प्रकाशित : १५ असार २०७६, आईतवार ०८:१५

विराटनगर १५ असार । मोरङको सुनवर्षी नगरपालिका–९ डाईनियामा रहेको मस्जिदको निर्माणाधिन सेफ्टी ट्यांकीमा निसास्सिएर शनिबार साँझ चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

मुस्लिम बस्तीस्थित मर्कज मस्जिदको सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न एकपछि अर्को गर्दै भित्र छिरेका उनीहरुको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीका अनुसार मृत्यु हुनेमा सुनवर्षी–९ का २० वर्षीय मोहम्मद फिरोज आलम, २५ वर्षीय सहनवाद आलम, २२ वर्षीय ओसिव आलम र ४५ वर्षीय कपिल आलम रहेका छन् ।

मृत्यु हुने मध्ये सहनवाद र कपिल बाबु छोरा हुन् । स्थानीय मुस्लिम अगुवा महताव आलमका अनुसार केही वर्ष पुरानो मस्जिदको सेफ्टी ट्यांकी निर्माणको काम भइरहेको थियो । एक महिना अघि चारैतिर बन्द गरेर हावा पास हुन नसक्ने गरी मस्जिदको ट्यांकीको ढलाई गरिएको उनले बताए । त्यही ढलाईको सेट्रिङ खोल्नका लागि गएकाहरुको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । महतावका अनुसार सेट्रिङ खोल्न भनेर सबै भन्दा पहिला सहनवाद आलम सेफ्टी ट्यांकी भित्र छिरेका थिए । भित्र छिर्न साथ उनी ढलेपछि बचाउन भनेर ओसिव गएको र उनी पनि ढलेपछि फिरोज छिरेको महतावले बताए । १२ फिट गहिरो सेफ्टी ट्यांकी भित्र छिरेका तीनै जना बेहोस हुँदै ढलेपछि बचाउन भन्दै अन्तिममा कपिल छिरेका थिए ।

महतावका अनुसार चारै जना बेहोस हुँदै ढलेपछि त्यहाँ जम्मा भएका स्थानीय बासिन्दाले अरुलाई भने त्यहाँ भित्र छिर्न दिएनन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार चारै जनालाई बेहोस अवस्थामा सेफ्टी ट्यांकी भित्रबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल रंगेली पठाइएको थियो । अक्सिजनसहित पुगेको प्रहरी र रंगेलीको टाईम्स अस्पतालका चिकित्सक टोलीले उनीहरुलाई अचेत अवस्थामा सेफ्टी ट्यांकीबाट बाहिर निकालेको श्रेष्ठको भनाइ छ । उनका अनुसार अक्सिजनको प्रयोग गर्दै सेफ्टी ट्यांकी भित्र छिरेकाहरुले डोरीले बाँधेर भित्र बेहोस अवस्थामा रहेका सबैलाई बाहिर निकालेका थिए ।

‘सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न भन्दै शनिबार दिउँसो ३ः३५ बजेतिर पहिले छिरेका एक जना बेहोस भएर ढलेछन्,’ महतावले भने, ‘त्यसपछि बचाउन भनेर पालो गर्दै छिरेका सबै बेहोस भए ।’ रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि चारै जनालाई थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर ल्याइएको थियो । उनीहरुको उपचारकै क्रममा साँझ ५ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्यांकी भित्र छिरेर बेहोस भएकाहरुलाई बचाउनलाई भन्दै भित्र पस्न खोज्ने अन्य तीन जना बेहोस भएका छन् । त्यस क्रममा बेहोस भएका ४० वर्षीय दाउद मियाँ, ४८ वर्षीय हेमन्त मियाँ र ४० वर्षीय डोम्राहा मियाँको रंगेली अस्पतालमा उपचार गरियो । उपचारपछि उनीहरु घर फर्किएका छन् ।

घटनास्थलमा पुगेका स्वास्थ्यकर्मी पंकजकुमार मण्डलका अनुसार एक महिना अघि ढलाई गरिएको सेफ्टी ट्यांकी भित्र लामो समयदेखि अक्सिजनसमेत भित्र छिर्न पाएको थिएन । ‘चारैतिर हावा समेत पास हुन नसक्ने गरी ढलाईका क्रममा ट्यांकी बन्द गरिएको रहेछ,’ उनले भने, ‘लामो समयपछि एक्कासि खोलेर भित्र छिरेकाहरुको अक्सिजनको अभावले बेहोस भएको र उपचारमा ढिलाई हुँदा मृत्यु भएको हो ।’ उद्धार गरेर सेफ्टी ट्यांकीबाट बेहोस अवस्थामा बाहिर निकालिएकाहरुमा श्वासप्रश्वासको समस्या देखिएको मण्डलले बताए । ‘तत्काल उपचारका लागि अस्पताल पठाए पनि सम्भव भएन,’ उनले भने, ‘अक्सिजनको अभाव र सिमेन्टबाट निस्कने कार्वनमोनोअक्साईड लगायतका ग्यासको असरले बेहोस भएर उनीहरुको मृत्यु भएको हो ।’

मानव स्वास्थ्यका लागि हानिकारक मानिने ग्यास बन्द रहेको सेफ्टी ट्यांकी भित्र जम्मा भएर रहेको र एक्कासि खोलेर भित्र छिर्दा त्यसको असरले चारै जना बेहोस बनेको मण्डलको भनाइ छ । ‘चारैतिर बन्द गरिएका कारण अक्सिजन भित्र छिर्न पाएन,’ उनले भने,‘त्यहाँ भित्र बनेको विषालु ग्यासले एक्कासि असर गर्यो ।’ उद्धारमा केही ढिलाई भएकाले पनि उनीहरुको मृत्यु भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘तत्काल अक्सिजनसहितको टोली पुगेर उद्धार गरेर उपचारका लागि लैजान पाएको भए बचाउन सक्ने सम्भावना थियो,’ एक स्वास्थ्यकर्मीले भने, ‘लगभग डेढ घण्टा भन्दा बढी समय घटनास्थलमा अक्सिजनसहितको टोली पुग्नलाई लाग्यो ।’ त्यो बेलासम्म चारै जना बेहोस अवस्थामा सेफ्टी ट्यांकी भित्रै थिए ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ । मृतकका आफन्त र स्थानीय बासिन्दाले उपचारमा ढिलाई गरेको भन्दै रंगेली अस्पताल परिषरमा केही बेर प्रदर्शन समेत गरे ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३