प्रकाशित : २२ असार २०७६, आईतवार १७:००

विराटनगर, २२ असार । पूर्वाञ्चल विश्वविद्यालय विरुद्ध पाँच विद्यार्थी संगठनले आजबाट आन्दोलन सुरु गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रुपमा आन्दोलन थालेका हुन् ।

विद्यार्थीहरुले आज विश्व विद्यालयको विराटनगरस्थित केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तोडफोड र तालाबन्दी गरेका छन् । विभिन्न संगठन आवद्ध विद्यार्थीले विराटनगर–१ पुष्पलाल चोकमा रहेको विश्व विद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन् ।

तालाबन्दीका समयमा उपकुलपति घनश्याम लाल दास र रजिष्ट्रार प्रमिला थापा भने थिएनन् । विराटनगर–३ बरगाछीमा रहेको पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोगको कार्यालयमा पनि तालाबन्दी गरिएको छ । तालाबन्दी अघि विद्यार्थीहरु तोडफोडमा उत्रिएका थिए ।

दुवै ठाउँमा गरिएको तोडफोडबाट कार्यालयको कम्प्युटर, ल्यापटप, प्रिन्टर, झ्यालका सिसा, टेबुल, गमला, दराज, कुर्सी, नेम प्लेट समेतमा क्षति पुगेको छ ।

विश्व विद्यालयले गरेको विज्ञापन तथा परीक्षा सम्बन्धी सम्पूर्ण कामहरुलाई तत्काल स्थगन गर्दै छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ चैत ५ गते राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले दिएको सुझावलाई बेवास्था गर्दै असार २० गते शुक्रबार परीक्षा सम्बन्धी कार्यक्रम प्रकासित गरिएपछि विद्यार्थी आन्दोलित बनेको अनेरास्ववियुका मोरङ अध्यक्ष गोकर्ण घिमिरेले बताउनु भयो । उहाँका अनुसार निश्चित व्यक्तिलाई सेवा प्रवेश गराउने उदेश्य राखेर गरिएको विज्ञापन खारेज गरेर नयाँ प्रक्रियाबाट मात्र विज्ञापन गर्नु पर्ने माग राखे पनि बेवास्था गरिएको छ ।

अनेरास्ववियुका नेता भास्कर खनालले हाल विवादमा रहेको र प्रक्रिया विपरित गरिएको सहायक प्राध्यापक, उप–प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक गरेर ७२ जनाका लागि खुल्ला गरिएको आवेदन र छनोट प्रक्रिया खारेज नभएसम्म आन्दोलन जारी रहने र तालाबन्दी नखुल्ने बताउनु भयो ।

यस विषयमा गत शुक्रबार ध्यानआकर्षण गरिए पनि बेवास्था गरिएपछि आन्दोलन गर्नु परेको उहाँको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३