक्राउ गर्न नसकिएको बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३