प्रकाशित : २४ असार २०७६, मंगलवार १८:५०


विराटनगर २४ असार । वैदेशिक रोजगारीका लागि न्यूजील्याण्ड पठाइदिने भन्दै आफूहरुसँग पैसा लिएर ठगी गरेको भन्दै नौ जना युवाले आज श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुुरी दिएका छन् ।
आफूहरु १५ लाख ७० हजार रुपैयाँ ठगीमा परेको भन्दै उनीहरुले बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेललाई भेटेर उजुरी दिएका हुन् । भोजपुर घोडेटारका दिनेश राईसँग मिलेर सुनसरीको दुहबी नगरपालिका–११ का दिवाकर तब्दारले ठगी गरेको उजुरीमा उल्लेख छ ।
ठगिनेमा पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–५ का मनभरुकुमार माझी, ग्रामथान–६ का कान्छाकुमार माझी, सत्यनारायण माझी, ग्रामथान–३ का लक्ष्मीकुमार माझी, सुनसरीको दुहवी नगरपालिका–११ का रविनकुमार चौधरी, आशिष तब्दार, कमलकुमार चौधरी, मोरङको बूढीगंगा गाउँपालिका–४ मुकेश मगर, विराटनगर महानगरपालिका–१९ का जीतेनकुमार माझी रहेका छन् ।
उनीहरुबाट एक जनासँग एक लाख ७० हजार र अरुबाट प्रति व्यक्ति एक लाख ७५ हजार रुपैयाँ उठाएर ठगी गरेको कार्यालयले जनाएको छ । बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले दुई महिना भित्रमा न्यूजील्याण्ड पठाउने भन्दै सबै जनासँग २०७४ साल जेठ १८ गते दिवाकर तब्दारले दिनेश राईका नाममा पैसा पठाउन लगाएको खुलेको बताउनुभयो ।
सबै युवालाई मासिक एक हजार दुई सय ५० डलर तलव पाउने गरी क्यासिनोको सेक्युरिटी गार्डमा लगाईदिने प्रलोभन देखाएर ठगी गरको सञ्जेलको भनाइ छ । श्रम कार्यालयमा उजुरी गरेको थाहा पाएपछि तब्दार सम्पर्कविहीन बनेका छन् ।
न्यूजील्याण्ड पठाइदिए वापत प्रति व्यक्ति तीन लाख रुपैयाँ दिनु पर्ने र त्यस अघि केही रकम पेस्की स्वरुप दिने सहमति तब्दारसँग भएको पीडितहरुले बताएका छन् ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा १० ले कसैले पनि मेनपावरको इजाजत नलिइकन कसैलाई विदेश पठाउने वा सो सँग सम्बन्धित काम गर्न रोक लगाएको छ । यदि गरेमा निजलाई सोही ऐनको दफा ३ मा ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्षदेखि ७ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
ऐनका आधारमा ठगी गर्नेमाथि कारबाही हुने सञ्जेलले बताउनुभयो ।