Breaking News

बिरामी हेर्न आएकालाई नै अस्पतालले बनायो बन्धक

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १५:१५

विराटनगर २२ जेठ । भारतको बिहारस्थित मिल्कीडुमरियाका ३५ वर्षीय सत्यनारायण दास आइतबार दिउँसो विराटनगरको गोल्डेन अस्पताल पुगे ।
दुर्घटनामा घाइते भएर उपचाररत ४५ वर्षीय दुखन दासलाई हेर्न भनेर उनी अस्पताल पुगेका थिए । तर छिमेकी बिरामी हेर्न अस्पताल गएका सत्यनारायण बाहिर निस्कन पाएका छैनन् । त्यस क्रममा घाइतेका आफन्तले पठाएको ५८ हजार भारतीय रुपैयाँ पनि अस्पतालमा जम्मा गरिदिने तयारी गरेर सत्यनारायण विराटनगर आएका थिए । यही जेठ ५ गते दुर्घटनामा परेर घाइते भएका दुखनको गोल्डेन अस्पतालमा टाउकोको शल्यक्रिया गरिएको थियो ।

आईसीयूमा उपचाररत उनको औषधि र उपचार बापतको खर्च समयमा नबुझाएको आरोप लगाउँदै अस्पतालले सत्यनारायणलाई बन्धक बनाएर राखिदिएको जनाइएको छ । घाइते दुखनका सालो पप्पुकुमार दासका अनुसार अस्पतालमा बिरामी हेरेर फर्किने बताएपछि परिवारका सदस्यले सत्यनारायणलाई पैसा पनि दिएर पठाएका थिए ।

‘उपचार सुरु हुनु भन्दा पहिले नै हामीले १ लाख ५६ हजार भारतीय रुपैयाँ जम्मा गरेका थियौं,’ उनले भने, ‘त्यो रकम सकिएको भन्दै अहिले अस्पतालले थप १ लाख ६० हजार रुपैयाँ माग गरिरहेको छ ।’
पप्पुकुमारका अनुसार आर्थिक अवस्था कमजोर भएको परिवारले खोजखाज गरेर ५८ हजार रुपैयाँ पठाएको र बाँकी पैसा केही दिन भित्रमै तिर्ने तयारी गरेको थियो । तर बिरामी हेर्न आएका व्यक्तिको साथमा रहेको पैसा अस्पतालले कर्मचारी र गार्ड परिचालन गरेर जवरजस्ती खोस्दै तिनै व्यक्तिलाई बन्धक बनाएर राखेको उनले बताए ।

‘छिमेकी र आफन्त भनेर बिरामी हेर्न आउने सबैको गोजी खानतलासी गर्ने र अनआवश्यक ‘टर्चर’ दिने काम गरिन्छ,’ उनले भने, ‘कोही कसैको साथमा भएका पैसा जवरजस्ती अस्पतालको नाममा जम्मा गर्न लगाइन्छ ।’

पप्पुकुमारका अनुसार बीआर ५० जे ४७३० नम्बरको मोटरसाइकल समेत खोसेर साथमा भएको पैसा जम्मा गर्न लगाउँदै आइतबार दिउँसोबाट अस्पतालले सत्यनारायणलाई बन्धक बनाएर राखेको हो । ‘हामी उपचारमा लागेको सबै पैसा तिर्छौ । पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण गाउँघरमा ऋण खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘तर बिरामी हेर्न आएका व्यक्तिलाई नै अस्पतालले बन्धक बनाएर राख्दा तनाव भइरहेको छ ।

कहीं कतै पनि जान नदिइकन गार्ड र कर्मचारीको निगरानीमा एउटा कोठामा राखिएको छ ।’ पप्पुकुमारका अनुसार उपचार र औषधिमा लागेको सबै पैसा नतिरेसम्म बन्धक बनाइएकालाई नछाड्ने अडान अस्पतालले लिएको छ । उनले बिरामी र बन्धक बनाएर राखिएका बिरामीका छिमेकी कसैलाई पनि भेट गर्न तथा हेर्न नदिइएको बताए ।

अस्पतालले भने दुखनको उपचारमा लागेको मध्ये २ लाख ६० हजार भारतीय रुपैयाँ तिर्न बाँकी रहेको जनाएको छ । ‘१ लाख रुपैयाँ छुट गरेर १ लाख ६० हजार दिँदा हुन्छ भनिरहेका छौं,’ अस्पतालका प्रशासकीय अधिकृत सन्तोश मेहताले भने, ‘तर पनि उपचारमा लागेको पैसा बुझाउन परिवारका सदस्यले आलटाल गरिरहेका छन् ।’

बिरामीले अन्यत्रकै अस्पतालमा उपचारका लागि लैजाने भनेर परिवारले भनेका कारण गोल्डेनमा उपचार गराउँदाको पैसा चैं मागेको मेहताको भनाइ छ ।

उनले उपचारमा लागेको खर्च नतिरेको विषयमा प्रहरीमा निवेदन पनि दिइसकिएको बताए । ‘मर्ने अवस्थाको बिरामीको स्वास्थ्य सुधारोन्मुख छ । उपचारको पैसा नतिरिकन बिरामी त्यत्तिकै छाडेर परिवारका सदस्य ६ दिनदेखि अस्पतालबाट सम्पर्कविहीन भए,’ उनले भने, ‘कुरुवा नभएका कारण गाउँबाट आएको छिमेकी भएका नाताले बिरामी कुर्नका लागि सत्यनारायणलाई राखिएको हो ।

बन्धक बनाएर राखिएको हैन ।’ बिरामीलाई आवश्यक सहयोग गर्न राखिएको बताउँदै मेहताले बिरामीको भिजिटर कोही आएमा उनलाई अस्पतालले विदा दिने मेहताले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३