Breaking News

विराटनगर २९ जेठ । मोरङको सुन्दरहरैंचा नगरपालिका र विराटनगर महानगरपालिकामा पनि संक्रमण देखिएपछि विभिन्न स्थानीय तहमा डेंगु विरुद्धको औषधि छर्कन थालिएको छ ।

सुनसरीको धरान र इटहरीपछि मोरङको सुन्दरहरैंचामा तीन र विराटनगरमा दुई जनामा डेंगुको संक्रमण देखिएको हो । उनीहरुले विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यसको संक्रमण एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट हुन्छ । विराटनगर महानगरपालिकासहित मोरङको सुन्दरहरैंचा, उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी लगायतका स्थानीय तहको सक्रियतामा सरसफाई अभियान चलाएर लामखुट्टे मार्ने औषधि छर्कन थालिएको हो । विशेष गरेर सफा पानीमा बसेर दिउँसो मात्रै लामखुट्टेले टोक्दा डेंगुको संक्रमण हुने भएपछि सरसफाईमा ध्यान दिएर औषधि हान्न थालिएको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बताए । उनले रोगको संक्रमण फैलन नदिन सरसफाईमा ध्यान दिन र सचेत रहन नगरवासीलाई आग्रह गरिएको बताए ।

विराटनगर महानगरपालिकामा बुधबारदेखि लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कन थालिएको छ । ४० प्रतिशत मालाथिन र ६० प्रतिशत डिजेल मिसाएर मालाथिन फगीङ स्प्रे गर्न थालिएको महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत एपोलोकुमार भगतले बताए । उनका अनुसार लामखुट्टेको लार्भा नष्ट गर्नका लागि सफा पानी जम्न नदिने र जमेको पानीमा डढेको मोविल वा डिजेल हालिदिने ‘सर्चिङ एण्ड डिस्ट्रोए’ अभियान पनि सुरु गरिएको छ ।

महानगरले विराटनगरको १, २, ३, र १० नम्बर वडामा बुधबार औषधि छर्किएको हो । बिहीबार १, ३, ४ र १०, शुक्रबार ४, ५, ६ र ७ तथा शनिबार ५, ६, ८ र ९ नम्बर वडामा औषधि हान्ने कार्यक्रम छ । त्यसै गरी असार १ गते ८, ९, ११ र १२ मा, २ गते ११, १२, १३ र १४ मा, ३ गते १४, १५, १६ र १७ मा तथा ४ गते १८, १९ नम्बर वडामा मालाथिन फगीन स्प्रे गर्ने कार्यक्रम तय भएको जानकारी भगतले दिए ।
‘डेंगु सक्रमित लामखुट्टेले दिउँसो मात्रै टोक्ने भएकाले बाध्य भएर बिहान ७ बजेदेखि ११ बजेसम्म औषधि छर्कने कार्यक्रम राखिएको छ,’ उनले भने, ‘यसका लागि नगरबासीलाई खाने कुरा छोपेर राख्न पनि आग्रह गरिसकिएको छ ।’

गाउँ–गाउँमा सर्वसाधारणलाई जागरुक गराउनका लागि स्वास्थ्यकर्मीको विशेष टोली परिचालन गरिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उनका अनुसार मोटरसाइकल ग्यारेज, होटल, पसल, सार्वजनिक ठाउँ, बजार र पसल लगायतमा टोलीले सचेतना फैल्याउने छ । नगरका स्वास्थ्य संयोजक सन्तोश विश्वकर्माका अनुसार सफा पानी जमेको स्थानमा संक्रमण फैल्याउने लामखुट्टेले फुल पार्ने भएकाले फ्रिज, पूजाका सामग्री, पुराना टायर, गमला र पानीका ट्यांकीको सफाईमा ध्यान दिइनु पर्छ । यी वस्तुहरुमा सफा पानी राख्ने विषयमा पनि ख्याल राख्नु पर्ने उनले बताए ।

उर्लाबारी नगरपालिकाले पनि नगरक्षेत्र भित्रमा औषधि छर्कदैं नगरवासीलाई सचेत गराउने कामलाई तीव्र पारिएको मेयर खड्ग फागोले बताए । ‘बजार क्षेत्र भित्र सरसफाई गर्दै जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ,’ उनले भने, ‘नगरका सबै ठाउँमा उच्च सतर्कता अपनाउन थालिएको छ ।’

डेंगु नियन्त्रणकै लागि भनेर प्रदेश १ सरकारले ८० लाख रुपैयाँ बजेट समेत छुट्याएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३