Breaking News

‘बुक कर्नर’को रकम विद्यालयद्धारा मनमौजी खर्च

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलवार १८:५७

विराटनगर, १४ जेठ । मोरङ, सुनसरी र झापाका अधिकांश सामुदायिक विद्यालयले बुक कर्नर (पुस्तक कुना)का लागि आएका रकम मनमौजी रुपमा खर्च गरेका छन् ।

एउटा शिर्षकको रकम अन्य शिर्षकमा खर्च गर्ने गरेको पाईएको छ ।
विद्यालय क्षेत्र सुधार योजना २०७२ अनुशार हरेक विद्यालयमा पुस्तक कुना निर्माणका लागि विद्यार्थी संख्याका आधारमा एक सय रुपैयाँका दरले रकम मन्त्रालयले पठाउने गरेपनि कतिपय विद्यालयका प्रधानाध्यापकले थाहानै नपाई अन्य शिर्षकमा खर्च गर्ने गरेका छन् भने केहीले थाहा पाए पनि प्राथमिकता अन्यलाई नै दिने गरेका छन् । मसलन्द, स्टेशसनरी, विद्यालय मर्मत लगायतका शिर्षकमा खर्च गर्ने गरेको प्रधानाध्यापकहरुले बताएका छन् ।

‘नन सेलरी’ भनेर आउने हुँदा पुस्तक कुनाका लागि पठाएको भनेर बुझ्न नसकिएको समेत उनीहरुको भनाई छ । केही विद्यालयले पुस्तक कुना बनाएपनि मापदण्ड अनुसारको भने छैन ।

मोरङको सुन्दरहरैचा स्थित पञ्चायत मावि गोठगाउँका प्रधानाध्यापक गुरु अधिकारी भन्छन्,‘ विद्यालयमा सन्तुलित रकम आउँछ, एउटा सोच्यो अर्कोमा खर्च गर्नुपर्ने हुन्छ ।’ कहिले शौचालय भरिन्छ, कहिले विद्यालयको मर्मत तत्काल गर्नुपर्ने हुन्छ एकातिरको रकम अर्कोतिर खर्च गर्नुपर्ने हुन्छ उनले भने । पुस्तक कुनाका लागि रकम नआएको होइन आयो तर विद्यालयको प्राथमिकतामा त्यो पर्न सकेन प्रधानाध्यापक अधिकारीले बताए । उनले भने,‘ अव दाताहरु नै लाग्नु भएको छ, निर्माण गर्छौं ।’

विद्यालयलाई पुस्तक कुना लगायत अन्य कामका लागि रकम आउने हुँदा प्राथमिकतामा पर्न नसकेको ग्रामथानको वेगनलाल आधारभुत विद्यालयका प्रधानाध्यापक कृष्णहरि घिमिरेले बताए । पुस्तक कुनाका लागि भनेर छुट्टै नआएको उनको दावी छ । विद्यालयमा मसलन्द लगायतका अन्य शिर्षकमा कम रकम आउनेहुँदा पुस्तक कुना लगायतको शिर्षकमा आएको रकम त्यता खर्च गर्नुपरेको प्रअ घिमिरेको भनाई छ । उनले भने,‘विद्यार्थीको टाउको गनेर रकम आउँछ विद्यालयको आवस्यकता पुस्तक कुना भन्दा अर्कैमा हुन्छ ।’ पुस्तक कुना चाहेर पनि बनाउन नसकेको उनले स्वीकारे ।

विराटनगरको सरस्वती माविका प्रधानाध्यापक योगेन्द्रबहादुर कार्कीले बुक कर्नर भनेर छुट्टै शिर्षक नआउने गरेको बताए । छुट्टै शिर्षक नआउने हुँदा मसलन्दमा खर्च भएको बताए । बुक कर्नर तिर ध्यान जान नसकेको उनको भनाई छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको जगननाथ डेढराज जनतामाविका प्रधानाध्यापक हीरामणि पौडेले बुक कर्नर भनेर विद्यालयमा रकम नआएको बताए । ‘नन सेलरी भनेर आउँथ्यो वुक कर्नरका लागि भनेर थाहा भएन’ उनले भने । मसलन्दका लागि ३० हजार आउँछ, विद्यालयमा ३ लाख खर्च हुन्छ प्रअ पौडेलको भनाई छ । बुक कर्नर रकम मसलन्द, खेलकुदका सामाग्रीमा खर्च भएको उनले बताए ।
कालिका आधारभुत विद्यालयकी प्रधानाध्यापक रत्ना थापाले बुक कर्नरलाई पनि पैशा आउछ भनेर थाहा नपाएको बताईन । सोधीखोजी पनि गरिएन । नन सेलरी बापत आउने रकम स्टेशसनरीमा खर्च गरियो थापाले बताईन । इटहरी उपमहानगरपालिकामा रहेको सरस्वती जब्दी माविले भने सामान्य खालको बुक कर्नरको व्यवस्था गरेको जनाएको छ ।

प्रधानाध्यापक दधिराम निरौलाले वल्र्ड भिजन नामक अन्र्तराष्ट्रिय संस्थाको सहयोगमा विद्यालयले पनि खर्च गरेर बुक कर्नर निर्माण गरेको बताए । उनले भने,‘ बुक कर्नरको मापदण्ड अनुसारको नभएपनि निर्माण चाहि गरेका छौं ।’ बुक कर्नरको रकम अन्य शिर्षकमा खर्च नगरेको उनले दावी गरे ।

सरस्वती मावि पानवारीले सामान्य खाले बुक कर्नर निर्माण गरेको छ । गत भदौमा निर्माण गरिएको प्रधानाध्यापक गंगा धमलाले बताए । कक्षा १ र २ मा बुक कर्नरको शुरुवात गरिएको प्रअ धमलाको भनाई छ । विद्यालयलाई बुक कर्नर नै भनेर रकम नआएपनि हामीले प्राप्त रकमबाट केही भाग छुट्याएर बुक कर्नर शुरु गरिएको उनले बताए । उनले भने,‘ अहिले विश्व बैंकको सहयोगमा विद्यालयमा बुक कर्नर निर्माणका लागि काम शुरु भएको छ , अव व्यवस्थित हुन्छ ।’

झापाका सामुदायिक विद्यालयमा केहीले सामान्य खाले बुक कर्नर बनाएपनि अधिकांशले रकम अन्य शिर्षककै खर्च गरेको पाईएको छ । गौरादहको अमरनाथ आधारभुत विद्यालयका प्रधानाध्यापक चिन्तामणि काफ्लेले रकम पठाए पनि कडाई नगर्दा अन्य शिर्षकमा खर्च भएको बताए ।

उनले भने,‘ जसरी छात्रवृत्ति लगायतको शिर्षकको रकम अन्यमा खर्च गरिदैन यो पनि त्यस्तै भएमात्र प्रभावकारी हुन्छ ।’ नन सेलरीका रुपमा विद्यालयमा आउने रकम इन्टरनेट, धारा, विजुलीको विल तिर्दैमा सकिने गरेको प्रअ काफ्ले बताए । सामान्य खर्च चल्नेगरि विद्यालयलाई रकम नआउने हुँदा वुक कर्नर निर्माण गर्ने तर्फ ध्यान दिन नसकीएको उनले बताए ।

कमल गाउँपालिका ५ मा रहेको मंगलमय माविमा भने सामान्य खाले बुक कर्नर निर्माण गरिएको प्रधानाध्यापक मोहन बगालेले बताए । विद्यालयमा ३ बर्षअघि नै बुक कर्नर निर्माण गरेका छौं, हरेक बर्षको बैशाखमा नयाँ पुस्तक थप गर्ने गरेको उनको भनाई छ । नन सेलरीका रुपमा आउने रकमको केही भाग बुक कर्नरमा खर्च गर्ने गरिएको बगालेले बताए ।

कोहवराको जनता माविले पनि अहिले सम्म बुक कर्नरबारे सोचेको छैन । विद्यालयमा नन सेलरी वापत प्राप्त हुने रकम अन्य शिर्षकमा नै खर्च गर्ने गरिएको शिक्षक धन कोइरालाले बताए । मसलन्द, स्टेशसनरी लगायतमा एकदमै कम रकम आउने हुँदा नन सेलरीको रकम त्यता तिर खर्च गर्ने गरेको उनले बताए । विद्यालयमा एउटा पुस्तकालय भएपनि हरेक कक्षाकोठामा बुक कर्नरबारे सोचिएको छैन । उनले भने,‘ विद्यालयको आयश्रोत पर्याप्त नहुँदा एउटा शिर्षकको रकम अर्कोमा खर्च गर्नु परेको छ ।’

सरकारी योजना अनुशार विद्यालयमा पुस्तक कुना निर्माण नभएपछि मोरङ र सुनसरीमा भने विश्व बैकले सहयोग गर्ने भएको छ । अवको दुई बर्ष भित्रमा मोरङ र सुनसरीका ८ सय ७३ सामुदायिक विद्यालयमा ‘पुस्तक कुना’ बनाईने भएको छ । विश्व बैंकको सहयोगमा मोरङमा ५ सय ३७ र सुनसरीमा ३ सय ३६ सामुदायिक विद्यालयमा पुस्तक कुना निर्माणका लागि काम शुरु भएको छ । कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई लक्षित गरि कार्यक्रम शुरु गरिएको हो । बालबालिकाहरुको पुरक पाठ्यसामग्रीमा पर्याप्त पहँुच पुर्याउने लक्ष्य सहित पुस्तक कुना निर्माण शुरु गरिएको हो ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अनुसार शिक्षाको वर्तमान गुणस्तर वृद्विका हिसाबले सबै विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सघाउने प्राथमिकता प्राप्त न्यूनतम आवश्यकताहरु सुनिश्चित गर्नु नेपाल सरकारको प्राथमिकता रहेको र सो अन्तर्गत पाँच कुरा हुनुपर्ने उल्लेख छ । जस अनुसार उपयुक्त÷पर्याप्त कक्षा कोठा, शिक्षक–विद्यार्थीको उपयुक्त अनुपात, समयभित्रै निःशुल्क पाठ्यपुस्तकको उपलब्धता, बालिकाहरूकालागि विद्यालयमा छात्रा शौचालयको सुविधा र कक्षा कोठामा पुस्तक कुना भएको हुनुपर्ने छ । पुस्तक कुनालाई विद्यालयका कक्षाकोठामा कम्तीमा ५० प्रकारका पुरक पाठ्यसामग्रीहरु राखिएको एक स्थान भनि सो कार्यक्रमले परिभाषित गरेको छ ।

शिक्षा विभागको तथ्यांक अनुसार अहिले सम्म १८ प्रतिशत सामुदायिक विद्यालयमा मात्रै पुस्तक कुना रहेको पाईएको छ । मोरङ र सुनसरीमामा करिव १५ प्रतिशत सामुदायिक विद्यालयमा पुस्तक कुना भएको पाईएको छ । तर, त्यो पनि सामान्य खाले मात्र छ ।

मोरङ र सुनसरीमा विश्व बैंकले सघाउँदै
सामुदायिक विद्यालयमा पुस्तक कुना निर्माणका लागि सरकारले पठाएको रकम दुरुपयोग भएपछि अहिले विश्व बैंक सँगको सहयोगमा मोरङमा राष्ट्रिय सामुदायिक विकास केन्द्र र सुनसरीमा सेभ द अर्थले कार्यन्वयनका लागि काम शुरु गरेका छन् ।

विद्यालयमा पुस्तक कुना निर्माणका लागि आएको वजेट अन्य शिर्षकमा खर्च भएपछि सो कार्यक्रम कार्यन्वयन नभएको पाईएको राष्ट्रिय सामुदायिक विकास केन्द्रकी कार्यक्रम संयोजक शोभा बजगाईले बताईन । उनका अनुसार आधारभुत सर्वेक्षणका क्रममा विद्यालयले पुस्तक कुनाका लागि आएको रकम शिक्षकको तलव लगायतका अन्य शिर्षकमा खर्च गर्ने गरेको पाइयो ।

मोरंगका ५ सय ३७ विद्यालयका १ हजार ६ सय बढी कक्षाहरुमा ५० प्रकारका पुस्तकहरु राखिने कार्यक्रम संयोजक बजगाईले बताईन । पुस्तक कुनाको निर्माणको कार्य स्थानीय तहले गर्ने प्रतिबद्धता जनाएको उनले बताईन । २ बर्ष भित्रमा मोरङका सवै सामुदायिक विद्यालयमा पुस्तक कुना निर्माण भईसक्ने उनको भनाई छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३