Breaking News

निजी क्षेत्रको संरक्षण गर्न नसके लगानी निरुत्साहित : प्रचण्ड

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार १८:४४

विराटनगर, १३ जेठ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीजि क्षेत्रको पीडालाई सम्बोधन गर्न नसकिए विदेशीसँगै स्वदेशी लागानी समेत निरुत्साहित हुने बताउनु भएको छ ।

मोरङ व्यापार संघको ६४ औं वार्षीक साधारणसभालाई विराटनगरमा आज सम्बोधन गर्दै उहाँले नीजि र सार्वजनिक क्षेत्रको सहकार्यको स्तरलाई उकास्दै सरकार अघि बढ्नुपर्नेमा जोड दिनु भयो । नीजि क्षेत्रको नाफाको सुरक्षा नहुन्जेल विकासले कुनै किसिमको गति लिन नसक्ने उहाँको भनाइ छ ।

विकासको धेरै सम्भावना भएको र तीव्र गतिमा विकास हुने मुलुकको रुपमा नेपाल नै रहेको भन्दै प्रचण्डले कृषिको आधुनिकीकरणसँगै यसमा आधारित उद्योग बढाउन सके रोजगारीको सम्भावना प्रचुर रहेको बताउनु भयो । त्यसैगरि, पर्यटन, जलविद्युतको खरिद बिक्री, जडिबुटी जस्ता कुराको औद्योगिकरण गर्न सके विकास र समृद्धिलाई टेवा पुग्ने उहाको भनाइ छ ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले मुलुकको बढ्दो व्यापार घाटा बढाउन व्यापारीहरुको भूमिका अहम रहेको आरोप लगाउनु भयो । उत्पादनशील क्षेत्रमा लगानी बढ्नुको सट्टामा व्यापारीहरुले महँगो महँगो विलासिताको सरसमान आयात गर्दा व्यापार घाटालाई बल पुगेको र त्यसलाई समयानुकूल निरुत्साहित गरिने उहाँको भनाइ छ ।

राजतन्त्र नभएको अवस्थामा ठूलाबडालाई देख्नासाथ डर लाग्ने अवस्था अब नरहेको बताउँदै उहाँले उद्योगीलाई थोरै मात्रामा मुनाफा कमाउनतिर लाग्न आग्रह गर्नु भयो । समस्या र कुरा स्पस्ट रुपमा अगाडि राख्न नसक्ने अनि पछाडि चाँही कुरा गर्दै हिड्ने प्रवृत्ति त्याग्न उहाँले उद्योगीलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा, विराटनगर महानगरपालिका मेयर भीम पराजुली लगायतले आफ्नो धारणा राख्नु भयो ।

प्रदेश १ का आन्तिरिक मामिला तथा कानुन मन्त्री कार्कीले उद्योग र व्यापारको समस्या भयानक रहेकाले तत्काल समाधान गर्न संघीय सरकारको ध्यानआकर्षण गराउनु भयो । व्यापार संघका अध्यक्ष सारडाले बैंकको चर्को व्याजदर र उद्योगमा लगानी मैत्री वातावरण नहुँदा उद्योगी व्यवसायी मारमा परिरहेको बताउनु भयो ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष घिमिरेले उद्योगी व्यवसायीले भोगिरहेको समस्या राख्दै मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न सरकारले उचित कदम चाले सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पार्नु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३