प्रकाशित : २१ असार २०७६, शनिबार १७:५५


विराटनगर, २१ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षित नेपाल निर्माणका लागि सामुदायिक विद्यालयको रुपान्तरण आवस्यक रहेको बताउनु भएको छ । सामुदायिक विद्यालयको रुपान्तरण विना शिक्षित नेपाल बनाउन नसकीने उहाँले बताउनुभयो ।
जिल्ला खानेपानी सरफाई तथा स्वच्छता समन्वय समिति र साक्षरता अभियान जिल्ला समन्वय समिति मोरंगले आज विराटनगरमा आयोजना गरेको खुल्ला दिशामुक्त र साक्षरता जिल्ला घोषणा कार्यक्रममा मन्त्री पोखरेलले सो कुरा बताउनुभएको हो । आगामी एक दशक भित्रमा सामुदायिक विद्यालयको स्तरमा व्यापक सुधार आउने उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘१० वर्षपछि सामुदायिक विद्यालय अभिभावकको छनौट भित्र पर्छ ।’
संघिय सरकारले सामुदायिक विद्यालयको सुधारका लागि १ हजार विद्यालय छनौट गरि कार्य गरिरहेको उहाँले बताउनुभयो । २०७६–२०८६ लाई सामुदायिक विद्यालयको सवलीकरण दशकका रुपमा सरकारले लिएको मन्त्री पोखरेलको भनाई छ । सामुदायिक विद्यालयमा शिक्षकहरुलाई राजनीति नगर्न उहाँले निर्देशन दिनु भएको छ ।
शिक्षामा परिवर्तन आवस्यक रहेकाले शिक्षा केन्द्रित पढाई आवस्यक रहेकोमा मन्त्री पोखरेलले जोड दिनुभयो । शिक्षामा राजनीति जस्तो परिवर्तन नभएको उहाँले बताउनुभयो । नेपाललाई एक बर्ष भित्रमा साक्षर मुलुक घोषणा गर्ने तयारी रहेको उहाँले बताउनुभयो । स्थानीय सरकारलाई शिक्षकहरुलाई नचलाउन पनि उहाँले आग्रह गर्नुभयो ।
स्थानीय सरकारले शिक्षक भर्ती गर्दा समस्या हुने मन्त्री पोखरेलको भनाई छ । नेपालको साक्षरताको प्रतिशत ८२ प्रतिशत पुगेको उहाँले बताउनुभयो । युनेस्कोको मापदण्ड अनुसार ९५ प्रतिशत पुग्नुपर्ने भएकाले साक्षर मुलुक घोषणामा ढिलाई भएको मन्त्री पोखरेलले बताउनुभयो ।